काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै बस्नेतले परिवर्तनको खोजीमा रहेको जनमत कम्युनिष्ट दलहरूबाट टाढिँदै जानुको कारण पहिल्याएर त्यसलाई सही दिशामा फर्काउने विषयमा गम्भीर बहस गर्नुपर्ने बताउनुभयो ।
उहाँले जनताको असन्तुष्टि र आवश्यकतालाई सम्बोधन गर्ने विचार, राजनीतिक संस्कृति र प्रणालीका विषयमा बहस कमजोर हुँदै जाँदा समस्या समाधानको जिम्मेवारी व्यक्तिकेन्द्रित हुने प्रवृत्ति बढेको बताउनुभयो ।
“परिवर्तनको खोजीमा हिँडेको जनअभिमत हामीबाट धेरै पर पुग्ने स्थिति किन र कसरी निर्माण भयो ? त्यसलाई सही दिशामा कसरी फेरि फर्काउन सकिन्छ ? आजको हाम्रो बहसको सार यहीँनिर आउनुपर्दछ,” उहाँले भन्नुभयो ।
बस्नेतले विश्वभर नवउदारवादको प्रभाव बढ्दै गए पनि यसले सामाजिक तथा आर्थिक असमानता र विभेद न्यूनीकरण गर्न नसकेको दाबी गर्नुभयो । पछिल्ला सामाजिक तथा प्राकृतिक घटनाक्रमबाट सिर्जित समस्याको समाधान गर्नसमेत नवउदारवादी दृष्टिकोण असफल भएको उहाँको भनाइ थियो ।
विश्वको पछिल्लो परिस्थितिले मुलुकहरूलाई वामपन्थी वा दक्षिणपन्थी बाटोमध्ये कुनै एकतर्फ जाने परिस्थिति निर्माण गरिरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार जनताको असन्तुष्टि र आवश्यकतालाई नयाँ दिशा दिन वामपन्थी आन्दोलनले विचार, राजनीति, संस्कृति र राजनीतिक प्रणालीका विषयमा गम्भीर बहस अघि बढाउनुपर्छ ।
बस्नेतले कम्युनिष्ट पार्टीको सफलता र असफलताको श्रेय तथा जिम्मेवारी कुनै एक व्यक्तिलाई दिने वा व्यक्तिले नै लिने प्रवृत्तिले आन्दोलन कमजोर बनेको बताउनुभयो ।
“जब जनताको असन्तुष्टि र आवश्यकतालाई नयाँ दिशा दिने ढंगले विचार, राजनीति, संस्कृति र प्रणालीमा छलफल कम हुँदै जान्छ, समस्याको जिम्मेवारी एउटा व्यक्तिले लिने र कुनै एक व्यक्तिलाई दिने संस्कृति विकास हुन्छ । यसले समाजलाई सही बाटोमा डोहो¥याउँदैन,” उहाँले भन्नुभयो ।
विचारको औचित्यलाई बलियो बनाउन सामूहिक समीक्षा, बहस र राजनीतिक अभ्यासको मूल्याङ्कन आवश्यक रहेको उहाँको भनाइ थियो ।
बस्नेतले कम्युनिष्ट आन्दोलनलाई थप सशक्त रूपमा अघि बढाउन विगतमा राजनीतिक दलहरूले गरेका अभ्यासको गम्भीर मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।
२०६३ देखि २०८२ सालसम्म विभिन्न समयमा कम्युनिष्ट दलहरूले मुलुकको नेतृत्व गर्ने अवसर पाए पनि आम नागरिकलाई पर्याप्त रूपमा विश्वस्त बनाउन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
उहाँले विगतका उपलब्धि र कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै जनताको असन्तुष्टि, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने नयाँ विचार र राजनीतिक दिशाबारे बहस अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।







रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का