‘नगे भव नागः’ अर्थात् पर्वतमा बस्ने सर्प विशेषलाई नाग भनिन्छ । ‘दहति अस्मात् विषाग्निना इति नागः’ भनेर पनि व्युत्पत्ति गरेको पाइन्छ । जसले विषरूप अग्निद्वारा दहन गराउँछ त्यसलाई नाग भनिन्छ । वायुमा रहने विषाक्त वस्तुलाई सर्पले ग्रहण गर्ने गर्दछन् । यसरी हेर्दा नाग शब्दले सर्पविशेषलाई बुझाउने गर्दछ जो अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, शेष आदि हुन् । हरेक श्रावण शुक्ल पञ्चमीको दिनलाई नागपञ्चमी भनिन्छ (धर्मसिन्धु, पृ.५०) । पञ्चमी तिथिका स्वामी नागदेवता हुन् (मुहूर्त्तचिन्तामणि, १।३) । यसैले प्रत्येक पञ्चमी तिथिमा नागको आराधना हुने गर्दछ । यसमध्ये पनि श्रावण शुक्लपक्षको पञ्चमी तिथि नागदेवताको पूजा गर्ने उत्तम दिन हो ।
यसैले नागको प्रतीक बनाई चन्दन, अक्षता, दुवो, दही, फूल आदि वस्तुले नाग देवताको पूजा गर्नुपर्ने विधान हेमाद्रिले चतुवर्गचिन्तामणिमा बताएका छन् :
‘श्रावणे मासि पञ्चम्यां शुक्लपक्षे नराधिप ।
द्वारस्योभयतो लेख्या गोमयेन विषेल्बणाः ।
पूजयेद्विधिवद्वीर दधिदूर्वाङ्कुरैः कुशैः ।
गन्धपुष्पोपहारैश्च ब्राह्मणानां च तर्पणैः ।
ये तस्यां पूजयन्तीह नागान् भक्तिपुरः सराः ।
न तेषां सर्पतो वीर भयं भवति कुत्रचित् ।।’ (निर्णयसिन्धु, पृ.७८) अर्थात् ढोकाको माथि दुवैतिर गाईको गोबरले नाग बनाई दही, दुवो, कुश, चन्दन, फूल आदि वस्तुले नागको पूजा गर्नुपर्दछ । जसले नागको भक्तिपूर्वक पूजा गर्छन् त्यस्ता व्यक्तिका घरमा सर्पको भय कहिल्यै हुँदैन भनेर बताइएको छ ।
सृष्टिकर्ता ब्रह्माजीका मानसपुत्र मरीचि र उनका पुत्र कश्यप हुन् । कश्यपका १३ पत्नीमध्ये अदितिबाट देवता, दितिबाट दैत्य, विनताबाट गरुडसमेतका पक्षिगण, कद्रुबाट नागसमेतका सर्पहरू जन्मिए । ती नागहरू आफ्नो जमानामा निकै समृद्ध र शक्तिसम्पन्न थिए । यिनका सन्ततिको विस्तार हुँदै गयो र यिनीहरू निकै अभिमानी पनि हुँदै गए ।
वैदिक परम्परामा नागलाई देवताको रूपमा सम्मान प्रदान गरिएको छ । सर्प र नागलाई नमस्कार गरिएको छ ः ‘नमोऽस्तु सर्पेभ्यो ये के च पृथिवीमनु । येऽअन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः ।। (यजुर्वेद, १३।६) याऽइषवो यातुधानानां ये वा वनस्पतीन् अनु । ये वा इत्वरेषु शेरते तेभ्यः सर्पेभ्यो नमः ।। (यजुर्वेद, १३।७) ये वामी रोचने दिवो ये वा सूर्यस्य रश्मिषु । येषामासु सदस्कृतं तेभ्यः सर्पेभ्यो नमः ।। (यजुर्वेद, १३।८)’
अर्थात् जो पृथिवीमा, अन्तरिक्षमा र स्वर्गमा छन्, त्यस्ता सर्पलाई नमस्कार छ । जो राक्षसका हतियार बनेका छन्, जो वनस्पतिमा बस्छन् र जो प्वालमा सुतिरहेका छन्, त्यस्ता सर्पलाई नमस्कार छ । जो स्वर्गमा चम्किएका छन्, जो सूर्यका किरणमा र जलमा बस्छन्, ती सबै सर्पलाई नमस्कार छ भनेर नागको प्रार्थना गरिएको छ । यसरी हेर्दा सनातन वैदिक परम्पराबाट नै नागको विशेष आराधना हुँदै आएको पाइन्छ ।
सृष्टिकर्ता ब्रह्माजीका मानसपुत्र मरीचि र उनका पुत्र कश्यप हुन् । कश्यपका १३ पत्नीमध्ये अदितिबाट देवता, दितिबाट दैत्य, विनताबाट गरुडसमेतका पक्षिगण, कद्रुबाट नागसमेतका सर्पहरू जन्मिए । ती नागहरू आफ्नो जमानामा निकै समृद्ध र शक्तिसम्पन्न थिए । यिनका सन्ततिको विस्तार हुँदै गयो र यिनीहरू निकै अभिमानी पनि हुँदै गए । मदोन्मत्त भएका नाग प्रजातिको उन्माद बढ्दै जाँदा यिनीहरूले मनुष्यलाई जथाभावी डस्न थाले । त्यसपछि मनुष्यहरूको अनुरोधमा ब्रह्माजीले सर्पहरूलाई शापित गरी नियन्त्रणमा लिनुभयो र वितल, सुतल, पातालमा सीमित हुने बनाउनुभयो भन्ने पौराणिक कथा पाइन्छ ।
श्रीमद्भागवतमा रसातलमुनि पातालमा नागलोक रहेको बताइएको छ । जहाँका नागराज वासुकी हुन् । यसैगरी शङ्ख, कुलिक, महाशङ्ख, श्वेत, धनञ्जय, धृतराष्ट्र, शङ्खचुड, कम्बल, अश्वतर सैदत्त आदि प्रमुख नाग रहेका छन् । कुनै नाग पाँच, कुनै सात, कुनै दश र कुनै हजार शिर रहेका छन् । ती नागको फँणामाथि रहेका चम्किला मणिले पाताललोकको अन्धकारलाई नष्ट गरेका छन् (श्रीमद्भागवत, ५।२४।३१) । कश्यपपत्नी कद्रुका गर्भबाट आठ नागको जन्म भएको पौराणिक कथा पनि पाइन्छ । अष्टनागमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख पर्दछन् ।
‘अनन्तो वासुकिः पद्मो महापद्ममश्च तक्षकः ।
‘कुलीरः कर्कटः शंख चाष्टौ नागाः प्रकीर्तिताः ।।’ (नागस्तोत्रम्, श्लो.३)
कसैले नागका पाँच कुल पनि बताएका छन् : अनन्त, वासुकी, तक्षक, कर्कोटक र पिंगल । अग्नि पुराणमा ८० प्रकारका नागकुल बताइएको छ । शेष नागको फँणामा यो धर्ती अडिएको छ भन्ने पौराणिक मान्यता रहेको छ । अनन्त पनि शेष नागकै अर्को नाम हो । भगवान् श्रीकृष्णले नागमध्ये ‘म अनन्त हुँ’ भनी गीतामा उपदेश गर्नुभएको छ–‘अनन्तश्चास्मि नागानां...’ (गीता, १०।२९) विशाल र लामो शरीर भएका नाग वासुकी हुन् । समुद्रमन्थनमा वासुकी नागको नेती बनाइएको थियो । तक्षक नागले नै राजा परीक्षितलाई डसेका थिए । सो पश्चात् जनमेजयले सर्पेष्टि यज्ञ गरेर नाग जातिको नाश गरेका थिए । कर्कोटक शिवगणमध्येका एक नाग हुन् । सर्पेष्टि यज्ञबाट पनि शिवजीको उपासनाले बाँच्न सफल भएको कर्कोटकको कथा पाइन्छ । भगवान् शिवजीको आराधना गरी साक्षात् कर्कटेश्वर भगवान्को प्रकट भएको हो । भविष्य पुराणमा नागका प्रकार, आकार अदि इतिवृत्त बताइएको छ ।
लक्ष्मण र बलरामलाई शेष नागकै अवतार मानिन्छ । सर्पकी आमा कद्रु र गरुडकी आमा विनताको विवादका क्रममा असत्यको पक्ष लिएकाले काद्रवेय सर्पहरूले विनतापुत्र गरुडसँग हार्नुपरेको थियो भन्ने पनि पौराणिक आख्यान पाइन्छ । यसैले गरुडसँग सर्प डराउने गर्दछन् । वासुकि नागलाई शिवको आभूषण वा जनै पनि मानिन्छ । विष्णुको शैय्या शेषनाग हुन् । यस्तै गणेशलाई पनि व्यालयज्ञोपवीती अर्थात् सर्पको माला लगाउने भनिन्छ । मार्कण्डेय पुराणका अनुसार कम्बल र अश्वतर नामक नागले सरस्वतीबाट गानविद्यामा निपूर्ण हुने वर प्राप्त गरेका थिए । आज पनि सर्पहरू सङ्गीतको सुमधुर लयमा नाच्ने गरेको र सङ्गीत मन पराएको देखिन्छ । गृह आरम्भ, गृहप्रवेश एवं रुद्राभिषेकमा नागको मुख र पुच्छारको विशेष विचार गर्नुपर्दछ । नाग भनेका राहु हुन् । मंसिर, पुस र माघ महिनामा राहुको मुख पूर्व दिशामा हुन्छ । फागुन, चैत र वैशाख महिनामा दक्षिण दिशामा, जेठ, असार र साउन महिनामा पश्चिम र भदौ, असोज र कार्तिक महिनामा राहुकाके मुख उत्तर दिशाममा हुन्छ ।
‘अलिधनुमकरे राहुरास्ते च पूर्वे सघटसफरमेषे दक्षिणे दिग्विभागे ।
वृषमिथुनकुलिरे पश्चिमस्थश्चकालो हरियुवतितुलायां उत्तरे सैँहिकेय ।।’ (महासंहिता)
मुखको विपरीत दिशामा पुच्छर रहन्छ । सम्मुख राहु शुभकार्यमा वर्जित रहन्छ । यसैगरी मन्दिर गृहारम्भ र जलाशय निर्माणमा सर्वप्रथम खाल्डो खन्दा नागको मुखपुच्छ विचार गर्नुपर्दछ । नागको पृष्ठ पछाडिको दिशामा सर्वप्रथम खाल्डो खन्नुपर्दछ (मुहूर्तचिन्तामणि,१२।१९) । अश्लेषा नक्षत्रका स्वामी सर्प वा नाग हुन् (मुहूर्तचिन्तामणि,२।१) । त्यस्तै स्थिरकरणमध्येका एक नाग करण हुन् । नागकेशर प्रसिद्ध औषधि हो । जसलाई नागवल्ली वा नागवेली पनि भनिन्छ । जसलाई पनि नागको रूपमा घरको ढोकामाथि राख्ने चलन रहेको छ । वरुणको अस्त्रलाई नागपाशको संज्ञा दिइएको छ । रामायणमा मेघनादसँग भएको अस्त्रलाई नागपाश भनिएको छ । यसै नागपाशद्वारा मेघनादले लक्ष्मणलाई वेहोस् बनाएका थिए । जसबाट बचाउन सुषेणको परामर्शमा सञ्जीवनी औषधि खोज्न गएका हनुमान्ले औषधि नचिनेर हिमालय पर्वत नै लिएर आएका कथा प्रसङ्ग पनि पाइन्छन् ।
भूमि खन्दा सर्पलाई कष्ट नपुगोस्, सर्पजन्य भय नरहोस् भनेर नागको पूजा गर्ने पनि चलन रहेको पाइन्छ । यसैगरी नाग भूमिमा रहने प्राणी भएकाले नागपञ्चमीका दिन नागको सम्मान स्वरूप खनजोत गरिँदैन । किनकि पुराणमा पृथ्वीलाई धारणगर्ने देवताका रूपमा नागलाई उपासना गरिएको छ । यस दिन नाग देवताको व्रत लिने पनि चलन रहेको छ ।
नाग पनि देवता हुन् । देवताको पूजा सर्वकल्याणकारी हुन्छ । नागपञ्चमीको दिन नागको पूजाले नागजन्य दोष निवारणका साथै सर्पभय रहँदैन भन्ने धार्मिक मान्यता रहेको छ । यही मान्यताका आधारमा विभिन्न नागमन्दिर एवं नागस्थानमा नागदेवताको विशेष पूजा आराधना हुने गर्दछ । पञ्चमी नागको प्रिय दिन हो । ज्योतिषशास्त्रअनुसार पनि पञ्चमी तिथिका स्वामी नागदेवता हुन् । शिवगणमा सर्पको स्थान विशेष रहेको छ । भगवान् शिवजीको गलामा नाग विराजमान हुनुहुन्छ । शिवजीको अङ्गभरि नै सर्प रहेका कथा पनि पाइन्छन् । शिवजीको प्रिय महिना श्रावण रहेको, शिवजीको प्रिय पात्र नाग भएको र पञ्चमी तिथि नागको प्रिय रहेको यसमा पनि शुक्ल पक्ष प्रशन्नदायी हुने भएकाले श्रावणको शुक्लपञ्चमीमा नागको उपासना गरेको पाइन्छ । श्रावण महिनामा बढी खनजोत गर्नुपर्दछ ।
यसरी भूमि खन्दा सर्पलाई कष्ट नपुगोस्, सर्पजन्य भय नरहोस् भनेर नागको पूजा गर्ने पनि चलन रहेको पाइन्छ । यसैगरी नाग भूमिमा रहने प्राणी भएकाले नागपञ्चमीका दिन नागको सम्मान स्वरूप खनजोत गरिँदैन । किनकि पुराणमा पृथ्वीलाई धारणगर्ने देवताका रूपमा नागलाई उपासना गरिएको छ । यसदिन नाग देवताको व्रत लिने पनि चलन रहेको छ । सर्पसूक्तको पाठले नागजन्य दोष निवारणका साथै सर्पभय पनि रहँदैन भन्ने फल बताइएको छ । हाम्रो वरिपरि रहेको प्राणवायुलाई सर्पहरूले जोगाउँछन् । सर्प नहुने हो भने हावा विषाक्त हुन्छ । सर्पले विषाक्त वातावरणलाई परिष्कृत गर्छन् । यसैले सर्प पूज्य हुने गर्दछन् । शिवजीले सर्पको माला लगाउनु, विष्णुभगवान्ले शैया बनाउनुले सर्प भक्षक नभई रक्षक हुन् भन्ने बुझ्न सकिन्छ । सांसारिक प्रपञ्चबाट मुक्त हुन चाहनेले शेषको शरणमा जानुपर्छ भन्ने कथन पनि छ । यसरी हेर्दा वैदिक सनातन परम्परादेखि नागप्रति पूज्य भाव प्रकट भएको पाइन्छ ।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या