काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अवार्डको २३औँ संस्करणअन्तर्गत पिपल्स च्वाइस विधाका मनोनीत खेलाडी सार्वजनिक गरेको हो । मञ्चले २०५२ सालदेखि स्पोर्ट्स अवार्ड आयोजना गर्दै आएको छ ।
यस वर्ष पिपल्स च्वाइस अवार्डका लागि भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आर्ट्स (एमएमए) का रविन्द्र ढाँट मनोनीत हुनुभएको छ ।
मञ्चका सचिव अनिल मल्ल ठकुरीसहित पाँच सदस्यीय खेलाडी छनोट समितिले खेलाडीहरूको प्रदर्शन र उपलब्धिका आधारमा उहाँहरूको नाम छनोट गरेको हो ।
अन्तर्राष्ट्रिय मञ्चमा प्रभाव जमाएका पाँच खेलाडी
भलिबलकी मीना सुनार शक्तिशाली स्पाइकरका रूपमा उदाउँदै हुनुहुन्छ । उहाँले काभा महिला च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गर्नुभएको थियो भने काभा महिला क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबलाई तेस्रो स्थान दिलाउन महत्वपूर्ण योगदान गर्नुभएको थियो ।
फुटबलकी पूजा रानाले पनि अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्नुभएको छ । एसियन कप छनोटमा सहभागी रानाले विदेशी व्यावसायिक लिगमा समेत अनुभव बटुलिसक्नुभएको छ । उहाँले भुटानको ट्रान्सफर युनाइटेड तथा बंगलादेशका फरासगन्ज एफसी र नासरिन स्पोर्ट्स एकेडेमीबाट खेलिसक्नुभएको छ ।
करातेकी सानुमाया थिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सफलता हासिल गर्दै आउनुभएको छ । इजिप्टमा भएको विश्व कराते च्याम्पियनसिपमा एकल कातामा प्रतिस्पर्धा गर्नुभएकी थिङले २१औँ एसियन कराते च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा टिम कातामा स्वर्ण तथा एकल कातामा रजत पदक विजेता हुनुहुन्छ ।
क्रिकेटर शेर मल्लले छोटो समयमै उल्लेखनीय छाप छाड्नुभएको छ । आईसीसी टी–२० विश्वकपमा डेब्यु खेलमै पहिलो बलमा विकेट लिनुभएका मल्लले मलेसियामा भएको एसियन गेम्स क्वालिफायरमा हङकङविरुद्ध चार तथा मलेसियाविरुद्ध तीन विकेट लिनुभएको थियो ।
एमएमएका रविन्द्र ढाँट ‘बझाङका बाघ’का रूपमा परिचित हुनुहुन्छ । ‘रोड टु यूएफसी’को सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बन्नुभएका ढाँटले नेपाली एमएमएलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सम्भावना देखाउनुभएको छ ।
खल्तीसँग भोटिङ पार्टनर सम्झौता
यसैबीच नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानी सेवा प्रदायक खल्ती बाई आईएमईबीच पिपल्स च्वाइस अवार्डका लागि भोटिङ पार्टनरका रूपमा सम्झौता भएको छ ।
आइतबार भएको सम्झौतापत्रमा खल्ती बाई आईएमईकी मेनेजर पूजा धामी र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार पिपल्स च्वाइस अवार्डका लागि हुने मतदान खल्तीमार्फत गरिनेछ । खल्तीकी मेनेजर धामीले खेलाडीको सम्मानका लागि मञ्चले आयोजना गर्दै आएको अवार्डसँग पुनः सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
मञ्चका अध्यक्ष अधिकारी र महासचिव अञ्जन खड्काले स्पोर्ट्स अवार्डलाई थप उचाइमा पुर्याउने अभियानमा खल्ती परिवारसँगको निरन्तर सहकार्यका लागि आभार व्यक्त गर्नुभयो ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :