काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले आधारभूत वर्ग र समुदायबाट टाढिँदै गएको स्वीकार गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै महासचिव पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनमा एमालेले पार्टी सदस्य र उनीहरू वरपरको समुदायमा आधारित जनमतबाहेक व्यापक जनसमर्थन हासिल गर्न नसकेको बताउनुभयो ।
उहाँले वामपन्थी शक्तिहरू पूर्वाधार विकासमा बढी केन्द्रित हुँदा सामाजिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य तथा रोजगारीका मुद्दामा अपेक्षाकृत प्रभावकारी हुन नसकेको बताउनुभयो ।
“पार्टी सदस्य र उसको निकटको सदस्य आधारित जनमतबाहेक अन्य जनमत हामीले हासिल गर्न सकेनौँ । त्यसअर्थ अहिले हामी आधारभूत वर्ग र समुदायबाट पनि टुटेको अवस्थामा छौँ,” पोखरेलले भन्नुभयो ।
आधारभूत वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुनुका कारणबारे समीक्षा गर्नुपर्ने बताउँदै उहाँले पूर्वाधार विकाससँगै सामाजिक न्याय र नागरिकका आधारभूत आवश्यकतामा केन्द्रित हुन नसक्नु प्रमुख कारण भएको बताउनुभयो ।
महासचिव पोखरेलले नेपालको ठूलो श्रमशक्ति कृषिमा निर्भर रहे पनि कृषक परिवारका शिक्षित युवाहरू कृषि पेसामा फर्कन नचाहँदा शैक्षिक बेरोजगारी बढेको बताउनुभयो ।
उहाँका अनुसार कृषिमा आधारित परिवारका शिक्षित पुस्तालाई कृषि तथा उत्पादनमूलक क्षेत्रमा जोड्न नसक्दा उनीहरू रोजगारीको खोजीमा विदेश पलायन हुने र राज्यप्रति असन्तुष्ट बन्ने अवस्था सिर्जना भएको छ ।
“कृषिलाई पेसा मान्ने समुदायभित्रको लेखपढ गरेको पुस्ताले कृषिमा फर्कन मानेन । त्यो शैक्षिक बेरोजगारका रूपमा समाजमा उपस्थित भयो । आफूलाई शैक्षिक बेरोजगार बस्दाको असन्तुष्टि र विद्रोह वैदेशिक पलायन र राज्यविरुद्धको घृणामा बदलियो,” उहाँले भन्नुभयो ।
मुलुकको वर्तमान संकटको एउटा प्रमुख कारण शिक्षित पुस्तामा बढेको बेरोजगारी र त्यसबाट उत्पन्न असन्तुष्टि रहेको उहाँको विश्लेषण थियो ।
पोखरेलले पार्टीको समग्र पुनर्गठन आजको आवश्यकता भएको बताउनुभयो । वामपन्थी कार्यकर्तामा देखिएको निराशालाई उत्साह र गतिशीलतामा बदल्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले आगामी दिनमा वामपन्थी दलहरूले जनतासँगको सम्बन्धलाई थप बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
जनताको दैनिक जीवनसँग जोडिएका शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र उत्पादनका सवाललाई राजनीतिक प्राथमिकतामा राखेर अघि बढ्न सके मात्रै वामपन्थी आन्दोलनले पुनः जनविश्वास हासिल गर्न सक्ने उहाँको धारणा थियो ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :