‘म्याडम, हाम्रो छोरो पहिले धेरै कुरा गर्थ्यो । अहिले त मोबाइल नदिएसम्म न खाना खान्छ, न हामीसँग बस्न चाहन्छ । के गर्ने होला ?’ विद्यालयमा अभिभावकसँग हुने भेटघाटमा यो प्रश्न आजकल निकै सामान्य सुनिन थालेको छ । केही दिनअघि पनि एकजना आमाले यस्तै चिन्ता सुनाउनुभयो । उहाँको अनुहारमा चिन्ता थियो, स्वरमा असहायपन थियो । उहाँको कुरा सकिएपछि मैले सहजै एउटा प्रश्न सोधेँ, ‘बेलुका परिवारका सबै सदस्य मोबाइल बन्द गरेर कति समय सँगै बस्नुहुन्छ ?’ उहाँ केही क्षण मौन बस्नुभयो । त्यसपछि हल्का मुस्कानसहित भन्नुभयो, ‘त्यो त कहिल्यै सोचेकै थिइनँ ।’ त्यो मौनता केवल उहाँको थिएन, त्यो आजको समाजको मौनता थियो । आज हामी आफ्ना बालबालिकालाई उत्कृष्ट शिक्षा, राम्रो विद्यालय, आधुनिक सुविधा र सुरक्षित भविष्य दिन चाहन्छौं ।
समाधान प्रविधिलाई दोष दिनु होइन, त्यसको सन्तुलित र जिम्मेवार प्रयोग सिकाउनु हो । विश्वभर भएका अनुसन्धानहरूले पनि अभिभावकको भूमिकालाई झन् महत्त्वपूर्ण बनाएका छन् । विश्व स्वास्थ्य संगठनले विशेषगरी साना बालबालिकाका लागि उमेर अनुसार सीमित स्क्रिन समय, पर्याप्त निद्रा, सक्रिय खेलकुद र प्रत्यक्ष मानवीय अन्तर्क्रियालाई स्वस्थ विकासका आधार मानेको छ ।
उनीहरू सफल बनून् भन्ने चाहना हरेक अभिभावकको हुन्छ तर यही प्रयासका बीच एउटा कुरा बिस्तारै हाम्रो हातबाट फुस्किरहेको छ गुणस्तरीय समय र पारिवारिक संवाद । नेपालको सामाजिक संरचना तीव्र रूपमा बदलिएको छ । संयुक्त परिवार घट्दै गएका छन् । दुवै अभिभावक रोजगारीमा हुनु अहिले धेरै परिवारको आवश्यकता बनेको छ । बिहानको हतार, कार्यालयको ब्यस्तता, आर्थिक जिम्मेवारी र साँझको थकानबीच बालबालिकासँग बित्ने समय सीमित हुँदै गएको छ । यस्तो अवस्थामा धेरै घरमा मोबाइल एउटा उपकरणमात्र होइन, बालबालिकालाई ब्यस्त राख्ने सजिलो उपाय बन्दैगएको छ । हामीमध्ये धेरैले अनायासै यस्ता वाक्य प्रयोग गरिरहेका हुन्छौं ‘होमवर्क गर, मोबाइल दिन्छु ।’ ‘खाना खाऊ, भिडियो हेर्न पाइन्छ ।’ ‘रोइरह्यौ भने मोबाइल खोसिदिन्छु ।’
यी वाक्य सामान्य लाग्न सक्छन्, तर बालबालिकाले यसबाट एउटा गहिरो सन्देश सिकिरहेका हुन्छन् । उनीहरूका लागि पढाइ कर्तव्य बन्छ, मोबाइल पुरस्कार बन्छ । बोर लाग्दा, दुःखी हुँदा वा रिस उठ्दा समाधान पनि स्क्रिनमै खोज्न थाल्छन् । बिस्तारै मोबाइल सूचना वा मनोरञ्जनको साधनमात्र रहँदैन, भावना व्यवस्थापन गर्ने माध्यम बन्न थाल्छ । यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ समस्या मोबाइल होइन । प्रविधि आजको आवश्यकता हो । डिजिटल सीपबिना भविष्यको संसार कल्पना गर्न सकिँदैन । वास्तविक प्रश्न भनेको मोबाइल कसरी प्रयोग भइरहेको छ, कसले मार्गदर्शन गरिरहेको छ र त्यसले बालबालिकाको दैनिक जीवनलाई कसरी प्रभावित गरिरहेको छ भन्ने हो ।
आजको चुनौती केवल बालबालिकाले मोबाइल धेरै चलाउनु होइन, उनीहरूको डिजिटल संसारमा अभिभावकको उपस्थिति कति छ भन्ने पनि हो । किनकि बालबालिकालाई सबैभन्दा धेरै प्रभाव पार्ने कुरा उपकरण होइन, उनीहरूसँग समय बिताउने, उनीहरूलाई सुन्ने र जीवनका साना-साना व्यवहारबाट उदाहरण प्रस्तुत गर्ने मानिस हुन् । शायद त्यसैले आजको सबैभन्दा महत्त्वपूर्ण प्रश्न यो होइन । ‘बच्चाले दिनमा कति घण्टा मोबाइल चलायो ?’ बरू यो हो । ‘हामीले आज आफ्ना छोराछोरीसँग मन खोलेर कति समय कुरा गर्यौँ ?’ यदि हामीले आजको बाल्यकाललाई केही दशकअघिको बाल्यकालसँग तुलना गर्ने हो भने एउटा ठूलो परिवर्तन स्पष्ट देखिन्छ । पहिले खाली समय खेल मैदान, साथीभाइ, परिवार र पुस्तकसँग बित्थ्यो ।
आज त्यही समयको ठूलो हिस्सा स्क्रिनले ओगटेको छ । यो परिवर्तन केवल नेपालमा मात्र होइन, विश्वभर देखिएको सामाजिक परिवर्तन हो । त्यसैले समाधान प्रविधिलाई दोष दिनु होइन, त्यसको सन्तुलित र जिम्मेवार प्रयोग सिकाउनु हो । विश्वभर भएका अनुसन्धानहरूले पनि अभिभावकको भूमिकालाई झन महत्त्वपूर्ण बनाएका छन् । विश्व स्वास्थ्य संगठनले विशेषगरी साना बालबालिकाका लागि उमेर अनुसार सीमित स्क्रिन समय, पर्याप्त निद्रा, सक्रिय खेलकुद र प्रत्यक्ष मानवीय अन्तर्क्रियालाई स्वस्थ विकासका आधार मानेको छ । जामा पेडिएट्रीमा प्रकाशित व्यवस्थित समीक्षाहरूले अत्यधिक वा अनुपयुक्त स्क्रिन प्रयोग र बालबालिकाको भाषा विकास, ध्यान केन्द्रित गर्ने क्षमता तथा सामाजिक अन्तर्क्रियाका केही पक्षबीच सम्बन्ध देखाएका छन् ।
अनुसन्धानकर्ताका अनुसार स्क्रिनमा कति समय बिताइयो भन्नेमात्र होइन, के हेरियो, कसको साथमा हेरियो र त्यसपछि कति संवाद भयो भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अमेरिकन एकेडेमी आफ पेडिएट्रिकले परिवारमा ‘स्क्रिन–फ्रि समय’ निर्धारण गर्न, अभिभावक स्वयंले जिम्मेवार डिजिटल व्यवहार देखाउन र बालबालिकासँग नियमित संवाद गर्न सुझाव दिएको छ । त्यसैगरी, युनेस्कोले शिक्षामा प्रविधिको उपयोगलाई स्वीकार गर्दै शिक्षक, अभिभावक र प्रत्यक्ष मानवीय अन्तरक्रियाको भूमिका कुनै पनि डिजिटल उपकरणले पूर्णरूपमा प्रतिस्थापन गर्न नसक्ने कुरामा जोड दिएको छ । नेपालमा युनिसेफले प्रकाशित गरेको नेपाल युएस डिजिटल जेनेरेसन प्रतिवेदनले पनि डिजिटल पहुँच बढ्दै जाँदा अभिभावकीय मार्गदर्शन, डिजिटल साक्षरता र सुरक्षित डिजिटल बानी विकास गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।
यी अध्ययनहरूले एउटै सन्देश दिन्छौं समस्या मोबाइलको उपस्थितिमा होइन, अभिभावकीय उपस्थितिको कमीमा छ । विद्यालयमा काम गर्ने क्रममा मैले अर्को यथार्थ पनि बारम्बार देखेकी छु । धेरै अभिभावक भन्छन्, ‘हामीसँग समय छैन’ तर त्यही घरमा बालबालिकासँग समय बिताउने जिम्मेवारी कहिलेकाहिँ ११-१२ वर्षका दाजु वा दिदीको काँधमा आइपुग्छ । एउटा कक्षा ७ को विद्यार्थीले एक दिन सहजै भन्यो, ‘मम्मी-ड्याडी अफिस जानुहुन्छ । म घर पुगेर भाइलाई खाना खुवाउँछु । ऊ रोयो भने मोबाइल दिन्छु, अनि शान्त हुन्छ ।’ यो कुनै एउटा परिवारको कथा होइन, बदलिँदो नेपाली समाजको यथार्थ हो । प्रश्न ठूलो दाजु-दिदीले जिम्मेवारी लिनु गलत हो भन्ने होइन ।
प्रश्न यो हो कि सानो बच्चालाई शान्त गराउने सबैभन्दा सहज माध्यम यदि मोबाइल बन्छ भने, उसले संसारलाई कोबाट सिकिरहेको छ ? परिवारबाट कि एल्गोरिदमबाट ? यही कारण आजको बहस ‘मोबाइल राम्रो कि नराम्रो ?’ भन्ने होइन । वास्तविक प्रश्न हो डिजिटल युगमा हामी अभिभावकको भूमिका कसरी पुनर्परिभाषित गर्ने ? किनकि बालबालिकाले प्रविधि प्रयोग गर्न सिक्न सक्छन्, तर त्यसको जिम्मेवार प्रयोग, मानवीय सम्बन्धको मूल्य र जीवनका संस्कार भने घर र विद्यालयको साझा अभ्यासबाट मात्र सिक्छन् । हामी प्रायः भन्छौं, ‘आजका बालबालिका पहिले जस्ता रहेनन्’ तर सायद अब हामीले अर्को प्रश्न पनि सोध्नुपर्छ ‘के आजको अभिभावकत्व पनि पहिले जस्तै छ ?’
प्रविधि तीव्र रूपमा बदलिएको छ, परिवारको संरचना बदलिएको छ, बालबालिकाको सिकाइको शैली बदलिएको छ । त्यसैले अभिभावकत्व पनि समयनुसार परिमार्जित हुन आवश्यक छ । आजको आवश्यकता मोबाइल खोस्नु होइन, डिजिटल युगको सचेत अभिभावक बन्नु हो । यसको सुरुवात कुनै ठूलो योजनाबाट होइन, साना अभ्यासबाट हुन्छ । दिनको केही समय परिवारसँग मोबाइलबिना बस्ने, सँगै खाना खाने, बालबालिकाको कुरा ध्यान दिएर सुन्ने, उनीहरूले के हेर्छन् भनेर चासो राख्ने, पुस्तक पढ्ने, खेल्ने वा सामान्य कुराकानी गर्ने जस्ता साना बानीले पनि गहिरो प्रभाव पार्छ । बालबालिकाले हाम्रो उपदेशभन्दा हाम्रो व्यवहारबाट धेरै सिक्छन् ।
आजको आवश्यकता बालबालिकालाई प्रविधिबाट टाढा राख्नु होइन, प्रविधिसँग जिम्मेवारीपूर्वक बाँच्न सिकाउनु हो । उनीहरूलाई डिजिटल सीपसँगै डिजिटल अनुशासन, आलोचनात्मक सोच, मानवीय संवेदना र सम्बन्धको मूल्य पनि सिकाउनुपर्छ । भविष्यमा सफल हुने व्यक्ति प्रविधि चलाउन जान्नेमात्र होइन, प्रविधिलाई विवेकपूर्ण रूपमा प्रयोग गर्नसक्ने व्यक्ति हुनेछ ।
यही सन्दर्भमा संस्कारको अर्थ पनि पुनः बुझ्न आवश्यक छ । संस्कार कुनै छुट्टै विषय होइन, न त एक दिनमा सिकाइने पाठ हो । यो घरभित्र दैनिक रूपमा दोहोरिने व्यवहार, बोली, सम्बन्ध, जिम्मेवारी, अनुशासन र सम्मानको निरन्तर अभ्यास हो । अभिभावकले घरमा जस्तो वातावरण सिर्जना गर्छन्, बालबालिकाले त्यही वातावरणलाई आफ्नो जीवनशैली बनाउँदै जान्छन् । विद्यालयले यस प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ । विद्यालयले ज्ञान, सीप, अनुशासन, सहकार्य, नेतृत्व र सामाजिक उत्तरदायित्वका अवसर प्रदान गर्छ तर ती मूल्यहरू जीवनको स्थायी बानी बन्नका लागि घरमा पनि त्यही अभ्यास आवश्यक हुन्छ ।
जब घर र विद्यालयले एउटै सन्देशलाई निरन्तर व्यवहारमा उतार्छन्, तबमात्र बालबालिकाको समग्र विकास सम्भव हुन्छ । त्यसैले अभिभावक र विद्यालयको सम्बन्ध केवल नतिजा बुझ्ने वा गुनासो गर्ने सम्बन्ध होइन, भविष्य निर्माण गर्ने साझेदारी हो । आजको आवश्यकता बालबालिकालाई प्रविधिबाट टाढा राख्नु होइन, प्रविधिसँग जिम्मेवारीपूर्वक बाँच्न सिकाउनु हो । उनीहरूलाई डिजिटल सीपसँगै डिजिटल अनुशासन, आलोचनात्मक सोच, मानवीय संवेदना र सम्बन्धको मूल्य पनि सिकाउनुपर्छ । भविष्यमा सफल हुने व्यक्ति प्रविधि चलाउन जान्नेमात्र होइन, प्रविधिलाई विवेकपूर्ण रूपमा प्रयोग गर्नसक्ने व्यक्ति हुनेछ ।
अन्ततः, हामी आफ्ना सन्तानलाई सबै सुविधा दिन सकौंला वा नसकौंला, तर उनीहरूलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार भनेको हाम्रो समय, हाम्रो विश्वास, हाम्रो संवाद र हाम्रो उदाहरण हो । महँगो मोबाइल, आधुनिक ग्याजेट वा अनगिन्ती सुविधाभन्दा यी कुरा धेरै मूल्यवा छन् । आज हामीले आफैंलाई एउटा अन्तिम प्रश्न सोध्ने बेला आएको छ । हामी आफ्ना छोराछोरीलाई डिजिटल रूपमा सक्षम बनाउने प्रयासमा छौं, तर के उनीहरूलाई मानवीय रूपमा पनि उत्तिकै सक्षम बनाइरहेका छौं ?
यदि यस प्रश्नको उत्तर खोज्ने प्रयास आजैबाट सुरु गर्यौं भने प्रविधि चुनौती होइन, अवसर बन्नसक्छ । किनभने अन्ततः बालबालिकाको भविष्य मोबाइलले होइन, परिवारले निर्माण गर्छ । र, त्यो निर्माण सुरु हुन्छ घरभित्र हुने साना व्यवहार, दैनिक संवाद र जीवनभर दोहोरिने संस्कारबाट । ‘संस्कार कुनै एपबाट डाउनलोड हुँदैन, त्यस घरमा देखिने व्यवहार, परिवारमा हुने संवाद, अभिभावकको समय र विद्यालयको सहकार्यबाट जीवनभर निर्माण हुँदैजान्छ ।’







इलाममा अदुवाको आकर्षक मूल्य, खेती
कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार
नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो