धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई प्रदेशवासीले गर्व गर्न सक्ने स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने घोषणा गर्नुभएको छ ।
शुक्रबार मुख्यमन्त्री नियुक्त हुनुभएका भट्टले सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासहित शुक्रबार नै सेती प्रादेशिक अस्पतालको अनुगमन गर्नुभएको हो ।
अस्पतालको सेवा प्रवाह, व्यवस्थापन तथा भौतिक पूर्वाधारमा सुधार गरी नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री भट्टले अस्पतालको अवस्था बुझ्न हरेक १५ दिनमा आफैँ अनुगमन गर्ने बताउनुभयो ।
सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशका नागरिकका लागि प्रमुख स्वास्थ्य उपचार केन्द्रका रूपमा रहेको उल्लेख गर्दै उहाँले अस्पतालमा देखिएका जनशक्ति, उपकरण, पूर्वाधार तथा सेवा व्यवस्थापनसम्बन्धी समस्या समाधानलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो ।
अस्पताल सुधारका लागि आवश्यक योजना तथा कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै मुख्यमन्त्री भट्टले नियमित अनुगमनमार्फत समस्या पहिचान गरी तत्काल समाधान गर्ने नीति लिइने स्पष्ट पार्नुभयो ।
“सेती प्रादेशिक अस्पताललाई प्रदेशवासीले गर्व गर्न सक्ने स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम अघि बढाउँछौँ,” उहाँले भन्नुभयो ।
प्रदेश सरकारको प्रत्यक्ष निगरानी र नियमित अनुगमनले अस्पतालको सेवा प्रवाह, कर्मचारीको कार्यसम्पादन तथा बिरामीलाई उपलब्ध गराइने स्वास्थ्य सेवामा प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ ।
प्रदेशमै सर्वाधिक बिरामीको चाप रहने सेती प्रादेशिक अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रभावित हुँदै आएको छ । ५० शय्याको स्वीकृत दरबन्दी रहेको अस्पतालमा अस्पताल व्यवस्थापन समिति तथा विभिन्न कार्यक्रममार्फत चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गरी सेवा सञ्चालन हुँदै आएको छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीले प्रभावकारी रूपमा स्वास्थ्य सेवा पाउन कठिनाइ हुने गुनासो गर्दै आएका छन् । मुख्यमन्त्री भट्टले यस्ता समस्या समाधान गर्दै अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।






ज्योति बैंकमा नेपालपे कार्ड सेवा
‘कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्’
एथरको मेगा उपहार योजना
‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र
केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद