विनोद दाहाल वत्स नेपाली साहित्यका एक स्थापित व्यक्ति हुन् । साहित्य जनमानसलाई सुसूचित गर्नु नै उनको साहित्यिक काम हो । दिदी १५ वर्षकी हुँदासम्म आफ्नी दिदीको सङ्गत र सानिध्यमा हुर्केका यी कविले सानैमा आफ्नै दिदीलाई गुमाउनुपरेको यो घटना शोकको अभिव्यक्ति हो । ‘गुनी’ शोककाव्यका रूपको गीतिकाव्य विसं २०२९ सालमा १५ वर्षको उमेरमा गुनीको निधन हुँदा वत्सको उमेर जम्मा नौ वर्षको मात्र थियो । गुनी दिदीसँग हाँसेको, खेलेको, हिँडेको, चलेको, झगडा गरेको सबै इतिवृतान्तको सजीव सम्झनागत र स्मृतिगत दस्ताबेज हो उनको कृति ‘गुनी’ ।
यी गुनीको जुनी धेरै नरहिई अल्पायुमै उनी लेखकलाई छोडेर जान्छिन् । यसकै शोकले गर्दा उनको हृदय छियाछिया भएछ, दिदीको मरणको पीडाले गर्दा उनलाई भित्री मनमा असैह्य र नदेखिने चोट परेछ । शोकलाई धेरै वर्षपछि भए पनि शक्तिमा परिणत गरी आफ्नी दिदी चिनाउन, अमर बनाउन उनले दिदीकै नामको ‘गुनी’ गीतिकाव्य पनि लेखेछन् २०८३ साल वैशाखमा । आफ्नो शोकले अरूलाई पनि केही काम दिनसक्दैन होला भनेर सुरुमा उनले केही लेख्ने सोचाइ राखेका थिएनन् तर सबैको जीवनगत शोक, व्यथा, कथा, दुःख, पीडा उस्तै हुन् । भोग्ने र बाँच्ने अवस्था एउटै हो अर्थात् समान हो । तर पछि आफ्नो शोक र मनोगत रोगलाई व्यक्त गर्न लेख्नै पर्छ भन्ने लागेपछि उनले यो कृतिको रचना गरेका हुन् लोकलय वा झ्याउरेमा ।
हुन त नेपाली साहित्यमा दीपक सोतीको समालोचक शोक काव्य पुत्रशोकमा लेखिएको, माधव घिमिरेको गौरी शोककाव्य श्रीमतीको शोकमा लेखिएको, शान्तदास श्रेष्ठको आमा शोककाव्य आमाको शोकमा लेखिएको, यदुनाथ वसन्तेपुरेको वेदना स्मृति काव्य आमाबुबाको शोकमा लेखिएको चर्चितै छन् । त्यस्तै यो गुनी पनि नेपाली शोककाव्यको इतिहासमा चर्चित नै हुने विश्वास गर्दछु । सप्तम खण्डमा रचिएको यो गीतिकाव्यमा प्रथम खण्डमा गुनी जन्मिएको गाउँको प्रकृतिको चित्रण गरिएको भने द्वितीय खण्डमा गुनीको बाल्याकालका बारेमा चर्चा गरिएको छ । तृतीय खण्डमा यनको कौमार्यको वर्णन गरिएको छ । यसैगरी चतुर्थ खण्डमा उनको दुर्घटनाको पीडादायी अवस्थाको चित्रण गरिएको छ ।
उनको रोगको उपचार गरिएको प्रसङ्गलाई कवितामा उठान गरिएको छ । काव्यमा उनको मृत्युका कारणहरूलाई वर्णन गरिएको छ । अन्त्यमा देवीस्थान स्थापनाको मूल कारणलाई कवितात्मक रूपमा लिपिबद्ध गरिएको छ । यो तत्काल उनको शोकमा डुबी लेखिएको काव्य होइन निकै समय लगाएर उनको स्मृतिमा लेखिएको गीतिकाव्य हो । आफ्नी प्राणप्रिया दिदीको स्मृतिमा भाइले लेखेको यो काव्यले वास्तवमै गुनी दिदीलाई जीवित नै तुल्याएको छ । यो वस्तुस्थितिको निर्देश गरिएको काव्य हो । यस काव्यमा आरम्भदेखि जिल्ला र जन्मथलोको पृष्ठभूमि र परिवेशको सुन्दर वर्णन गरेको छ ।
यसैगरी गणेशप्रसाद दाहालको परिवारमा छोरा र छोरी जन्मिएको सन्दर्भको चित्रण गरेको छ । छोराछोरी हुर्काएको, उनीहरू हुर्काउन गरिएको सङ्घर्ष, घाँसपात र मेलापातको वर्णन गरिएको छ । यसैगरी गुनीलाई एउटा अनिङ्गरले निल्नलाग्दा एकजना युवकले बचाएको र प्रसङ्गको वर्णन गरिएको छ । धाँमी, झाँक्री, ज्योतिषी, वैद्य, डाक्टरलाई जचाउँदा पनि निको नभएको प्रसङ्गलाई उल्लेख गरिएको छ । अल्पायुमै उनलाई कालले आफ्नो प्रिय बनाएको प्रसङ्ग उठाइएको छ । यसकारण परिवार शोकाकुल बनेको छ । जाने बेलामा उनले आफ्ना प्रिय आमाबुबालाई गरेको पुकारले जोकोहीलाई संवेदनशील बनाउँछ, भाइलाई त अझै नबनाउने कुरै भएन ।
काव्यको अन्त्यमा आमाले सपनामा छोरीले देवी बन्छु भनेको देखेर उनको नाममा देवीस्थान स्थापना गरेको प्रसङ्गले पनि यो कृति शोकमग्न बनेको छ । ‘गुनी’ गीतिकाव्यमा प्रकृति, समाज र संस्कृतिको व्यापक चित्रण भएको छ । विविध पाटाबाट र पात्रहरूको चित्रण भएको सामाजिक व्यवहार अनि प्राकृतिक जीवनशैलीको चित्रण भएको उत्कृष्ट काव्य हो । मूलतः करुण रसमा लेखिए तापनि अरू रसको पनि परिपाक भएको र रसास्वादन गर्न सकिने कृति । अनेक सहज र स्वाभाविक अलङ्कार बिम्ब तथा प्रतीकको प्रयोगले यो काव्य अझै पठनीय, मननीय, स्मरणीय र सङ्ग्रहणीय बनेको छ ।
मानिसको नियसत सर्वोपरी छ र यसैको जगमा मानवजाति गतिशील भएर रहनुपर्छ भन्ने सन्देश यस गीतिकाव्यले प्रवाह गरेको छ । तसर्थ जीवनदर्शनको दृष्टि दिने एक पठनीय गीतिकाव्य हो । एक सरल र सहज काव्यकृतिका रूपमा आएको यो ‘गुनी’ शीर्षकको गीतिकाव्य मार्मिक कथानक प्रवाह गर्न सफल भएको छ । तसर्थ यस्ता कवि(काव्यकार)लाई मेरो नमन ।







ज्ञान बैंक : युगान्तकारी अभियान
मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११