‘गुनी’ विनोद दाहाल वत्सद्वारा रचित गीतिकाव्य हो । यो पुस्तक सानो आकारमा अथवा पकेट साइज अथवा स्ट्यान्डर्ड साइज भनिने साइजमा आकर्षक ढङ्गले प्रकाशित भएको छ । सुन्दर स्वदेश पब्लिकेशन काठमाडौँ प्रकाशक रहेको यस पुस्तकको यो प्रथम संस्करण हो, जुन २०८३ साल वैशाखमा प्रकाशित भएको छ । प्रथम संस्करणमा १००० प्रति छापिएको यस पुस्तकको सर्वाधिकार लेखकमै छ । यसको लेआउट तथा डिजाइन सुमन कार्कीले गर्नुभएको छ । पुस्तकको आवरण कलात्मक खालको छ । जसमा ओखलढुङ्गाको सुन्दर उपत्यका बिगुटारको फोटोग्राफी रहेको छ ।
माथि ठूला अक्षरमा पुस्तकको शीर्षक राखिएको छ भने त्यससँगै काव्यकारको नाम राखिएको छ । बिगुटारका टक्सार, तोजिङ, टार, पोखरी, बुके, भँगेरी र सर्सेपुका फाँट र घरहरू यसमा देख्न सकिन्छ । बीचमा रातो छानु भएका दुई तीनवटा ठूला घरहरू माध्यमिक विद्यालयका भवन हुन् भने त्यहाँ एकजना युवतीको पृष्ठभाग देखिने, शीर्षकसँग सामन्जस्य राख्ने गरी फोटोग्राफी राखिएको छ । पृष्ठावरणमा फोटोसहित काव्यकार दाहालको समग्र परिचय झल्किने सामग्री दिएको छ ।
यसमा कवि परिचय, उहाँका प्रकाशित पुस्तकहरू, उहाँको सम्पादनमा प्रकाशित पुस्तकहरू, उहाँले प्राप्त गर्नुभएका पुरस्कारहरु, उहाँले शिक्षण गर्नुभएको अनुभव, पेशा वा आबद्ध भएका संघसंस्था आदि यसमा दिइएको छ । यस पुस्तकमा पहेँलो हलुका तौलयुक्त कागजको प्रयोग गरिएको छ । छपाइ स्तरीय छ, अशुद्धि ज्यादै कम भेटिन्छन् र पुस्तकमा आवणखण्डमा समेत गरी जम्मा ६४ पृष्ठ छन् । पुस्तकको मूल्य रु २५० राखिएको छ । यो पुस्तक सहारा प्रिन्ट कनेक्सन डिल्लीबजारबाट मुद्रण भएको छ ।
पुस्तकको भूमिकाखण्डमा सुरुमा ‘कलिलै उमेरमा सांसारिकता त्यागेकी मेरी दिदी स्वर्गीय गुनमायामा समर्पण’ भनिएको छ । त्यसपछि ‘लोकलयमा श्लोकमय अभिव्यक्ति’ शीर्षकमा डाक्टर शैलेन्दुप्रकाश नेपालको भूमिका रहेको छ भने त्यसपछि लेखक वत्सको ‘मेरो भन्नु’ छ । यसपछि विषयसूचीमा ‘खण्डक्रम’ भनेर सातवटा खण्ड दिएको छ । प्रथम खण्डमा प्रकृति चित्रण शीर्षक राखिएको र ओखलढुङ्गा बिगुटार उपत्यकाको प्रकृतिको चित्रण कलात्मक ढङ्गले गरिएको छ । यस खण्डमा २५ वटा श्लोक छन् । ती गीतीश्लोकहरूमा पाउ भने बराबरी छैनन् । कुनै चार पाउका र कुनै छ पाउसम्मका छन् र कुनै–कुनैमा एक पाउको आधालाई दोहोर्याएर अझै गेयात्मक बनाइएको छ ।
यसमा खण्डकाव्यकारले मुनामदनको झ्याउरे लएको शैली अपनाएको पाइन्छ । प्रथमखण्डमा ‘बिगुटारको सेरोफेरो र प्रकृतिलाई गीतमा कथेर गाउँछ एकजना युवक’ भनेर सुरुमा कोष्टभित्र राखिएको छ । त्यसपछि काव्यका श्लोक सुरु हुन्छन् । द्वितीय खण्डमा ‘बाल्यकाल’ शीर्षक छ । जसअन्तर्गत गुनामायाको बाल्यकालको चित्रण यस खण्डमा भएको छ । यसखण्डमा ‘गुनीको गाउँको प्रकृति र बाल्यकालका गीत गाउँदै गाउँका केटाकेटीहरु नाच्न थाल्छन्’ भनेर कोष्टमा राखिएको छ । त्यसपछि दोस्रो खण्डका श्लोक सुरु हुन्छन् । यसखण्डमा पनि २५ वटा श्लोक छन् । तेस्रो खण्ड ‘कैश्वर्य अथवा कौमार्य’ भनेर राखिएको छ ।
यस खण्डको सुरुमा कोष्ठभित्र ‘गुनीकी दौतरी चिनीमाया उसको कौमार्य र कैश्वर्यको बयान गरी गाउँलेहरूलाई सुनाउँदै हिँड्छे’ भनिएको छ । त्यसपछि तृतीय खण्डका श्लोक सुरु हुन्छन् । २५० वटा श्लोक छन् अथवा यस गीतिकाव्यका सातैवटा खण्डमा श्लोकहरू राखिएको छ । चतुर्थ खण्डमा ‘दुर्घटना’ शीर्षक राखिएको छ र त्यस खण्डमा गुनीलाई अजिङ्गरले खाएको र कुनै हिम्मतिलो युवकले उसलाई अजिङ्गरको मुखबाट बचाएको भनेर चित्रण गरिएको छ । काव्यकारले यो नितान्त काल्पनिक हो भनेका छन् । यस खण्डमा सुरुमा कोष्टभित्र ‘गुनीको दुर्घटनाका बारेमा खोप्राकी आमै केटाकेटीहरूलाई यसरी कथा सुनाउँछन्’ भनिएको र उक्त काल्पनिक कथालाई झ्याउरे लयमा वर्णन गरिएको छ ।
पञ्चम खण्डमा ‘उपचार’ शीर्षक दिएको छ । कोष्ठभित्र ‘गुनीलाई धामी, झाँक्री, वैद्य, ज्योतिषी’ सबैलाई देखाइन्छ र अन्त्यमा अस्पताल लगिन्छ ऊ त्यहाँबाट निको भएर फर्किन्छे यो कुरा गाउँलेहरू एक अर्कालाई सुनाउँछन्’ भनिएको छ । त्यसपछि यसखण्डका श्लोक सुरु हुन्छन् जसमा २५ वटा श्लोक छन् । छैटौं खण्डको शीर्षक ‘मृत्यु’ राखिएको छ । सुरुमा कोष्ठभित्र ‘गुनीको मृत्यु हुन्छ । त्यो स्थिति एकजना कविको कलमले लिपिबद्ध गर्न पुग्छ । पछि गाउँभरि यो झ्याउरे गीत बनेर फैलिन्छ’ भनिएको छ । त्यसपछि गीतका श्लोक सुरु हुन्छन् र यसमा पनि २५ वटै श्लोकमा रचना भएको छ ।
अन्त्यमा सातौं खण्डमा ‘देवीथान स्थापना’ भन्ने शीर्षक छ । सुरुमा कोष्टभित्र ‘गुनिकी आमा सपनामा गुनीले ‘देवी बन्छु’ भनेको देख्छिन् र उनका नाउँमा देवीस्थान बनाइन्छ गाइनेहरू यसैलाई गीत बनाएर यसरी गाउँछन्’ भनिएको छ र त्यसपछि गीतका अन्तराह’ सुरु हुन्छन् । यसमा पनि २५ श्लोकमै रचना भएका छन् । २०६० सालको बडादशैंमा लेखिएको भनिएको यो काव्य त्यसको २२ वर्षपछिको बडादशैंमा परिमार्जन भएको छ र तेइसौं वर्षपछि प्रकाशित हुनपुगेको छ । यो काव्य निकै चोटिलो र रोचक छ । यथार्थ घटनामा सामनजस्यमात्र भएको यस गीतिकाव्यको सम्पूर्ण कथामा ९० प्रतिशत बढी काल्पनिकी राखिएको र केही प्रतिशत मात्र यथार्थ घटना भएको लेखकले बताएका छन् ।
लेखकले कल्पना गरेको देवीथान स्थापनाको कुरापछि वास्तविक रूपमै त्यहाँका स्थानीय धामीहरूले पूरा गरेका छन् । अहिले त्यहाँ देवीथान स्थापना गरेर पाठपूजा गर्ने, मेला लगाउने, काम हुँदै आएको छ भनिन्छ तर लेखकले यो काव्य लेख्दा यस्ता कुराहरू केवल कल्पनामात्र गरेका थिए । मीठो लयमा सरल भाषामा लेखिएको यो सानो काव्य पठनीय र सङ्ग्रहणीय छ । लेखकलाई काव्य लेखनका लागि बधाई छ र पुस्तकको सफलताको कामना । फुटकर लेखन बाक्लै गर्दै आएका भए पनि पुस्तकाकार भने आर्थिक कारणले पनि हुनसक्छ कमै प्रकाशित गरेका लेखक वत्सलाई यस्ता पुस्तक भविष्यमा प्रकाशित गरिरहने प्रेरणा मिलोस् शुभकामना ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा