झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनर्गठन नभई पुनर्जागरण आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार झापाको बिर्तामोडमा एमालेको ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमाले पुनर्गठनको विषय अहिले सान्दर्भिक नभएको बताउनुभयो । उहाँले पार्टी पुनर्गठनको कुरा सडकमा उठाइने विषय भएको टिप्पणी गर्नुभयो ।
इतिहास स्मरण गर्दै ओलीले एमालेमा विगतमा विभिन्न चरणमा पुनर्गठन भएको बताउनुभयो । पहिलोपटक २०१९ सालमा पार्टी पुनर्गठन भएको र २०२८ सालको पुनर्गठन आफूहरूले गरेको उहाँको दाबी थियो । तेस्रो पुनर्गठन २०७७/७८ सालमा आफ्नै नेतृत्वमा भएको उहाँले बताउनुभयो ।
“एमाले सिध्याउँछौँ, केपी ओली सिध्याउँछौँ भनिरहेको बेला, कार्यकर्ता भड्काउने, जनता भड्काउने बेलामा हामीले नेपालको कम्युनिस्ट पार्टीमा सबैभन्दा बहुमत भएको पार्टी बनायौँ,” ओलीले भन्नुभयो ।
२०७५ सालमा पार्टी एकतापछि एमाले झण्डै दुईतिहाइको अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले त्यसपछि पार्टीभित्रका केही ‘घुसपैठिया, ईर्ष्यालु र कुण्ठाग्रस्त प्रवृत्ति’ ले पार्टी विभाजन गराउने प्रयास गरेको आरोप लगाउनुभयो ।
उहाँले आफूलाई विगतमा पटक–पटक पार्टीबाट हटाउने प्रयास भएको दाबीसमेत गर्नुभयो । सीपी मैनाली र आरके मैनालीलगायतले षड्यन्त्र गरेको भन्दै २०२९ देखि २०३३ सालसम्म आफ्नो पार्टी सदस्यता नरहेको उहाँले स्मरण गर्नुभयो ।
“मलाई पार्टीबाट हटाउनुपर्छ भन्ने कुरा आजको होइन । सीपी मैनाली, आरके मैनालीहरूले षड्यन्त्र गर्दा २९ सालदेखि ३३ सालसम्म मेरो पार्टी सदस्यता थिएन । मलाई जेल हाल्दा, गोलघरमा बस्दा मेरो पार्टी सदस्यता थिएन । मैले फेरि ३३ सालमा सदस्यता जेलमै प्राप्त गरेँ,” ओलीले भन्नुभयो ।
जति षड्यन्त्र भए पनि आफूहरूले एमालेलाई पुनः मजबुत बनाएर अघि बढाएको उहाँले दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेमा नेपालको विविधता प्रतिबिम्बित भएको दाबी गर्नुभयो । जात, जाति, भाषा र भूगोल सबैलाई समेटेर पार्टी अघि बढिरहेको उहाँको भनाइ थियो ।
पार्टीमा युवा तथा पाका पुस्तादेखि नयाँ पुस्तासम्म सबै खालका मानिसको सहभागिता रहेको उल्लेख गर्दै उहाँले एमाले समावेशी संगठनका रूपमा विकास भएको बताउनुभयो ।
“हामीजस्ता तन्दुरुस्त जवानहरू पनि छन्,” ओलीले भन्नुभयो । उहाँको उक्त भनाइपछि कार्यक्रमस्थलमा हाँसोसमेत चलेको थियो ।
ओलीले एमालेकै नेतृत्वमा नेपालले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला मुख्यमन्त्री पाएको दाबी गर्नुभयो । पार्टीले समाजका विभिन्न वर्ग, समुदाय र क्षेत्रलाई नेतृत्वमा पुर्याउँदै आएको उहाँको भनाइ थियो ।
एमालेको संगठनलाई थप सुदृढ बनाउँदै पार्टी जागरण अभियानमार्फत कार्यकर्ता र जनताबीचको सम्बन्ध थप मजबुत बनाउने उहाँले बताउनुभयो ।






केएमसीमा साउन २४ गते ‘जब
ज्योति बैंकमा नेपालपे कार्ड सेवा
‘कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्’
एथरको मेगा उपहार योजना
‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र