काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटीले जापानको आइची-नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलको निर्णायकको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने एसियाली खेलकुदमा एसियाका ४५ राष्ट्र तथा क्षेत्रका खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त शिवाकोटीको एसियाली खेलकुदमा निर्णायकका रूपमा छनोटलाई नेपाली तेक्वान्दोको प्राविधिक दक्षताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा हेरिएको छ । उहाँ नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । संघमा दुई कार्यकाल टेक्निकल डेलिगेट (टीडी) का रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको छ । उहाँले प्रतियोगिताको व्यवस्थापन तथा प्राविधिक स्तर उन्नयनमा समेत योगदान पुर्याउँदै आउनुभएको छ । शिवाकोटीले सन् २०२३ जनवरी १२ देखि १५ सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गर्नुभएको थियो । त्यसपछि सन् २०२४ सेप्टेम्बर १७ देखि २५ सम्म आयोजित अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्ससमेत उत्तीर्ण गर्दै उहाँले तेक्वान्दोका दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकका रूपमा आफ्नो स्थान स्थापित गर्नुभएको हो ।
उहाँले अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, भारत र मंगोलियालगायत देशमा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय तथा एसियाली तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ । पछिल्लो समय उहाँको अन्तर्राष्ट्रिय निर्णायक यात्रामा महत्त्वपूर्ण प्रतियोगिताहरू थपिँदै गएका छन् ।
सन् २०२६ मा अस्ट्रेलियाको गोल्डकोस्टमा आयोजित डब्लुटी प्रेसिडेन्ट्स कप (जी-३) ओपन तेक्वान्दो प्रतियोगितामा समेत शिवाकोटीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै, सन् २०२६ मेमा मंगोलियाको उलानबाटरमा आयोजित २७औँ एसियन तेक्वान्दो च्याम्पियनसिप, नवौँ एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिप, ११औँ एसियन पारा तेक्वान्दो च्याम्पियनसिप तथा आइची-नागोया एसियाली खेलकुदको छनोट प्रतियोगितामा पनि उहाँले निर्णायकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
शिवाकोटीले सन् २०२५ डिसेम्बरमा दक्षिण कोरियाको सियोलस्थित कोरिया नेसनल स्पोर्ट्स एकेडेमीमा आयोजित एटीयू रेफ्री एजुकेसन कोर्समा समेत छनोट भएर सहभागिता जनाउनुभएको थियो । एसियाका ४० राष्ट्रका करिब एक सय रेफ्री सहभागी उक्त प्रशिक्षणमा विश्व तेक्वान्दोले परिमार्जन गरेका नयाँ नियमबारे प्रशिक्षण दिइएको थियो । ती नियम सन् २०२६ जुन १ देखि लागू भएका छन् र एसियाली क्षेत्रमा आयोजना हुने प्रतियोगितामा प्रयोग भइरहेका छन् ।
उहाँको प्राविधिक दक्षतालाई थप जिम्मेवारी दिँदै एसियन तेक्वान्दो युनियन (एटीयू) ले शिवाकोटीलाई सन् २०२६ का लागि आफ्नो टेक्निकल कमिटी सदस्यमा समेत नियुक्त गरेको छ । एटीयूको टेक्निकल कमिटीमा उहाँको नियुक्तिले नेपाली तेक्वान्दोका प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय पहुँच र विश्वसनीयता थप बढाएको छ । नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यका रूपमा प्रशासनिक तथा प्राविधिक जिम्मेवारी सम्हालिरहेका शिवाकोटी नेपालमा रेफ्री विकासका गतिविधिमा पनि सक्रिय हुनुहुन्छ । राष्ट्रिय निर्णायकका लागि रिफ्रेसर कोर्स तथा प्राविधिक प्रशिक्षण सञ्चालनमा उहाँको नियमित सहभागिता रहँदै आएको छ ।
अब आइची-नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपाली खेलाडीको प्रदर्शनसँगै नेपाली प्राविधिकको उपस्थितिले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछ । एसियाली खेलकुदको तेक्वान्दो म्याटमा निष्पक्ष र उच्चस्तरीय निर्णय गर्दै नेपालको प्रतिष्ठा थप उचो बनाउने जिम्मेवारी शिवाकोटीको काँधमा हुनेछ ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,