स्वर्ग...
यो शब्द सुन्नासाथ मन किन उज्यालोतिर दौडिन्छ ?
र नर्क...
यो शब्द उच्चारण गर्नेबित्तिकै मनभित्र किन एउटा अदृश्य भय जन्मिन्छ ?
सानैदेखि सुन्दै आएको छु- असल कर्म गर, स्वर्ग पाइन्छ । पाप नगर, नर्क भोग्नुपर्छ । त्यसैले मानिस धर्म गर्छ, पूजा गर्छ, व्रत बस्छ, दान गर्छ, तीर्थ धाउँछ । सबैको कामना एउटै हुन्छ- ‘हे ईश्वर ! अन्त्यमा स्वर्ग प्राप्त होस् ।’ तर, आज एउटा प्रश्नले मलाई छोड्न मानेको छैन । यदि भगवान् स्वयं मेरो अगाडि उभिनुभयो र मुस्कुराउँदै भन्नुभयो-
‘ल, तिमीले जीवनभर खोजेको बैकुण्ठ तयार छ । अब मेरो साथ लाग ।’
के म तुरुन्तै उहाँसँग जान सकूँला ? सायद सक्दिनँ । म कुनै न कुनै बहाना बनाउँछु । भन्छु- अझ केही जिम्मेवारी बाँकी छन् । केही सपना अधुरा छन् । केही सम्बन्ध अधुरा छन् । अझ केही दिन...केवल केही दिन पृथ्वीमै बाँच्न पाए हुन्थ्यो । त्यसपछि म आफैँसँग अर्को प्रश्न गर्छु-
यदि म स्वर्ग जान तयार नै छैन भने, जीवनभर स्वर्ग किन खोजिरहेको छु ? सायद मानिसको सबैभन्दा ठूलो चाहना स्वर्ग होइन, जीवन हो । ऊ अमरताको सपना देख्छ, बाँच्न चाहन्छ । आफ्ना मान्छे, आफ्ना सम्बन्ध, आफ्ना दुःख-सुख र आफ्ना अपूर्ण इच्छाहरू-यिनै उसका वास्तविक स्वर्ग हुन् ।
यदि म स्वर्ग जान तयार नै छैन भने, जीवनभर स्वर्ग किन खोजिरहेको छु ?
सायद मानिसको सबैभन्दा ठूलो चाहना स्वर्ग होइन, जीवन हो । ऊ अमरताको सपना देख्छ, बाँच्न चाहन्छ । आफ्ना मान्छे, आफ्ना सम्बन्ध, आफ्ना दुःख-सुख र आफ्ना अपूर्ण इच्छाहरू-यिनै उसका वास्तविक स्वर्ग हुन् । त्यसैले मृत्युको ढोकामा पुगेपछि पनि मानिस स्वर्गभन्दा पृथ्वीलाई रोज्न खोज्छ । त्यसो भए स्वर्ग आखिर कहाँ छ ? नर्क कहाँ छ ? के ती साँच्चै मृत्युपछिका कुनै लोक हुन् वा मानिसको चेतनाले निर्माण गरेका अवस्थाहरू मात्र ?
धर्महरूले आ-आफ्नै भाषामा उत्तर दिएका छन् । कसैले स्वर्ग भने, कसैले जन्नत, कसैले निर्वाण, कसैले बैकुण्ठ । नाम फरक छन् तर उनीहरूको मर्म एउटै छ-सत्यमा बाँच, प्रेम गर, करुणामय बन, अन्याय नगर । सायद धर्महरूले स्वर्गको ठेगाना दिएका होइनन्, मानिस हुने बाटो देखाएका हुन् तर हामीले बाटो बिर्सियौँ र गन्तव्य मात्र सम्झियौँ । धर्मलाई चरित्रभन्दा कर्मकाण्डमा सीमित गरिदियौँ । मन्दिरहरू अग्ला बनायौँ तर मनहरू होचा । पूजा बढायौँ तर करुणा घटायौँ । ईश्वरको नाम धेरै लियौँ तर मानिसलाई बिर्सियौँ । यस्तै बेला मनको अन्तरकुनाबाट श्रीमद्भगवद्गीताको एउटा श्लोक झङकाारिएर आउँछ-
‘नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।’
भगवान् श्रीकृष्ण भन्नुहुन्छ- आत्मालाई कुनै शस्त्रले काट्न सक्दैन, आगोले जलाउन सक्दैन, पानीले भिजाउन सक्दैन र वायुले सुकाउन सक्दैन । आत्मा अजर, अमर, अविनाशी र शाश्वत छ । अनि फेरि गरुड पुराणका वर्णनहरू स्मृतिमा एकपछि अर्को गर्दै जाग्न थाल्छन् । यमदूत, वैतरणी नदी, पापकर्मअनुसारका दण्ड, उम्लिरहेको तेलका कराही र अनेक यातनाका प्रसङ्गहरू मनमा घुम्न थाल्छन् । यदि साँच्चै आत्मा यति निष्कम्प र निर्विकार छ भने, त्यसलाई सुख-दुःख, पीडा वा सजायँले कसरी छुन्छ ? जसलाई अग्निले जलाउन सक्दैन, त्यसलाई उम्लिरहेको तेलको कराहीले कसरी पोल्नसक्छ ? जसलाई कुनै भौतिक तत्वले स्पर्श गर्न सक्दैन, त्यसलाई यातनाले कसरी सताउनसक्छ ?
मन फेरि अर्को दोबाटोमा उभिन्छ । गीता आत्माको अविनाशी स्वरूपको उद्घोष गर्छ, तर गरुड पुराण कर्मफलका कठोर अनुभूतिहरूको चित्र कोर्छ । यी दुवै सनातन परम्पराका आदरणीय ग्रन्थ हुन् । तब मैले कसलाई अन्तिम सत्य मानूँ ? भगवान् श्रीकृष्णको उपदेशलाई कि महर्षि वेदव्यासद्वारा वर्णित भगवान् विष्णु र गरुडबीचको संवादलाई ? जति बुझ्न खोज्छु, उति नै प्रश्नहरू झन् गहिरिँदै जान्छन् । अर्को एउटा प्रश्नले पनि बेला-बेला मनलाई चिमोटिरहन्छ । मेरा स्वर्गीय मातापिताको आत्माले स्वर्गमा स्थान पाएको छ भन्ने विश्वास मेरो आस्थाको आधार हो तर यदि ईश्वरीय विधानअनुसार उहाँहरूले फेरि मानवरूपमा पुनर्जन्म लिइसक्नुभएको रहेछ भने हरेक वर्ष श्रद्धापूर्वक अर्पण गर्ने जलतर्पण, पिण्ड र श्राद्धको पुण्य उहाँहरूसम्म कसरी पुग्छ ? कुन रूपमा पुग्छ ?
कि ती सबै कर्म हाम्रो श्रद्धा, स्मृति र कृतज्ञताका प्रतीक मात्र हुन् ? यस्ता प्रश्नहरूको उत्तर मसँग छैन तर प्रश्नहरू भने अझै पनि मेरा अन्तरमनका आकाशमा बादलझैँ मडारिरहन्छन् । सायद यिनै अनुत्तरित प्रश्नहरूको नाम नै आध्यात्मिक यात्रा हो । विश्वास र तर्क, शास्त्र र अनुभव, आस्था र जिज्ञासाबीच निरन्तर पुल बाँध्ने प्रयास नै जीवनको अर्को साधना हो । स्वर्गको खोज सायद कुनै टाढाको लोक खोज्नुमात्र होइन, आफ्नै अन्तर्मनसँग सत्यको खोजमा निरन्तर संवाद गरिरहनु पनि हो । यही संवादले मलाई अझै हिँडाइरहेको छ, र सायद यही यात्राको अन्त्यमा मैले खोजिरहेको स्वर्गको वास्तविक अर्थ पनि प्रकट हुनेछ ।
यतिबेला समाजमा प्रचलित एउटा उखान सम्झिन्छु, ‘कलिको पाप फलिफाप ।’ हेर्दा त कहिलेकाहीँ त्यस्तै देखिन्छ । छल गर्ने सफल देखिन्छन् । भ्रष्टहरू सम्मानित देखिन्छन् । अन्यायीहरू शक्तिशाली देखिन्छन् अनि इमानदारहरू संघर्ष गरिरहेका देखिन्छन् तर के यही नै अन्तिम सत्य हो त ? मलाई लाग्दैन । किनकि मानिसको सबैभन्दा ठूलो अदालत बाहिर होइन ऊ भित्रै हुन्छ । त्यहाँ कुनै न्यायाधीश हुँदैन तर अन्तःकरणले निरन्तर फैसला सुनाइरहेको हुन्छ । त्यहाँ जेल हुँदैन तर अशान्ति नै कैद बनेर बस्छ । त्यहाँ सजाय घोषणा गरिँदैन तर निद्रा हराउँछ, सम्बन्ध टुट्छन्, विश्वास मर्छ र आत्मसम्मान गल्दै जान्छ । सायद त्यसैले अर्को भनाइ अझ सत्य लाग्छ- ‘कलि आजको भोलि ।’
सायद आत्मबोध भनेको मृत्युबाट भाग्नु होइन, मृत्यु निश्चित छ भन्ने स्वीकार गरेर पनि प्रत्येक दिनलाई अर्थपूर्ण बनाउनु हो । आफूभित्रको लोभलाई दयाले, घृणालाई प्रेमले, अहङ्गारलाई विनयले र अज्ञानलाई विवेकले जित्ने प्रयास गर्नु । त्यसपछि स्वर्ग कुनै भविष्यको पुरस्कार जस्तो लाग्दैन, वर्तमानको अभ्यास जस्तो लाग्न थाल्छ ।
यस युगमा कर्मको फल धेरै टाढा पुगेर खोज्नुपर्दैन । कुनै न कुनै रूपमा त्यसले यही जीवनमा ढोका ढकढक्याउँछ । कहिले शरीरमा, कहिले सम्बन्धमा, कहिले परिवारमा, कहिले प्रतिष्ठामा र सबैभन्दा बढी त आफ्नै मनमा । प्रकृतिको न्याय ढिलो हुनसक्छ तर अन्याय कहिल्यै हुँदैन । आजको अर्को विडम्बना पनि यही हो-धर्मभन्दा धर्मको प्रदर्शन ठूलो भएको छ । राजनीति पनि धर्मलाई आत्मशुद्धिको मार्गभन्दा जनमतको साधन बनाउन उद्यत् देखिन्छ । धर्मले मानिसलाई जोड्नुपर्ने थियो तर कतिपय ठाउँमा छुट्याउने माध्यम बनेको छ । ईश्वरको नाममा घृणा फैलाउनेहरूलाई देख्दा कहिलेकाहिँ लाग्छ-ईश्वरभन्दा मानिसले आफ्नो अहङ्कारलाई बढी पूजा गरिरहेको छ । त्यसपछि म फेरि आफैँतिर फर्कन्छु ।
स्वर्गको कुरा गर्नु अघि मैले आफ्नै मन हेरेँ कि हेरिनँ ? मेरो मनमा कति करुणा छ ? कति क्षमा छ ? कति सत्य छ ? र कति स्वार्थ छ ? सायद आत्मबोध भनेको यही हो– मृत्युबाट भाग्नु होइन, मृत्यु निश्चित छ भन्ने स्वीकार गरेर पनि प्रत्येक दिनलाई अर्थपूर्ण बनाउनु । आफूभित्रको लोभलाई दयाले, घृणालाई प्रेमले, अहङ्कारलाई विनयले र अज्ञानलाई विवेकले जित्ने प्रयास गर्नु । त्यसपछि स्वर्ग कुनै भविष्यको पुरस्कार जस्तो लाग्दैन, वर्तमानको अभ्यास जस्तो लाग्न थाल्छ । अब मलाई लाग्छ–स्वर्ग कुनै ठाउँ हुनसक्छ तर स्वर्गीय जीवन एउटा निर्णय हो । नर्क कुनै लोक हुन सक्छ तर नर्कीय जीवन एउटा परिणाम हो । यदि मेरो व्यवहारले कसैको मनमा शान्ति, सम्मान र आशा जगायो भने, मैले यही पृथ्वीमा स्वर्गको एउटा फूल रोपेँ । यदि मेरो कारण कसैको मनमा पीडा, अपमान वा घृणा जन्मियो भने, नर्क पनि यहीँबाट सुरु भयो ।
त्यसैले आज मलाई मरेपछि कहाँ पुगिन्छ भन्ने प्रश्नभन्दा एउटा अर्को प्रश्नले बढी सताउँछ–बाँचुन्जेल मैले कस्तो संसार छोडेर जाँदै छु ? सायद ईश्वरले अन्तिम दिन सोध्ने प्रश्न यही हुनेछ–‘तिमी स्वर्ग खोज्दै कति हिँड्यौ ?’ होइन...‘तिमीले पृथ्वीलाई कति स्वर्ग बनायौ ?’ सायद स्वर्ग कतै टाढा छैन । यदि छ भने, त्यो यही पृथ्वीमा मानिसले मानिसका लागि सिर्जना गर्ने प्रेम, करुणा र सत्यभित्रै छ । र, यदि नर्क पनि छ भने, त्यो पनि यहीँ जन्मिन्छ–जब मानिसले मानिस हुनु बिर्सिन्छ ।
(मौन...)
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं)







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै