काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्ने पार्टीभित्रको एक समूहप्रति व्यंग्य गर्दै उनीहरूलाई ‘कुना काप्चाका लामखुट्टे’ को संज्ञा दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले अध्यक्ष ओलीको पछिल्लो मन्तव्यपछि पार्टीभित्रको एक समूहले स्प्रे हानेपछि लामखुट्टे कुइँकुइँ गरेजस्तै प्रतिक्रिया जनाउन थालेको टिप्पणी गर्नुभएको हो ।
उहाँले एमालेभित्र दुई प्रकारका प्रवृत्ति रहेको उल्लेख गर्नुभएको छ । एकथरी नेता–कार्यकर्ता पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै जनताको पक्षमा इमानदारीपूर्वक खटिरहेको र अर्को सानो समूह गुटबन्दी, नेतृत्वको आलोचना तथा आन्तरिक विवादमा केन्द्रित रहेको उहाँको भनाइ छ ।
बस्नेतले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हिजो अध्यक्षज्यूको मन्तव्यपछि त्यो पंक्तिमा रहेका केही मित्रहरूलाई कुना काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गर्न थालेको सुनिँदैछ ।”
उहाँले अहिलेको आवश्यकता पार्टीभित्र गुट–उपगुट निर्माण गर्नु नभई एमालेलाई थप एकताबद्ध, सुदृढ र गतिशील बनाउनु रहेको बताउनुभएको छ ।
“कुरा काटेर होइन, जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढ्ने हो,” बस्नेतले भन्नुभएको छ ।
पार्टी कार्यालयको चौर र क्यान्टिनमा बसेर नेतृत्वको विरोध गर्दै ‘चियाको कपमा क्रान्ति’ गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उहाँले दाबी गर्नुभएको छ ।
बस्नेतले आन्तरिक विवाद र गुटबन्दीमा अल्झिनुभन्दा जनताको पक्षमा काम गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ । परिवर्तन र समृद्धिको अभियानलाई अघि बढाउन पार्टीभित्र एकता, अनुशासन र गतिशीलता आवश्यक रहेको उहाँको भनाइ छ ।






कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको