अन्तरविरोध र विग्रहलाई अन्त्य गर्ने सन्देश र आसयकासाथ नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन सकिए पनि भेलालाई सम्मेलनमा परिणत गरी महाधिवेशन तयारीका लागि प्राडा.शशांक कोइरालाको संयोजकत्व घोषणा गरिएको छ । राष्ट्रिय भेलाको अर्थ सामान्य जस्तो भएको हुनाले सम्मेलनमा नै परिणत गरिएको हुनसक्छ । सम्मेलनको उद्देश्य स्पष्ट देखिन्छ । विशेष महाधिवेशनको औचित्य पुष्टि हुने कुनै वैधानिक, राजनीतिक र परिमाणबाट समेत आधार नदेखिएको अवस्थामा सम्मेलनमार्फत १५औं महाधिवेशन नै समभदारीको मार्ग हो भन्ने बोध गराउने प्रयास सम्मेलनले गरेको देखिन्छ ।
धेरैलाई तुरुन्त कांग्रेसको भेला वा सम्मेलनबाट पार्टी फुट्ने आशंका गरेको अवस्था एकातिर र अर्कातिर कांग्रेस फुटिहालोस्, चोइटा परेर केही व्यक्ति हिँडिहालुन् र एक ढलो बनाएर कांग्रेसको उपयोग गर्नेजस्ता चिन्तन चेत सबैले विश्राम पाउने भएका छन् । तर, यो विश्राम कति दिन हो र कुन रूपमा अन्तिममा प्रकट हुने हो पहिले नै भन्नु हतार हुनेछ । विशेष महाधिवेशनको औचित्य निश्चय समाप्त भएको कुरा परिणामले नै प्रमाणित गरेको थियो ।
मूलरूपमा युवावयका उत्साहीहरूको हातमा नेतृत्व पुगे कांग्रेसप्रति सबभन्दा आरम्भ पुस्ताको आकर्षण हुने विश्वास धेरैमा थियो । अर्कोतिर पुरानो र आजका कांग्रेसका हरेककालखण्डमा निर्धक्क काम गरेका, पसिना बहाएका, योगदान गरेका तर केहीमात्रामा प्रतिफल पाएकाहरूलाई पन्छाउन सके आमनागरिकबाट स्यावासी पाउने भ्रम विशेष महाधिवेशन पक्षधरमा थियो । तर ०७९ सालको आमनिर्वाचनमा ५७ प्रत्यक्षमा र ३१ स्थान समानुपातिकमा प्राप्त स्थान सर्लक्क घटेर अठार प्रत्यक्ष र बीस समानुपातिकमा खुम्चिनु परेको कांग्रेसले लोकप्रिय मतमासमेत दश लाख कम पाएको निर्वाचन परिणामलाई विशेष महाधिवेशन पक्षधरहरूले जति गौरवान्वित गर्न खोजे पनि त्यो परिहासको विषय भएको छ । पुरानालाई हटाउने तर नयाँलाई आकर्षण गर्न असमर्थ राजनीतिक दलको कुनै भविष्य हुँदैन । यस सत्यलाई आँखा चिम्लेर विशेष महाधिवेशनलाई जुन रूपमा पुष्टि गर्न खोजे पनि सम्भव लाग्दैन ।
गत साल भदौको त्यो कहाली लाग्दो र अमानवीय दुर्घटनबाट भाग्यले नै जोगिएका पूर्वप्रधानमन्त्री र तत्कालीन सभापति शेरबहादुर देउवाको प्रभाव घटेको धेरैको मूल्यांकन थियो । उनी सपरिवार विदेशमा करिब ६ महिनासम्म अर्द्धभूमिगत जस्तो अवस्थामा रहँदा उनका विरुद्ध रेडकर्नर नोटिसका प्रयास भएको नसुनिएको होइन । तर देउवा ६ महिना नपुग्दै शानदार स्वागत पाउने गरी स्वदेश फर्किए, उनी आउनुभन्दा पहिले नै नेपाली कांग्रेसको वैधताबारे पूर्वनिर्णयमाथि पुनरावलोकनको निस्सा अदालतले दियो, राष्ट्रिय भेलाका सन्दर्भमा सायद यही निस्सा प्राप्तिका कारण उनको नेमप्लेट कांग्रेसको केन्द्रीय सभापतिकै रूपमा बन्यो र अन्ततः भेला राष्ट्रिय सम्मेलनमा परिणत भयो ।
यसले हिजो विशेष महाधिवेशनका पक्षमा जोड्दार वकालत गर्नेहरूका लागि वा कांग्रेस विभाजनमा पुग्यो भन्ने सबैका लागि एकप्रकारले जवाफ मिलेको देखिन्छ । तर राष्ट्रिय सम्मेलनको वैधता पनि प्रश्नभित्रै रहेको देखिन्छ । यसले गरेको निर्णय र पारित प्रस्तावहरूको सान्दर्भिकता पर्याप्त रहे पनि यो सम्मेलनले गठन गरेको महाधिवेशन तयारीको प्रक्रिया कति वैध हुनसक्छ अन्योलमै देखिन्छ ।
यद्यपि पुनरवलोकनको कार्यपछि यदि अदालतले विशेष महाधिवेशनको वैधानिकता नभएको र पूर्वअवस्थामनै कांग्रेसको कार्य समिति रहेको फैसला दियो भने अहिलेको राष्ट्रिय सम्मेलनका निर्णयहरू सहयोगी हुनसक्लान् । अन्यथा पुनः अर्को भेला वा राष्ट्रिय सम्मेलन गरी पुरानै घरमा फर्कने कि नयाँ भवन निर्माण गर्ने अथवा शान्त आफ्नै घरमा बस्ने धेरैका लागि यो भन्दा चौथो विकल्प हुँदैन । राष्ट्रिय सम्मेलनले पाँच प्रस्तावमा के पारित गर्यो के कुरा पारित गर्नुपर्ने थियो होला त्यो त्यति आवश्यक विषय होइन । मूल रूपमा अहिले केही समयका लागि कांग्रेसमा समझदारीको बाटो भने खुलेको छ । मेरो गोरुको बाह्रै टक्काको दाबी र मागहरू रहेनन् भने कांग्रेस अहिले पनि एकठाउँमा किलो गाड्न समर्थ हुनसक्छ भन्ने स्वाभाविक अनुमान गर्न सकिने भएको छ ।
शेरबहादुर देउवा वास्तवमा नै गरुंगा नेता देखिए । उनी त्यति ठूलो अपमान, आक्रोश, पीडा सहेर र द्विविधाको अवस्थामा स्वदेश फर्केका भए पनि उनको स्वागत कुनै कृत्रिम लाग्दैनथ्यो । राष्ट्रिय राजनीतिको जटिलतालाई समन्वय गर्नसक्ने नेतृत्वको आवश्यकता छ । नेपाली कांग्रेसको सम्पन्न सम्मेलनले देउवालाई नै सभापतिका रूपमा स्वीकार गर्दै पन्धौं महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेको छ । अत्यन्त क्रूरतापूर्वक मरणासन्न अवस्थामा घाइते भएको र जीवनमृत्युको सन्धिविन्दुमा रहेको समयमा समेत स्वास्थ्य लाभको शुभेच्छा प्रकट गर्न बिर्सने विशेष महाधिवेशनबाट सभापति गगन थापाका तर्फबाट समेत केन्द्रीय समितिको बैठकमा देउवाको स्वदेशागमन र स्वास्थ्यको कामना गर्दै प्रस्ताव पारित हुनुले देउवाको महत्त्वपूर्ण योगदान हुनसक्ने संकेत दिएको छ । यद्यपि देउवाले समेत पार्टी एकताको सहमति र समझदारीलाई महत्त्व दिनुभएको देखिन्छ ।
चुनदेवीको बार्दलीबाट जस्तो आक्रोश पोखे पनि वक्तव्य र मन्तव्यमा भने देउवा निकै शालिन भएर प्रस्तुत हुनुभएको छ । राजनीतिक रूपले देउवाले राजनीतिक नेतृत्वको सपना देख्नु भएको छैन होला । यदि त्यस्तो सपना देख्नुभएको छ भने त्यो असान्दर्भिक र अनुचित सपनाबाहेक अरू केही हुने छैन । अब उहाँको भूमिका पहिलो विशंखलित नेपाली कांग्रेसलाई कमसेकम सहमतिमा ल्याउन प्रयास गर्ने, राष्ट्रिय राजनीतिमा विकसित अनेक अन्योललाई अन्त्य गर्न सक्रिय योगदान गर्ने र विगतमा केही हदसम्म बिग्रिएको छविलाई पूर्णरूपमा परिमार्जन गर्दै जीवनको उत्तरार्द्ध सुखद् बनाउने नै हुनुपर्छ ।
नेपाली कांग्रेसमा अहिले संगठनमा देखिएको दुई प्रमुख धारजस्तै गरी वैचारिक रूपमा पनि दुई धार स्पष्ट देखिन्छ । एउटा धार सनातन हिन्दु राष्ट्र र दिगो राजनीतिक संस्थाका रूपमा राजसंस्थाको पक्षमा खुलेर लागेको देखिन्छ भने अर्को धार धर्मनिरपेक्षता र गणतन्त्रप्रति प्रतिबद्ध रहेको छ । माधिवेशन पक्षधरमा पनि यी दुवै धार विद्यमान् छन् भने १४औं माधिवेशनका आधारमा १५औं महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय सम्मेलनभित्र पनि दुईधार छ । तर कांग्रेसको यस्तो धार निरन्तरको दृश्यचित्र हो । केहीछिन् विवाद देखिन्छ र केहीछिन् पछि राजनीतिको गौडो फुकाउने प्रयासमा ती सबै मुद्राहरू एकै पट्टी बसेको देखिन्छ । राष्ट्रिय सम्मेलन विशेष माधिवेशनको प्रत्युत्तर जति हो त्यति नै कांग्रेस समझदारीको आधार पनि हुनसक्छ । कमसेकम अहिलेको जटिलतालाई बुझेका दुवै पक्षले न्यायालयले मुद्दा किनारामा पुर्याउनु पहिले नै समाधान खोजे भने त्यो दिगो राजनीतिक निर्णय हुनेछ ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :