काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले नेपालमा लगानी गर्न आफूहरू सधैँ उत्साही रहेको उल्लेख गर्दै लगानीमा मुख्य रूपमा दुईवटा समस्या औंल्याएको छ । चीनको ग्वाङ्झाउमा आयोजित ११औँ एसिया प्यासिफिक सम्मेलनमा उपस्थित सहभागीहरूले उक्त समस्या औंल्याएका हुन् । एसिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालीहरू नेपालमै केही गर्न चाहने तर लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रूपमा सताउने गरेको उनीहरूको भनाइ थियो ।
एनआरएनएका पूर्वअध्यक्ष एवं कोरियालाई कार्यक्षेत्र बनाई सफल व्यवसाय गरिरहनुभएका विनोद कुँवरले नेपालमा काम कम गर्ने अनि गफ बढी गर्ने प्रवृत्ति पनि समस्या भएको बताउनुभयो । नेपालमा कानुनी प्रक्रिया पनि झन्झटिलो र लामो समयसम्म अल्झनुपर्ने भएकाले लगानीकर्ता निरुत्साहित हुने गरेको उहाँको भनाइ थियो । कुँवरले भन्नुभयो, ‘मैले नेपाल र कोरिया दुवै देशमा बराबर लगानी गरिरहेको छु । नेपालमा गफ धेरै, काम कम हुन्छ भन्ने अनुभव भइरहेको छ, समयअनुसारको योजना बनाउनुपर्छ । समयमै काम हुनुपर्छ । नत्र त्यो कामले नतिजा दिँदैन । अनि समय पनि पर्याप्त दिनुपर्छ ।’ नेपालको कानुनले चारदेखि पाँच घण्टा कामै गर्न नदिने भन्दै त्यसले गर्दा नेपालमा लगानी गर्दा धेरै दुःख हुने गरेको उहाँले बताउनुभयो । एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले बाहिर रहेका हरेक नेपाली ‘मेरो देश कहिले बन्छ ?’ भनेर चिन्तन गरेर बसेको र ‘मैले नगरे कसले गर्छ ?’ भन्ने चिन्ता उनीहरूमा देखिएकाले नेपाल सरकारले त्यसलाई अवसरका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल नेपालीहरूले नै बनाउने हो । राम्रा र मीठा कुराले मात्र देश बन्ने भए उहिल्यै बन्थ्यो । हामी मीठा कुरा गर्न सिपालु छौं, अब नेपालीको सभ्यता बचाएर विकास गर्नुपर्ने छ । यही एउटा हामी सबैले संकल्प गर्नुपरेको छ । गैरआवासीय नेपालीको लगानीले मात्र समृद्ध हुँदैन तर उनीहरूबिना पनि हुँदैन, यो सत्य अब नेपाल सरकारले बुझेर सहज कानुनहरू बनाउनुपर्छ । यसका लागि पुनर्संरचना गर्ने कानुनी काममा ढिलाइ गर्न हुँदैन ।’ नेपालजस्तो लगानीको राम्रो ठाउँ अन्यत्र नभएको भन्दै उहाँले संसारको जुनसुकै देशमा पनि समस्या हुने तर त्यसलाई कसरी सम्बोधन गर्ने र लगानीको सुरक्षा गर्ने भन्ने हुने तर्क गर्नुभयो । कानुन देखाएर वा प्रहरी देखाएर, डराएर, धम्क्याएर नहुने भन्दै त्यसका लागि फकाएर र लगानीकर्तालाई सहजता गराएर देश विकास गर्न सकिने पनि महतोले सुझाव दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष रविन शेरचनले नेपालमा लगानीको विषयमा धेरै क्षेत्रहरू भएको, केही नयाँ पहिचान गर्नुपर्ने क्षेत्रहरू पनि भएकाले अब लगानी बढाउनुपर्ने बताउनुभयो भने कोरियामा रहनुभएका अनुसन्धानकर्ता देवीबहादुर बस्नेतले नेपालमा मेडिकल र प्रोटिन क्षेत्रमा नयाँ इनोभेसनको काम गर्ने अवसर रहेको बताउनुभयो । नेपालमा भएको वातावरणले पनि माइक्रोवेभमार्फत् प्रोटिनहरू बनाउन सकिने र त्यो चीन, कोरिया र भारतसहित विश्वभर निर्यात गर्न सकिने भएकाले त्यसको सम्भावना धेरै भएको उहाँले बताउनुभयो । बस्नेतले भन्नुभयो, ‘जेनेटिक आइसोलेसन गरेर पनि इनोभेसन्सको काम गर्न सकिन्छ, त्यसका लागि कानुन सरकारले सहज बनाउनुपर्छ अनि एनआरएनए नेपालीहरूका लागि ठूलो अवसर हुन सक्छ ।’
एनआरएनए चीनका पूर्वअध्यक्ष निर्मल शर्मा चौलागाईंले नेपाल र चीनबीच धेरै काम गर्न सकिने भए पनि पूर्वाधारले समस्या भइरहेको बताउनुभयो । आफूहरूले अहिले पनि वर्षमा छ महिनामात्र उत्तरी नाकाबाट नेपाल सामग्री सप्लाई गर्न सकेको र सरकारले पूर्वाधार समयमा नबनाउँदा उद्योगीहरूले लामो समयसम्म नाकामै सामान छोड्दा ठूलो नोक्सानमा परेको पनि उहाँले बताउनुभयो ।
एनआरएनए चीनकै पूर्वअध्यक्ष रोहित अग्रवालले कुनै पनि लगानीलाई नाफासँग जोड्न जरुरी हुने र त्यसका लागि कानुनी रूपमै ग्यारेन्टी हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईं कुनै बैंकको सेयर किन्नुहुन्छ भने त्यसको सेयर कति पुग्छ भन्ने अनुमान गरेरमात्र लगानी व्यवसायीले गर्छ, नाफा हुन्छ भने नाइजेरिया पनि लगानी गर्न तयार रहेका हामीहरू नेपाल आफ्नै देश हो, त्यसमा लगानी गर्न उत्साही छौँ ।’ चीनमा सरकार धेरै व्यावहारिक भएको र आर्थिक सुरक्षा भरपर्दो भएकाले विश्वभरबाट लगानी आएको भन्दै नेपालले पनि छिमेकीबाट यो कुरा सिक्नुपर्ने उहाँको सुझाव थियो ।
लगानीका क्षेत्रमा लामो समयदेखि अनुसन्धान गरिरहेका अरुणकुमार सुवेदीले नेपालको समस्या हरेक दिन खर्ब लगानी गर्ने लगानीकर्ताले नासु र सुब्बालाई दैनिक नमस्कार गर्नुपर्ने भएको बताउनुभयो । यत्रो लगानी गर्नेलाई के चाहिन्छ भनेर सरकारले सुविधा दिएर काम गराउनेभन्दा कसरी अड्काउने भनेर नासु र सुब्बाले कार्यालय धाउने पद्धति र कानुन कायम राखेसम्म एनआरएनएको लगानी नेपालमा आउन नसक्ने बताउनुभयो । अहिले विदेशमा रहेका ४० प्रतिशतले नेपालमा लगानी गर्न चाहेको अनुसन्धानमा देखिएको तर त्यहाँको राजनीतिक अस्थिरताले समस्या हुने गरेको उहाँले बताउनुभयो । नेपालको जिडिपीभन्दा तीन गुणा बढी बाहिर बसेका नेपालीहरूको आम्दानी भएकाले त्यसबाट नेपालले फाइदा उठाउनुपर्ने उहाँको भनाइ थियो ।
चीनका कार्यवाहक राजदूत रोशन खनालले लगानीको सम्भावना कहाँ के छ खोजी गरेमा राजदूतावासले सहयोग गर्ने बताउनुभयो । उहाँले चीनमा रहेर व्यवसायमा सफल भएका ६१ प्रतिशतले नेपाल फर्कने चाहना आफूसँग व्यक्त गरेको बताउनुभएको थियो ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :