काठमाडौं । कुनै समय एसियाली खेलकुदमा नेपाली बक्सिङ टोली पदकको बलियो दाबेदार मानिन्थ्यो । नेपाली बक्सरले एसियाली खेलकुदको मञ्चमा पटक-पटक प्रभाव जमाउँदै देशलाई पदक दिलाएका थिए । तर, पछिल्लो डेढ दशक नेपाली बक्सिङका लागि सुखद रहेन । सन् २०१० को ग्वाङझाउ एसियन गेम्सपछि नेपाली बक्सरले पदक जित्न सकेका छैनन् । सात दशकभन्दा लामो इतिहास बोकेको एसियाली खेलकुदको १९औँ संस्करण सम्पन्न हुँदासम्म नेपालले बक्सिङमा ६ वटा कांस्य पदक जितिसकेको छ । एसियाली खेलकुदमा नेपालको सबैभन्दा सफल खेल तेक्वान्दो हो । तेक्वान्दोले एक रजतसहित १४ पदक जितेको छ । त्यसपछि बक्सिङ नेपालको दोस्रो सफल खेलका रूपमा रहेको छ ।
तर, पछिल्ला तीन संस्करणमा बक्सिङ पदकविहीन छ । यही लामो खडेरी तोड्ने लक्ष्यसहित नेपाली बक्सिङ टोलीले जापानको आइची-नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि तयारी तीव्र बनाएको छ । यसपटक नेपाली बक्सिङ टोली लामो तयारी, पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताका सकारात्मक नतिजा र खेलाडीको बढ्दो आत्मविश्वासका कारण पदक जित्ने लक्ष्यमा छ ।
‘मिसन २०२६’ देखि निरन्तर तयारी
१९औँ एसियाली खेलकुद सकिएलगत्तै तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले ‘मिसन २०२६’ को अवधारणाअन्तर्गत आगामी एसियाली खेलकुदको तयारी सुरु गराउनुभएको थियो । त्यसयता राष्ट्रिय टोलीका खेलाडीले निरन्तर प्रशिक्षण गर्दै आएका छन् । लामो समयदेखि भइरहेको तयारीले खेलाडीको आत्मविश्वास बढाएको नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जन बताउनुहुन्छ ।
‘लामो समयको तयारीसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले प्राप्त गरेको अनुभव र नतिजाले आत्मविश्वास बढाएको छ’, प्रशिक्षक महर्जन भन्नुहुन्छ, ‘चन्द्रबहादुर थापाले आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा जितेको ऐतिहासिक कांस्य पदकले पनि टोलीमा ठूलो उत्साह थपेको छ ।’
राष्ट्रिय खेलकुद परिषद्ले पछिल्लो समय खेलाडीलाई उपलब्ध गराउँदै आएको सेवासुविधाले पनि प्रशिक्षणमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ । तीन वर्षदेखि राष्ट्रिय टोलीको तयारीमा रहेका खेलाडीमध्ये दुई जनाले केही समय प्रशिक्षण छाडे पनि अन्य खेलाडीले नियमित रूपमा प्रशिक्षण गर्दै आएका छन् । महर्जन यसपटक चन्द्रबहादुरसँगै अन्य खेलाडीबाट पनि पदकको अपेक्षा गर्न सकिने बताउनुहुन्छ ।
भारतमा ४० दिने विशेष प्रशिक्षण
२०औँ एसियाली खेलकुदको तयारीका क्रममा नेपाली बक्सिङ टोलीले भारतको आसामस्थित गुवाहाटीमा ४० दिने विशेष प्रशिक्षण गर्ने भएको छ । सात खेलाडीसहित नौ सदस्यीय नेपाली टोली गुवाहाटी पुगिसकेको छ । नेपाली टोलीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा प्रशिक्षण गर्नेछ । उक्त केन्द्रबाट विश्व च्याम्पियन बक्सरसमेत उत्पादन भइसकेका छन् ।
प्रशिक्षक महर्जनका अनुसार भारतको प्रशिक्षण नेपाली खेलाडीका लागि प्राविधिक र मानसिक दुवै दृष्टिले महत्त्वपूर्ण हुनेछ । भारतीय उत्कृष्ट प्रशिक्षकको समेत सहभागितामा प्रशिक्षण हुने भएकाले खेलाडीको प्राविधिक क्षमता सुधार हुने उहाँको विश्वास छ । प्रशिक्षणका क्रममा ट्रायल म्याच र स्किल टेस्टसमेत गरिनेछ । विभिन्न स्तरका खेलाडीसँग स्पारिङ गर्ने अवसरले नेपाली बक्सरलाई आफ्नो स्तर पहिचान गर्न र कमजोरी सुधार गर्न सहयोग पुग्ने प्रशिक्षक महर्जन बताउनुहुन्छ ।
प्रशिक्षककै अधुरो सपना पूरा गर्ने लक्ष्य
सन् २०१० को ग्वाङझाउ एसियन गेम्समा नेपालले बक्सिङबाट कांस्य पदक जितेको थियो । उक्त पदक विजेता खेलाडी अहिलेका नेपाली टोलीका प्रशिक्षक दीपक महर्जन नै हुनुहुन्छ । आफूले खेलाडीका रूपमा पूरा गर्न नसकेको ठूलो सपना प्रशिक्षकका रूपमा आफ्ना खेलाडीमार्फत्् पूरा गर्ने महर्जनको लक्ष्य छ । ‘मैले खेलाडीका रूपमा एसियन गेम्समा पदक जितेको छु । अब प्रशिक्षकका रूपमा खेलाडीलाई पदक जिताउन चाहन्छु’, उहाँ भन्नुहुन्छ ।
महर्जनको सबैभन्दा बढी भरोसा चन्द्रबहादुर थापामाथि छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई प्रमाणित गरिसकेकाले चन्द्रबाट पदकको अपेक्षा स्वाभाविक रहेको उहाँको भनाइ छ । तर, अन्य खेलाडी पनि पदकका लागि सक्षम रहेको उहाँ बताउनुहुन्छ । ‘सबै खेलाडी फिट र उत्साहित रहनु अहिलेको महत्त्वपूर्ण पक्ष हो । सबैले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सके पदक सम्भव छ’, महर्जनको विश्वास छ ।
चन्द्रबहादुरको आत्मविश्वास
नेपाली टोलीका प्रमुख पदक आशामध्येका एक चन्द्रबहादुर थापा पनि यसपटक पदक जित्नेमा आशावादी हुनुहुन्छ । विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेर अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रमाणित गरिसकेका चन्द्रले एसियन गेम्सका लागि भइरहेको तयारी राम्रो भएको बताउनुभएको छ ।
भारतमा हुने प्रशिक्षणले थप अनुभव हासिल गर्ने उहाँको विश्वास छ । विशेषगरी फरक–फरक देशका खेलाडीसँग स्पारिङ गर्दा आफ्नो वास्तविक स्तर मापन गर्न र कमजोरी सुधार्न सहज हुने उहाँ बताउनुहुन्छ । ‘तयारी राम्रो भइरहेको छ । भारतमा हुने प्रशिक्षणले अझै अनुभव बढाउनेछ । विभिन्न खेलाडीसँग फाइट गर्दा आफ्नो स्तर मापन गर्न र सुधार गर्न अवसर मिल्नेछ’, चन्द्रको भनाइ छ ।
१६ वर्षदेखि एसियाली खेलकुदमा पदकविहीन रहेको नेपाली बक्सिङको यात्रामा यसपटक पूर्णविराम लगाउनेमा खेलाडीहरू पनि विश्वस्त देखिन्छन् । महिला खेलाडी रमिशा श्रेष्ठका अनुसार पदकका लागि शारीरिक तयारीसँगै मानसिक रूपमा बलियो हुनु उत्तिकै आवश्यक छ । ‘पहिलो चरणमै हामी मानसिक रूपमा पदक जित्छौँ भन्ने विश्वासमा हुनुपर्छ । आफूले जित्छु भन्ने आत्मविश्वास नभए सफल हुन कठिन हुन्छ’, रमिशा भन्नुहुन्छ ।
भारतमा हुने प्रशिक्षण र स्पारिङ पार्टनरको उपलब्धतालाई उहाँले महत्त्वपूर्ण अवसरका रूपमा लिनुभएको छ । बक्सिङमा बलियो मानिने भारतमा प्रशिक्षण गर्दा आफ्नो खेलस्तर थप उकासिने उहाँको विश्वास छ । तयारीसँगै एसियन गेम्सका लागि आवश्यक खेल सामग्री पनि समयमै उपलब्ध गराउनुपर्ने उहाँको आग्रह छ ।
चार पुरुष, तीन महिला बक्सर
२०औँ एसियाली खेलकुदमा नेपालबाट चार पुरुष र तीन महिला बक्सरले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्नुहुनेछ । महिलातर्फ ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङले चुनौती प्रस्तुत गर्नुहुनेछ ।
सात खेलाडी र दुई प्रशिक्षकसहित नौ सदस्यीय नेपाली टोली अहिले भारतको गुवाहाटीमा प्रशिक्षणरत छ । टोली भारतबाटै जापान प्रस्थान गर्ने तालिका छ । नेपाली टोलीका अर्का प्रशिक्षक राज श्रेष्ठ हुनुहुन्छ । रविन नेपालले भने दोस्रोपटक एसियाली खेलकुदमा सहभागिता जनाउँदै हुनुहुन्छ । उहाँले १९औँ एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो ।
नेपालले एसियाली खेलकुदमा बक्सिङबाट पहिलोपटक सन् १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको १०औँ संस्करणमा उल्लेखनीय सफलता हासिल गरेको थियो । त्यस प्रतियोगितामा नेपाली बक्सरले चार कांस्य पदक जितेका थिए । त्यसपछि पनि बक्सिङले नेपाललाई एसियाली खेलकुदमा पदकविहीन हुनबाट जोगाउँदै आएको छ । सन् १९९० मा चीनको बेइजिङमा भएको ११औँ संस्करणमा चित्रबहादुर गुरुङले कांस्य पदक जित्नुभएको थियो । त्यसयता विभिन्न संस्करणमा नेपाली बक्सिङले संघर्ष गरे पनि सन् २०१० को ग्वाङझाउ एसियन गेम्समा दीपक महर्जनले कांस्य पदक जित्नुभयो । त्यसयता भने नेपाली बक्सरको हात खाली छ ।
अब त्यही दीपक महर्जन प्रशिक्षकको भूमिकामा हुनुहुन्छ । खेलाडीका रूपमा जितेको पदकको सम्झनासँगै उहाँ यसपटक प्रशिक्षकका रूपमा नेपाली बक्सिङको पदकविहीन यात्रा अन्त्य गर्ने अभियानमा हुनुहुन्छ । आइची-नागोयामा आगामी असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुदमा नेपाली बक्सिङका सात खेलाडी रिङमा उत्रिँदा सबैको नजर चन्द्रबहादुरसहित युवा खेलाडीमा हुनेछ । लामो तयारी, अन्तर्राष्ट्रिय अनुभव र बढ्दो आत्मविश्वासलाई पदकमा परिणत गर्न सके नेपाली बक्सिङले १६ वर्ष लामो खडेरी तोड्दै फेरि एसियाली खेलकुदमा आफ्नो पुरानो गौरव फर्काउन सक्नेछ ।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या