काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अनपेक्षित आकर्षण बढेपछि आयोजकले बिदा दिनका लागि विशेष तयारी गरेको छ । दैनिक औसत २५ हजार र मेला अवधिभरमा डेढ लाख हाराहारी अवलोकनकर्ता आउने अपेक्षा गरेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले चौथो दिनसम्मको आगमनलाई मध्यनजर गर्दै शनिबार र आइतबारका लागि विशेष तयारी गरेको हो ।
अन्य दिनभन्दा बिदाका दिनमा बढी अवलोकनकर्ता आउने अनुमान गरेको नाइमाले मूलतः पार्किङका लागि विशेष व्यवस्था मिलाएको जनाएको छ । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले अवलोकनकर्ताको सहजताका लागि पार्किङस्थलको विशेष व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
एक्स्पोको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार एक्स्पो सुरु हुनुभन्दा अघिदेखि नै भृकुटीमण्डपको गेटमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको छ । आयोजकका अनुसार तेस्रो दिनसम्ममा एक लाख आठ हजारभन्दा बढीले मेला अवलोकन गरिसकेका छन् । उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारले अवलोकन गरेकोमा शनिबार ३१ हजारभन्दा बढीले अवलोकन गरेको बताइएको छ । मेलामा ५५ भन्दा बढी ब्राण्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । नयाँ-नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् ।
विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई भने जस्तो सवारीसाधन छान्न सहज भएको छ । दुईपांग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । अवलोकनकर्ताले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी, रिसेल भ्यालुलगायतका विषयमा चासो राखेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । कम्पनीहरूले मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् ।
मेलामा हालसम्म विभिन्न ब्राण्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका बताइएको छ । नाइमा मोबिलिटी संवादमा शनिबार ‘टेक्निकलः ब्याट्री रिसाइल एण्ड इथानोल ब्लेण्डिङ इन फ्युल’ विषयमा छलफल भएको थियो । उक्त संवादको सहजीकरण लक्ष्मी ग्रुपका महाप्रबन्धक दीपक थपलियाले गर्नुभएको थियो । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने आयोजकले जनाएको छ । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्राण्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।







ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य