काठमाडौँ । मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा देशभर १३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन्। ती घटनामा ४३ जना घाइते भएका छन् भने पाँच वटा चौपायाको क्षति भएको छ।
विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। घटनाबाट करिब ६ लाख ४७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर २ सय ६१ जना प्रहरी परिचालन गरिएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
पहिरोबाट मात्रै १० जनाको मृत्यु
प्राधिकरणको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भएका विपद्का घटनामध्ये पहिरोबाट मात्रै १० जनाको मृत्यु भएको छ। पहिरो तथा बाढीजन्य घटनाका कारण विभिन्न स्थानमा सडकसमेत अवरुद्ध भएका छन्।
प्राधिकरणले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरी आवश्यक समन्वय भइरहेको जनाएको छ।
स्याङ्जाको पञ्चमुलमा १५२.९ मिलिमिटर वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ८ः४५ बजेसम्म देशभरका ४ सय १४ वर्षा मापन केन्द्रमध्ये ३ सय ४५ केन्द्रमा वर्षा मापन भएको छ।
तीमध्ये सबैभन्दा बढी वर्षा स्याङ्जाको पञ्चमुलमा १५२.९ मिलिमिटर रेकर्ड भएको छ।
पछिल्लो २४ घण्टामा अधिकतम तापक्रम चितवनको रामपुरमा ३८ डिग्री सेल्सियस मापन भएको छ भने सबैभन्दा कम अधिकतम तापक्रम मुस्ताङको लेतेमा २०.६ डिग्री सेल्सियस रहेको छ।
त्यस्तै, न्यूनतम तापक्रम विराटनगरमा २८ डिग्री सेल्सियस र मुस्ताङको थाकमाफाप/मार्फामा ८.८ डिग्री सेल्सियस मापन भएको विभागले जनाएको छ।
वैशाखयता ४ हजार ६ सय ५९ विपद्का घटना
चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २९ गतेसम्म देशभर ४ हजार ६ सय ५९ वटा विपद्का घटना भएका छन्।
यी घटनामा परी हालसम्म २२९ जनाको मृत्यु, नौ जना बेपत्ता र १ हजार ४ सय ६३ जना घाइते भएका छन्। विपद्का कारण ५ हजार ७ सय ९ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।
यस अवधिमा सबैभन्दा बढी मानवीय क्षति सर्पदंश र पहिरोका कारण भएको प्राधिकरणले जनाएको छ।







ज्ञान बैंक : युगान्तकारी अभियान
मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११