काठमाडौं । नेपाली गजलका आदिगजलकार मोतीराम भट्टको जन्मजयन्ती अर्थात् भाद्र कुशे औंसीलाई अब हरेक वर्ष ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाइने भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ परिषद्को साउन २८ गते बसेको पहिलो बैठकले मोतीराम भट्टको जन्मजयन्तीलाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय गरेको हो । बैठकको प्रस्ताव नं.२ मा ‘मोती जयन्ती मनाउने सम्बन्धमा’ शीर्षकअन्तर्गत ‘हरेक वर्ष मोतीजयन्ती (कुशे औंसी)लाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय गरियो’ उल्लेख छ ।
राष्ट्रिय विभूति तथा आदिगजलकार मोतीराम भट्टको सम्मानसँगै नेपाली गजलको प्रवर्द्धन, विकास र गजल स्रष्टाहरूको सम्मानका लागि मोती जयन्तीलाई राष्ट्रिय गजल दिवस घोषणा गर्न गजल अभियन्ताहरूले लामो समयदेखि माग गर्दै आएका थिए ।
गजल अभियन्ता तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले प्रतिष्ठानको निर्णयलाई नेपाली गजल र गजलकारका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको छ । ‘प्रतिष्ठानले धेरै पहिले यो काम गर्नुपर्थ्यो, अहिले काम भयो,’ ओझाले भन्नुभयो, ‘यसबाट मोतीराम, नेपाली गजल र समग्र गजलकारको सम्मान भएको छ । प्रतिष्ठान स्वयं पनि सम्मानित भएको छ ।’
प्रज्ञाप्रतिष्ठानद्वारा जारी विज्ञप्ति अनुसार बैठकले प्राज्ञ परिषद्का सदस्यहरूको विभागीय कार्यविभाजनसमेत गरेको छ । कार्यविभाजन अनुसार उपकुलपति अविनाश श्रेष्ठलाई गद्य तथा प्रकाशन, सदस्यसचिव डा.रोशन शेरचनलाई दर्शन, प्रतिसरा सायमिलाई लोकसाहित्य तथा नारी लेखन, डा.कृष्णराज सर्वहारीलाई सामाजिक शास्त्र तथा इतिहास, सीता तुम्खेवालाई मातृभाषा तथा लिपि, तीर्थ गुरुङलाई अनुवाद, मौखिक इतिहास तथा अन्तर्राष्ट्रिय सम्बन्धको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, रूपा झा धीरूलाई बाल तथा किशोर साहित्य, नवीन अभिलाषीलाई दलित साहित्य, युवा लेखन तथा डिजिटलाइजेसन, दीपक सापकोटालाई काव्य, संस्कृति तथा डिजिटलाईजेसन तथा प्राडा.दुर्गाबहादुर घर्तीलाई समालोचना, भाषा, व्याकरण तथा कोश विभागको जिम्मेवारी दिइएको छ । बैठकले सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानलगायत सम्बन्धित सरोकारवाला संघसंस्थासँग सहकार्य गरी आगामी मंसिरभित्र दुईदिने सुदूरपश्चिम प्रदेशस्तरीय साहित्य महोत्सव आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
मोतीराम भट्टले नेपाली साहित्यमा गजल विधाको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिनुभएको थियो । उहाँको जन्मजयन्तीलाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णयसँगै नेपाली गजलको संस्थागत सम्मान र प्रवर्द्धनका लागि नयाँ आधार तयार भएको साहित्य क्षेत्रका स्रष्टाहरूको विश्वास छ ।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि