लण्डन । खेलको गतिलाई सुस्त बनाउने प्रवृत्तिलाई रोक्न र खेललाई अझ छिटो तथा रोचक बनाउने उद्देश्यले इंग्लिस फुटबलमा २०२६-२७ को नयाँ सिजनदेखि नयाँ नियमहरू लागू गरिएका छन् । विश्वकपमा परीक्षण गरिएका यी नियमहरू काराबाउ कपको पहिलो चरणदेखि नै इंग्लिस फुटबलका सबै तहमा कार्यान्वयनमा आइसकेका छन् । यसअन्तर्गत इएफएलका खेलहरू, आर्सनल र म्यानचेस्टर सिटीबीचको कम्युनिटी शिल्ड, प्रिमियर लिगदेखि तल्लो तहका सण्डे लिगसम्म यी नियमहरू लागू हुनेछन् ।
अतिरिक्त समयको अनावश्यक बोझ नबढाई खेललाई मैदानमा बढीभन्दा बढी समय सक्रिय राख्नु यी नियमहरूको मुख्य उद्देश्य रहेको बिबिसीले जनाएको छ । कतार विश्वकप २०२२ मा बल मैदानमा ५८ मिनेट ३ सेकेण्ड खेलिएको थियो भने यसपटक अतिरिक्त समय घटाउँदा पनि बल ६०.४३ प्रतिशत समय मैदानमा खेलिएको पाइएको थियो । यी नियमहरूको मुख्य उद्देश्य खेलाडीलाई सजाय दिनुभन्दा उनीहरूको बानीमा सुधार ल्याउनु हो ।
खेल सुरु गर्न ढिलाइ गर्ने खेलाडीहरूलाई लक्षित गर्दै थ्रो–इन र गोलकिकमा पाँच सेकेण्डको काउन्ट डाउन नियम ल्याइएको छ । बल बाहिर जानेबित्तिकै काउन्ट डाउन सुरु हुँदैन, तर खेललाई असर पार्ने कुनै पनि ढिलाइ (जस्तैः बललाई कोनमा राख्नु वा साथीलाई बल गिराउनु) ले काउन्ट डाउन निम्त्याउन सक्छ ।
रेफ्रीले खेलाडीलाई छिटो गर्न सिठी फुक्नेछन् र हात माथि-तल गर्दै पाँच सेकेण्डको काउन्ट डाउन सुरु गर्नेछन् । यदि समय समाप्त भयो भने रेफ्रीले फेरि सिठी फुकेर विपक्षी टिमलाई थ्रो–इन दिनेछन् । लामो थ्रोका लागि सेट-अप गर्न यो नियम लागू हुँदैन ।
खेलको अन्त्यतिर गोलकिक गर्न अत्यधिक समय लिने गोलकिपरलाई अब रेफ्रीले सिधै विपक्षी टिमलाई कर्नर किक दिन सक्नेछन् । मैदान छाड्ने सब्सिट्युट खेलाडीहरूले मैदानको सबैभन्दा नजिकको बिन्दुबाट १० सेकेण्डभित्र बाहिरिनुपर्नेछ । यदि उनीहरूले समयमै मैदान छाडेनन् भने उनीहरूको सट्टामा आउने नयाँ खेलाडीले कम्तीमा एक मिनेटसम्म मैदानमा प्रवेश गर्न पाउने छैन र टिमले १० जना खेलाडीसहित खेल्नुपर्नेछ । काराबाउ कपमा रेक्सहमविरुद्धको खेलमा मिडलसब्रोका विल्ल ल्यान्कशेरले ढिलाइ गर्दा यो सजाय भोगिसकेका छन् । घाइते भएका वा सुरक्षासम्बन्धी समस्या भएका खेलाडीहरूलाई भने यसबाट छुट दिइएको छ ।
फिजियो मैदानमा प्रवेश गरेपछि खेलाडीहरू ३० सेकेण्डसम्म बाहिर बस्नुपर्ने नियम थियो, जुन अब बढाएर एक मिनेट पुर्याइएको छ । विपक्षीको गतिलाई तोड्न खेलाडीले जानाजानी खेल रोकेमा उनीहरूले उपचार माग नगरे पनि मैदानबाहिर जानुपर्नेछ । बल स्वाभाविक रूपमा बाहिर जाँदा (थ्रो वा गोलकिक) यो नियम लागू हुने छैन । साथै, यदि फाउल गर्ने खेलाडीलाई पहेंलो वा रातो कार्ड देखाइयो भने घाइते खेलाडीले सधैं एक मिनेट बाहिर बस्नुपर्ने नियममा केही छुट दिइएको छ ।
प्रशिक्षकहरूले खेलको गति बदल्न वा नयाँ निर्देशन दिन गोलकिपरलाई मैदानमा ढलाएर ‘फिजियो’ बोलाउने प्रवृत्तिलाई रोक्न नयाँ ट्रायल सुरु गरिएको छ । यदि गोलकिपरले उपचार मागेमा, कोचले छानेको बाहिरको एक खेलाडी एक मिनेटका लागि मैदान बाहिर जानुपर्नेछ । चौथो अफिसियललाई यो जानकारी दिन १० सेकेण्डको समय हुनेछ, अन्यथा कप्तानले यो काम गर्नुपर्नेछ । गोलकिपर घाइते भएको वा रगत बगेको अवस्थामा यसमा छुट दिइनेछ ।
आधुनिक फुटबलमा गोलकिक छोटो पासबाट खेल्ने प्रचलन बढेको छ । यसअघि गोलकिक लिइएको होइन भन्ने द्विविधामा डिफेन्डरले बल छुँदा विवाद हुने गरेको थियो । अब गोलकिपर वा डिफेन्डरले बल किक गर्नेबित्तिकै गोलकिक लिइसकेको मानिनेछ । त्यसपछि डिफेन्डरले हात वा पाखुराले बल छोएमा सिधै पेनाल्टी हुनेछ र गोलकिपरले छोएमा ब्याकपासको नियमअनुसार इन्डाइरेक्ट फ्रि-किक हुनेछ ।
नयाँ सिजनमा भिएआरको दायरा केही हदसम्म बढाइएको छ । दुईवटा पहेंलो कार्ड पाएर रातो कार्ड पाएका खेलाडीको दोस्रो कार्ड सही थियो वा थिएन भनेर भिएआरले समीक्षा गर्न सक्नेछ । गोल, पेनाल्टी वा अनुशासनसम्बन्धी निर्णयमा पुग्नुअघि सेट-पिसभन्दा ठ्याक्कै अगाडि कुनै फाउल भएको छ भने ट्रायलका रूपमा भिएआरले समीक्षा गर्न सक्नेछ र कर्नर पुनः लिइनेछ । रेफ्रीले टिम ‘ए’ को ह्याण्डबलमा टिम ‘बी’लाई सजाय दिएको जस्ता गल्तीहरू सुधार गर्न भिएआरले हस्तक्षेप गर्न सक्नेछ । एजेन्सी






सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष