काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफूअनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताउनुभएको छ ।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले बीपी कोइरालाको समग्र राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्र उहाँको नाम प्रयोग गर्ने प्रवृत्ति कांग्रेसभित्र देखिएको बताउनुभयो ।
उहाँले पछिल्लो समय कांग्रेसका केही नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’ को प्रसङ्गमा बीपीलाई सम्झिने गरेको टिप्पणी गर्नुभयो । आफ्ना राजनीतिक निर्णय आफैँ गर्न नसकेर बीपीको नामको सहारा लिने प्रवृत्ति देखिएको उहाँको आरोप थियो ।
“पछिल्लो समयको हाम्रो परम्परा के रह्यो भने आफूलाई जहाँनिर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने,” थापाले भन्नुभयो ।
आफूलाई आवश्यक परेको विषयमा मात्र बीपीलाई उद्धृत गर्दा उहाँका वास्तविक विचार र राजनीतिक योगदानको अपव्याख्या हुने उहाँको भनाइ थियो ।
थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने बताउनुभयो । बीपीको आह्वानमा आफ्नो व्यक्तिगत जीवन र परिवार त्यागेर राजनीतिक आन्दोलनमा होमिएका पुरानो पुस्ताका अभियन्ताहरूका अनुभव, पुस्तक र अभिव्यक्तिले बीपीको वास्तविक विचार तथा राजनीतिक यात्रालाई बुझ्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
“बीपीलाई वा गणेशमानलाई कसैले यो घरभित्र कैद गर्न दिनुहुन्न । आज बीपीलाई मिसकोड हुँदै गर्दा, बीपीको अपव्याख्या हुँदै गर्दा बीपीको आह्वानमा आन्दोलनमा उत्रेकाहरू अगाडि आएर बुझाउनुपर्छ,” उहाँले भन्नुभयो ।
थापाले पछिल्लो समय ‘राष्ट्रिय मेलमिलाप’ को विषयमा मात्रै बीपी कोइरालालाई सम्झिने प्रवृत्ति बढेको बताउनुभयो । बीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै उहाँले लोकतन्त्र र सामाजिक न्यायप्रतिको उहाँको मूल प्रतिबद्धता भने निरन्तर रहेको बताउनुभयो ।
बीपीका आर्थिक विचारलाई समेत एउटै प्रसङ्गमा सीमित गर्न नहुने उहाँको धारणा थियो । उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगबारे बीपीले फरक–फरक समयमा व्यक्त गरेका धारणालाई अहिलेको विकास बहससँग जोडेर अध्ययन गर्न सकिने उहाँले बताउनुभयो ।
थापाले बीपीका विचारलाई वर्तमान समय र बदलिँदो प्रविधिको सन्दर्भमा पुनः अध्ययन गर्नुपर्ने उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नयाँ प्रविधिले सिर्जना गरेका अवसर र चुनौतीसँग समेत उहाँका विकाससम्बन्धी धारणालाई जोडेर बहस गर्न सकिने बताउनुभयो ।
बीपीको समग्र राजनीतिक दर्शन र जीवनलाई अध्ययन नगरी आफूलाई अनुकूल हुने एउटा प्रसङ्ग मात्र उद्धृत गर्दा उहाँको वास्तविक योगदान र विचारको अर्थ संकुचित हुने भन्दै थापाले नयाँ पुस्ताले बीपीलाई समग्रतामा बुझ्नुपर्नेमा जोड दिनुभयो ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :