काठमाडौँ । पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुलाई केन्द्रविन्दु बनाएर गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। भूकम्पपछि हजारौँ मानिस सुरक्षित स्थानतर्फ भागेका छन् भने उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार जारी राखेका छन्।
उद्धार अधिकारी फथुर रहमानका अनुसार पर्यटकमाझ लोकप्रिय फ्लोरेस टापुका चारवटा सहरमा गरी हालसम्म २० जनाको मृत्यु पुष्टि भएको छ। ६ जना घाइते भएका छन् भने केही व्यक्ति अझै भग्नावशेषमा पुरिएको बताइएको छ।
भूकम्पबाट सबैभन्दा प्रभावित नागेकेओ जिल्लातर्फ उद्धार टोली परिचालन गरिएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
भूकम्पपछि नागेकेओका बासिन्दाले समुद्रको पानी पछाडि हट्न थालेपछि सम्भावित सुनामीको जोखिमलाई ध्यानमा राख्दै उच्च भूभागतर्फ आश्रय लिएका थिए। इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी) ले जारी गरेको सुनामी चेतावनी भने पछि हटाइएको छ। यद्यपि समुद्री सतहको निगरानी जारी राखिएको अधिकारीहरूले बताएका छन्।
भूकम्पपछि दर्जनौँ पराकम्पन महसुस भएका छन्। तीमध्ये सबैभन्दा शक्तिशाली पराकम्पन ६.१ म्याग्निच्युडको रहेको जनाइएको छ। क्षतिग्रस्त भवनमा पुनः नजान स्थानीयवासीलाई सचेत गराइएको छ।
भूकम्पको केन्द्रविन्दु तटीय सहर एन्डेबाट करिब ६८ किलोमिटर उत्तर–पश्चिममा उत्तरी तट नजिक रहेको अमेरिकी तथा इन्डोनेसियाली अधिकारीहरूले बताएका छन्। मौमरे बन्दरगाहमा आंशिक रूपमा भत्किएको भवनको भग्नावशेषबाट उद्धारकर्मीहरूले एक जनाको शव निकालेका छन्। केही व्यक्तिलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको पनि अधिकारीहरूले बताएका छन्।
मौमरेका स्थानीय बासिन्दाका अनुसार भूकम्पका कारण अस्पतालमा उपचाररत बिरामीसमेत बाहिर भागेका थिए। धेरै घरका पर्खाल चर्किएका छन् भने विभिन्न संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण छ। प्रभावित क्षेत्रमा अधिकांश होचा घर र साना बस्ती रहेकाले ठूलो भवन क्षतिको विवरण भने अझै संकलन भइरहेको छ।
भूकम्पपछि मानिसहरू पैदल, मोटरसाइकल, कार तथा पिकअप ट्रकमार्फत सुरक्षित स्थानतर्फ गएको दृश्य देखिएको थियो।
इन्डोनेसिया प्रशान्त महासागरीय ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार शक्तिशाली भूकम्प जाने गर्छ। फ्लोरेस टापुमै सन् १९९२ मा ७.७ म्याग्निच्युडको भूकम्प जाँदा त्यसबाट उत्पन्न सुनामीका कारण करिब २ हजार ५ सय जनाको मृत्यु भएको थियो।
त्यस्तै, सन् २००४ मा सुमात्राको तटमा गएको ९.१ म्याग्निच्युडको भूकम्पबाट आएको विनाशकारी सुनामीमा इन्डोनेसियासहित विभिन्न देशमा गरी करिब २ लाख २० हजार जनाको मृत्यु भएको थियो।
सन् २०१८ मा लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा ५५० भन्दा बढी तथा सोही वर्ष सुलावेसीको पालुमा गएको ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीमा ४ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए।
एजेन्सी







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :