काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाइमा अटो शो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताउनुभएको छ ।
आइतबार मेलाको अन्तिम दिन आयोजित पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले दर्शकको चापसँगै व्यावसायिक सहभागिता र सवारीसाधनको बुकिङसमेत उत्साहजनक रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार दिउँसो ३ बजेसम्म १ लाख ६५ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसकेका छन् । मेला अवधिभर यो संख्या १ लाख ७० हजारदेखि १ लाख ७५ हजारसम्म पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । गत संस्करणमा करिब १ लाख दर्शकले मेला अवलोकन गरेका थिए ।
“हालसम्म १ लाख ६५ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसक्नुभएको छ । हाम्रो प्रक्षेपणअनुसार यो सङ्ख्या १ लाख ७० देखि ७५ हजारको बीचमा पुग्ने देखिन्छ,” वैद्यले भन्नुभयो ।
यस वर्षको मेलामा ५५ वटा विभिन्न ब्रान्डका सवारीसाधन तथा अन्य अटोमोबाइल उत्पादन प्रदर्शनीमा राखिएका थिए । गत वर्ष ४२ वटा ब्रान्ड सहभागी भएकामा यसपटक प्रदर्शकको संख्या उल्लेख्य रूपमा बढेको हो ।
बुकिङ अपेक्षाभन्दा राम्रो
अध्यक्ष वैद्यले मेलामा सवारीसाधनको बुकिङ अपेक्षाभन्दा निकै राम्रो भएको बताउनुभयो । विभिन्न स्टलमा ग्राहकले सवारीसाधन बुकिङ गरेका कारण तत्कालै बिक्रीको यकिन तथ्यांक सार्वजनिक गर्न कठिन हुने उहाँको भनाइ छ ।
“गाडी बुकिङको अवस्था अपेक्षाभन्दा निकै राम्रो छ । अहिले नै आधिकारिक तथ्याङ्क दिन गाह्रो भए पनि आगामी एक–डेढ महिनासम्म आयातकर्ता र ब्रान्डहरूका लागि व्यवसाय विस्तार गर्न यसले ठूलो आधार तयार गरेको छ,” उहाँले भन्नुभयो ।
नाइमा अटो शोको उद्देश्यअनुसार पर्याप्त प्रचार–प्रसारसँगै सन्तोषजनक व्यापार भएको आयोजकको दाबी छ ।
कमर्सियल भेहिकलका लागि छुट्टै एक्स्पोको तयारी
प्रदर्शनी स्थलको अभावका कारण यसपटक सबै व्यावसायिक सवारीसाधन (कमर्सियल भेहिकल) ब्रान्डलाई समेट्न नसकिएको नाइमाले जनाएको छ ।
यस समस्यालाई सम्बोधन गर्न आगामी दिनमा कमर्सियल भेहिकलका लागि छुट्टै ‘एक्स्पो’ आयोजना गर्नेबारे सर्वेक्षण गरी योजना बनाइने अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।
पार्किङमा चुनौती, समग्र व्यवस्थापन मजबुत
मेलालाई व्यवस्थित बनाउन बैंकिङ, इन्स्योरेन्स, फुड स्टल तथा सुरक्षा व्यवस्थाको उचित प्रबन्ध गरिएको नाइमाले जनाएको छ । अत्यधिक दर्शकको उपस्थितिका कारण पार्किङ व्यवस्थापनमा केही चुनौती देखिए पनि समग्र व्यवस्थापन पक्ष मजबुत रहेको अध्यक्ष वैद्यको दाबी छ ।
त्यस्तै, ३–एस (सेल्स, स्पेयर्स पार्ट्स र सर्भिस) को अवधारणाअनुसार वितरकहरूको उपस्थिति र प्रतिनिधित्वले ग्राहकलाई सवारीसाधन खरिदसँगै बिक्रीपछिको सेवाबारे जानकारी लिनसमेत सहज भएको नाइमाले जनाएको छ ।
अध्यक्ष वैद्यले यस वर्षको अटो शोले नेपाली अटोमोबाइल बजारमा नयाँ सम्भावना र व्यवसाय विस्तारको आधार तयार गरेको बताउनुभयो ।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि