काठमाडौं । साहित्यिक पत्रकार संघले आफ्नो ५५औँ वार्षिकोत्सवका अवसरमा पाँचजना स्रष्टालाई ‘सापस विशिष्ट सर्जक सम्मान’द्वारा अभिनन्दन गरेको छ । सम्मानित हुनेमा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास तथा कलाकारद्वय चैत्यदेवी सिंह र सन्तोष पन्त रहनुभएको छ । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा अनामनगरस्थित डालो रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्यले सम्मानित स्रष्टाहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला, ढाका टोपी र फूलमाला लगाई अभिनन्दनपत्र प्रदान गरिएको थियो । सोही अवसरमा ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८२’ कवि दीपा राई पुनलाई प्रदान गरिएको थियो ।
समालोचक प्रमोद प्रधानले सम्मानित स्रष्टाहरूको साहित्यिक तथा कलायात्राबारे संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कलाकार मदनदास श्रेष्ठ तथा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अभिनन्दित स्रष्टाहरूले सम्मानका लागि आभार व्यक्त गरेका थिए । कवि ज्ञान उदासले आफ्ना दुई मुक्तक वाचन गर्नुभएको थियो भने गायिका सरिता सायमीले तारादेवीको स्वरमा रहेको ‘आँखाहरूले रून नखोजे, ओठहरूले हाँस्न नखोजे’ गीत प्रस्तुत गर्नुभएको थियो ।
संघकी कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेको कार्यक्रम साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’ले सञ्चालन गर्नुभएको थियो । वि.सं. २०२९ मा स्थापित संघले विभिन्न साहित्यिक तथा सिर्जनात्मक गतिविधिसँगै स्रष्टा सम्मान, कथा दिवस तथा कृति प्रकाशनलगायतका कार्य गर्दै आएको अध्यक्ष लेकालीले जानकारी दिनुभयो ।







पर्यटन नीति एकातिर, बजेटको बाटो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,
इलाममा अदुवाको आकर्षक मूल्य, खेती
कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार
नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड