काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको विधान संशोधनका लागि ४३ बुँदे अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ।
पूर्वसभापति शेरबहादुर देउवा समूहको जारी भेलामा प्रस्तुत अवधारणा पत्रमा पार्टीको सांगठनिक संरचना, विशेष महाधिवेशन, पदाधिकारीको व्यवस्था तथा निर्वाचित नेतृत्वमाथि अविश्वास प्रस्तावलगायत विषयमा संशोधनको प्रस्ताव गरिएको छ।
अवधारणा पत्रमा पार्टीका सबै तहका निर्वाचित सभापति तथा पदाधिकारीविरुद्ध आउने अविश्वास प्रस्तावसम्बन्धी व्यवस्थालाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, विशेष केन्द्रीय महाधिवेशनसम्बन्धी प्रक्रिया स्पष्ट बनाउन हस्ताक्षर रुजु तथा प्रमाणित गर्ने र महाधिवेशन आयोजना गर्ने विषयमा आवश्यक कार्यविधिसहितको स्पष्ट व्यवस्था गर्न प्रस्ताव गरिएको छ।
विशेष महाधिवेशनमा कडाइको प्रस्ताव
लेखकले विशेष महाधिवेशन बोलाउने विषयमा समेत नयाँ व्यवस्था प्रस्ताव गर्नुभएको छ।
प्रस्तावअनुसार केन्द्रीय महाधिवेशनको नियमित समयावधि सकिन ६ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा विशेष महाधिवेशन आयोजना गर्न नहुने व्यवस्था गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, राष्ट्रिय निर्वाचन हुन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेको अवस्थामा तथा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा पनि विशेष महाधिवेशन गर्न नहुने प्रस्ताव गरिएको छ।
यस व्यवस्थाले पार्टीको नियमित महाधिवेशन नजिकिँदै गर्दा विशेष महाधिवेशनका नाममा उत्पन्न हुन सक्ने सांगठनिक विवाद र अन्योललाई रोक्ने उद्देश्य राखेको देखिन्छ।
पदाधिकारी बढाउन सकिने प्रस्ताव
अवधारणा पत्रमा पार्टीका विभिन्न तहका कार्यसमितिमा आवश्यकताअनुसार पदाधिकारीको संख्या वृद्धि गर्न सकिने व्यवस्था गर्न पनि प्रस्ताव गरिएको छ।
त्यसरी पदाधिकारीको संख्या वृद्धि गर्दा महिला, युवा तथा सम्बन्धित स्थानको जनसंख्याका आधारमा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ।
लेखकले अघि सारेको ४३ बुँदे अवधारणा पत्रमा पार्टीको आन्तरिक लोकतन्त्र, सांगठनिक संरचना र नेतृत्व चयनसँग सम्बन्धित विभिन्न व्यवस्थालाई समयसापेक्ष सुधार गर्नुपर्ने विषय समेटिएको छ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा