काठमाडौं । विश्वका विभिन्न भू-भाग अहिले जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी संकटसँग जुधिरहेका छन् । एकातिर युरोपभरी इतिहासकै भीषण गर्मी र सुक्खाले जनजीवन अस्तव्यस्त बनाएको छ भने अर्कोतिर एसियाली देशहरूमा लगातारको भारी वर्षा, बाढी, पहिरो र सामुद्रिक आँधीले ठूलो जनधनको क्षति पुर्याएको छ । जापानको राजधानी टोकियो बाहिरका क्षेत्रहरूमा केही दिनअघि कीर्तिमानी वर्षा भयो । चिबा जिल्लाका केही स्थानमा अगस्ट महिनाभरि पर्ने औसत वर्षाभन्दा तीन गुणा बढी पानी आधा दिनमै खसेको हो । भीषण वर्षा र बाढीका कारण कम्तीमा आठ जनाको ज्यान गएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार मृत्यु हुनेहरूमा धेरैजसो सडकमा डुबेका गाडीभित्रै थुनिएका चालक तथा यात्रीहरू रहेका छन् । बाढीले एक लाखभन्दा बढी बासिन्दालाई सुरक्षित ठाउँमा सर्न आपतकालीन आदेश दिइएको थियो । बाढीले राजमार्ग र रेल सेवाहरू ठप्प भए । यसका साथै टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र परे ।
संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानल (आइपिसिसी) का अनुसार कोइला, खनिज तेल र ग्यास जस्ता इन्धनको अत्यधिक प्रयोगले पृथ्वीको वायुमण्डल तीव्र रूपमा तातिरहेको छ । यसैको दुष्परिणामस्वरूप एकातिर भयानक खडेरी र डढेलो लागिरहेको छ भने अर्कोतिर मौसमी सन्तुलन बिग्रेर भीषण बाढी र टाइफुनहरू आइरहेका छन् । वैज्ञानिकहरूका अनुसार पृथ्वी तातिँदै जाँदा यस्ता मौसमी विपत्तिहरू भविष्यमा अझ बारम्बार र अझ विनाशकारी हुँदै जानेछन् ।
दक्षिण र पूर्वी एसियामा बाढी, पहिरो र सामुद्रिक आँधीको विनाश
एसियाली देशहरूमा भने मनसुनी वर्षाले विनाशकारी रूप लिएको छ । अफगानिस्तानको दुर बाबा क्षेत्रमा लगातार १० दिनसम्म परेको वर्षाले माटो र ढुंगाका घरहरू भत्काउँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने सयौँ बेपत्ता छन् । बाढीले खेतीयोग्य जमिन र सडकहरू पूर्णरूपमा बगाएको छ । बंगलादेशको चट्टोग्राममा २४ घण्टामै ४१२.३ मिमि रेकर्डतोड वर्षा भएपछि हजारौँ परिवार विस्थापित भएका छन् । मानिसहरू आफ्ना बालबच्चालाई छातीसम्म आउने पानीमा बोकेर सुरक्षित ठाउँमा पुगेका छन् । घरभित्रका सबै सामान, कपडा र खाद्यान्न नष्ट भएपछि बाढीपीडितहरू त्रिपालमुनि सहायताको भरमा बसिरहेका छन् । अस्वस्थ वातावरणका कारण बालबालिकामा रोगको संक्रमण फैलने खतरा बढेको छ ।
चीनको चोङकिङ सहरमा भीषण पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ भने ५० जना अझै बेपत्ता छन् । यसैसाता चीनको पूर्वी क्षेत्रमा शक्तिशाली टाइफुन ‘डल्फिन’ आँधी प्रवेश गरेपछि १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । आँधीका कारण यातायात सेवा प्रभावित भयो । सांघाईमा मात्रै करिब एक हजार ४०० उडान रद्द गरिएका थिए । यो समस्या नेपाल र भारतमा पनि देखिने गरेको छ । गत नेपालमा रहेक वर्ष बाढी–पहिरोमा परी दर्जनौँको ज्यान जाने गरेको छ ।
युरोपमा अभूतपूर्व गर्मी र सुक्खा लहर
युरोपमा हाल तातो हावा (लु) चलिरहेको छ । यसबाट करिब ३० करोड मानिस अर्थात् युरोपको आधाभन्दा बढी जनसंख्या प्रत्यक्ष रूपमा प्रभावित भएको समाचारमा उल्लेख छ । वैज्ञानिकहरूका अनुसार युरोप महाद्वीप विश्वका अन्य भागभन्दा दोब्बर छिटो तातिरहेको छ । फ्रान्स, इटाली र स्पेनका करिब नौ करोड २० लाख मानिस ३५ डिग्री सेल्सियसभन्दा बढीको तातोमा पसिना बगाउन बाध्य छन् । युरोपका धेरैजसो घरमा एयर–कन्डिसनर नहुँदा सर्वसाधारणलाई झन् सास्ती भएको छ ।
सुक्खा र गर्मीका कारण नदीहरूमा पानीको सतह इतिहासकै तल्लो बिन्दुमा झरेको छ । रोमानियाको ड्यान्युब नदीमा पानी घटेपछि चेर्नाभोदा आणविक प्लान्टको दोस्रो रिएक्टर बन्द गर्नुपरेको छ भने हंगेरी र स्लोभेनियाले पनि आफ्ना आणविक संयन्त्रहरू कम क्षमतामा चलाएका छन् । इटालीको रोमस्थित टाइबर नदी सुकेर प्राचीन ‘नेरोज ब्रिज’का अवशेषहरू बाहिर देखिएका छन् । यसैगरी, फ्रान्स र स्पेनमा भीषण खडेरीका कारण लागेको डढेलोले हजारौँ हेक्टर जङ्गल खरानी बनाएको छ ।
बेलायतमा इतिहासकै तातो दिन र आपत्कालीन जल संकट
बेलायतमा तापक्रम ३८.१ डिग्री सेल्सियससम्म पुगेपछि यो वर्षकै सबैभन्दा तातो दिन दर्ता भएको छ । मौसमविद्हरूले सन् २०२६ इतिहासकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना व्यक्त गरेका छन् । गर्मीको असर त्यहाँका अस्पतालहरूमा प्रत्यक्ष देखिएको छ । भवनहरूमा पर्याप्त चिस्यानको व्यवस्था नहुँदा काम गर्दागर्दै नर्सहरू ढलेका छन् भने बिरामीहरूलाई सास फेर्नसमेत धौ–धौ परेको समाचारमा उल्लेख छ । अस्पतालहरूमा ‘हिटस्ट्रोक’का बिरामीहरूको चाप अत्यधिक बढेको छ ।
देशका धेरै भागमा सुक्खा घोषणा गरिएको छ । जल आपूर्ति कम्पनीहरूले आगामी छ हप्ताभित्र पानी सकिन सक्ने चेतावनी दिँदै गाडी नधुन, बगैँचामा पानी नहाल्न र भान्सामा प्रयोग भएको पानी पुनः प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेका छन् ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा