काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर समूहको तीन दिने राष्ट्रिय भेलामा भएको आलोचनाप्रति असन्तुष्टि जनाउँदै पछिल्लो तीन दिनमा आफ्नो जीवनभर नभएको निन्दा खेप्नुपरेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले इतर समूहको भेलामा आफूविरुद्ध उठाइएका प्रश्न तथा आलोचनाबारे सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट विस्तृत धारणा सार्वजनिक गर्ने घोषणा गर्नुभयो ।
उहाँले सञ्चारकर्मीलाई इतर समूहको भेलाका विषयमा आफूलाई तत्काल प्रश्न नगर्न आग्रह गर्दै भोलि सानेपाबाट सबै विषयमा स्पष्ट धारणा राख्ने बताउनुभयो ।
“चुनदेवी कांग्रेसका बारेमा पत्रकार साथीहरूले बाहिर नसोध्नुहोला, म भोलि सबैलाई सानेपा बोलाएर भन्नेछु । मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ । कसले कति निन्दा गरेको छ, त्यो जीवनमा नभएको निन्दा यी तीन दिनमै आयो,” थापाले भन्नुभयो ।
काठमाडौंमा सम्पन्न कांग्रेस संस्थापनइतर समूहको तीन दिने भेलामा अधिकांश नेताहरूले सभापति थापाको कार्यशैली तथा नेतृत्वको चर्को आलोचना गरेका थिए । भेलाले पार्टीको आगामी महाधिवेशनलगायत विषयमा विभिन्न निर्णयसमेत गरेको थियो ।
सभापति थापाले राजनीतिमा सफलताको मापदण्ड पद वा सत्ता प्राप्तिलाई मात्र मान्न नहुने बताउनुभयो ।
पार्टीलाई वास्तविक राष्ट्रिय शक्ति बनाउन उच्च नैतिक बल आवश्यक रहेको उल्लेख गर्दै उहाँले पार्टीका कार्यकर्ताले गरेको त्याग र योगदानको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
“सफलताको मानक कसले कति सत्ता पायो भन्ने मात्र होइन,” उहाँले भन्नुभयो ।
लेखक धर्म गौतमको राजनीतिक जीवनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले उच्च नैतिक बल राजनीतिक सफलताको महत्वपूर्ण आधार भएको बताउनुभयो ।
“धर्म गौतमको राजनीतिक जीवन यस अर्थमा सफल छ कि उहाँसँग उच्च नैतिक बल छ, जुन पदमा बस्नेहरूसँग नहुन सक्छ,” उहाँले भन्नुभयो ।
सभापति थापाले पार्टीलाई बलियो र प्रभावकारी राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न राजनीतिक नैतिकता, कार्यकर्ताको योगदानको सम्मान र संगठनप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।






एथरको मेगा उपहार योजना
‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र
केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद
न्यायपालिकाको स्वतन्त्रता संकटमा
रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो