काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । बहुमतको समर्थन प्राप्त भएपनि सरकारले हालसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउँदै उहाँले यसलाई ‘कामचलाउ’ सरकारको संज्ञा दिनुभयो ।
वर्तमान सत्ता समीकरण पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गर्दै कोईरालाले मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने सम्भावना रहेको समेत उल्लेख गर्नुभयो ।
नेता कोईरालाले भन्नुभयो, ‘यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ । बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन । नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ । यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन, बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ । राजनीतिमा यस्तो सम्भावनालाई नकार्न सकिँदैन ।’
राजनीति सम्भावनाको खेल भएको उल्लेख गर्नुभयो ।
१५ औं महाधिवेशनमा सभापतिको लागि इच्छुक हुँ तर शेखर उठे सहयोग गर्छु
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभएको हो । नेता कोईरालाले पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
आगामी १५ औँ महाधिवेशनको प्रसङ्गमा बोल्दै कोईरालाले नेता डा. शेखर कोईरालासँग आफ्नो राम्रो समझदारी रहेको उल्लेख गर्नुभयो । उहाँले थप स्पष्ट पार्दै सभापतिमा शेखर कोईराला नेतृत्वका लागि अघि बढेको खण्डमा आफूले सहयोग गर्ने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा बिलकुलै छैन । जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ । सभापति पदका लागि म इच्छुक छु तर मेरो इच्छाले मात्र हुँदैन । साथीहरूसँग परामर्श गरेर उहाँहरूको सुझावअनुसार म निर्णय गर्नेछु । नयाँ र सङ्गठित काँग्रेसका लागि अबको मूल केन्द्रबिन्दु विकास हुनुपर्छ । नीति राम्रो भयो भने मात्र जनता आकर्षित हुन्छन्, त्यसैले हाम्रो ध्यान अब ठोस नीति र विकासमा हुनुपर्छ ।’
पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै डा. कोईरालाले अब काँग्रेसले सैद्धान्तिक बहसभन्दा माथि उठेर विकास र समृद्धिको एजेण्डालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । संविधान प्राप्त भइसकेको अवस्थामा अबको मूल लक्ष्य विकास हुनुपर्ने उहाँको तर्क छ ।





विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन