काठमाडौं । नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा तथा सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा तथा प्रतिभाहरूलाई नूर-गंगाप्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण गरिएको छ । काठमाडौंमा आयोजित समारोहकाबीच पुरस्कार वितरण गरिएको हो । समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भाषा, साहित्य, कला र संस्कृति राष्ट्रको पहिचान तथा सामूहिक स्मृतिका आधार भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धन राज्य, समाज र प्रत्येक पुस्ताको साझा दायित्व भएको उल्लेख गर्नुभयो । ‘राष्ट्र केवल भूगोलले बन्दैन, राष्ट्र आफ्नो भाषा, संस्कृति, इतिहास, साहित्य र सामूहिक स्मृतिले बन्छ’, सभामुख अर्यालले भन्नुभयो ।
सभामुख अर्यालले प्रविधि, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी सञ्चारको तीव्र विस्तारका बीच आफ्नो मौलिकता र सांस्कृतिक पहिचान जोगाउनु आजको प्रमुख चुनौती भएको उल्लेख गर्नुभयो । विश्वका भाषा र साहित्यसँग परिचित हुँदै गर्दा आफ्नै मातृभाषा, लोककला, परम्परा र साहित्यप्रतिको सम्बन्ध अझ बलियो बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गुठीका संरक्षक अमिर प्रताप जंगबहादुर राणाले नूर-गंगाप्रतिभा पुरस्कार गुठी केवल पुरस्कार वितरण गर्ने संस्था नभई संस्कार, सिर्जना र सामाजिक उत्तरदायित्वलाई पुस्तान्तरण गर्ने अभियान भएको बताउनुभयो । गुठीका अध्यक्ष प्राडा.गोविन्द नेपालले नूर–गंगाप्रतिभा पुरस्कारले नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा र सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्याउने प्रतिभाहरूलाई निरन्तर सम्मान गर्दै आएको उल्लेख गर्दै यस अभियानलाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विदुषी राणाले स्वर्गीय सासू–ससुरा नूर र गंगाको स्मरण गर्दै मानवीय मूल्य र समाजप्रतिको उत्तरदायित्व नै नूर-गंगा प्रतिभा पुरस्कार गुठीको मूल प्रेरणाको स्रोत रहेको बताउनुभयो । कार्यक्रममा नूर–गंगा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा एक लाख रुपैयाँको पुरस्कारबाट लमजुङका मुक्तिनाथ शर्मा न्यौपाने र स्याङ्जाका देवीप्रसाद वनवासीलाई जनही ५०/५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
त्यसैगरी नूर-गंगा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा एक लाख रुपैयाँको पुरस्कारबाट स्याङ्जाका क्षेत्रबहादुर गुरुङ र कास्कीका पूर्ण नेपालीलाई जनही ५०/५० हजार प्रदान गरिएको थियो ।
यस्तै, नूर-गंगा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट रूपन्देहीका वनमाली निराकारलाई ५० हजार रुपैयाँ तथा नूर-गंगा लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट नवलपरासीका पदमध्वज केसीलाई ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
नूर–गंगा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट ललितपुरकी आँचल श्रेष्ठलाई ३० हजार रुपैयाँ तथा नूर-गंगा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट नवलपुरका अर्जुन सापकोटालाई ३० हजार रुपैयाँ प्रदान गरिएको गुठीले जनाएको छ । सोही अवसरमा साहित्यकार रामबाबु नेपाल, कमलराज पौड्याल तथा प्राध्यापक सावित्री कक्षपतिलाई समेत सम्मान गरिएको थियो ।
पुरस्कार तथा सम्मानबाट सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेकोमा खुशी व्यक्त गरे । उनीहरूले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोकसाहित्यको क्षेत्रमा नयाँ पुस्तालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका थिए ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै