बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको दुई किलोमिटर सडक दुई वर्षदेखि अलपत्र परेको छ । निर्माण व्यवसायीको लापरबाहीको कारण बागलुङ बागलुङ नगरपालिका-१ रामरेखादेखि उपल्लाचौरसम्मको दुई किलोमिटर सडक दुई वर्षमा पनि सम्पन्न हुन नसकेको हो । लोकमार्गको बांगेचौरदेखि उपल्लाचौरसम्मको दुई किलोमिटर सडक सात महिनामा सक्नेगरी सम्झौतामा भए पनि दुई वर्ष बित्न लाग्दासमेत अझै सडक कालोपत्र भएको छैन । दुई किलोमिटर १०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्नेगरी वि.सं. २०८१ फागुनमा सम्झौता भएको थियो ।
सम्झौताअनुसार वि.सं. २०८२ भदौ १५ गते सम्पन्न भइसक्नु पर्थ्यो । ठेकेदारको ढिलासुस्तीले काम काम नसकिएको हो । सडक कालोपत्रका लागि दुईपटक म्याद थप्दासमेत सम्पन्न हुन नसकेको हो । सडक डिभिजन कार्यालयअन्तर्गत ठेक्कामा लगाइएको उक्त सडकमा बेस र कालोपत्र गर्न अझै बाँकी । ६ करोड ७२ लाख ६५ हजारमा ठेक्का सम्झौता गरेर एच.सि.बि.जि.सी.एस. कम्पनीले काम गरेपनि अझै सम्पन्न गर्न नसकेको हो ।
२०८२ भदौ १५ मा काम नसकिएपछि पहिलो पटक २०८३ असार मसान्तसम्म म्याद थपिएकोमा उक्त समयमा समेत काम नसक्दा सरकारको खरिद संसोधनअर्न्तगत नै २०८३ असोज मसान्तसम्म म्याद थपिएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । सडक निर्माणको दुई वर्ष बित्नैलाग्दा समेत ८० प्रतिशत भौतिक प्रगति रहेको छ । ‘तत्कालका लागि १२ मिटर चौडाको दुई लेन सडकमा नाली निर्माण, टेवा पर्खाल लगाउने र कल्भर्ट बनाउने र सबबेस बनाउने काम सकिएको छ, निर्माण व्यवसायीले विभिन्न समस्या देखाउँदै काम गर्न ढिलाइ गरेको छ, अब बेस र कालोपत्रको काम मात्रै बाँकी छ’ इञ्जिनियर लामिछानेले भन्नुभयो, ‘निरन्तरको ताकेता भए पनि महँगी लगायतका कारण निर्माण व्यवसायीले काममा ढिलाइ गरेको हो, वर्खामा कालोपत्र हुँदैन, असोजसम्म कालोपत्र सक्ला ।’
लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–१ बोङेचौरको घुम्तीदेखि वडा नं. ४ उपल्लाचौरको जाल्पाचोकसम्मको सडक सडक डिभिजनअन्तर्गत ठेक्काको काम भइरहेको हो । दुई लेन सडक कालोपत्र भएपछि बागलुङ बजारक्षेत्रको मुहार फेरिने विश्वास गरिएको छ । अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्र गरिने तयारी छ । अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्र गर्दा लामो समय टिकाउ हुने र बर्सेनि सडक मर्मत र खाडल पुर्नुपर्ने झन्झटबाट केही हदसम्म मुक्ति मिल्ने लामिछानेको भनाइ छ ।
निर्माण कम्पनी एच.सि.बि.जि.सी.एस.का प्रतिनिधि सुरेश श्रेष्ठले बिटुमिनको अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्विले कालोपत्रको काम गर्न नसकिएको बताउनुभयो । सडक संरचनाको सबै काम सकिएकोले थपिएको समयमा पर्याप्त मजदुर र उपकरण प्रयोग गरेर कालोपत्रको काम सम्पन्न हुने श्रेष्ठले बतानुभयो । सडक मापदण्डमा परेका घरटहरा, जग्गा जमिन र विभिन्न संरचनाका कारण यहाँ लामो समयदेखि स्तरोन्नतिको काम रोकिएको थियो ।
लोकमार्ग विस्तार गर्दा घरघडेरी क्षति हुँदा उठिबास हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले संघर्ष समिति नै बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक विस्तार र कालोपत्रको काम हुन सकेको थिएन । सर्वोच्चले बाङेचौरदेखि उपल्लाचौरको बुर्तिबाङ चोकसम्म १५ मिटर बाटो कायम गरिदिएपछि स्तरोन्नतिको काम अघि बढेको थियो । सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा असहज भइरहेको छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा