काठमाडाैं । सरकार आफ्ना मागप्रति गम्भीर नभएको आरोप लगाउँदै नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सोमबारदेखि देशभरका म्यानपावर कम्पनीको काम–कारोबार पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।
सङ्घका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत रोकिनेछ। यससँगै नयाँ श्रमिकको विज्ञापनदेखि अन्तर्वार्ता, रिक्रुटिङ, भिसा स्ट्याम्पिङ तथा श्रम स्वीकृतिसँग सम्बन्धित प्रक्रियामा समेत असर पर्ने भएको छ ।
व्यवसायीहरूले यसअघि नै आन्दोलनका विभिन्न चरणअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन र भिसा स्ट्याम्पिङ रोकिसकेका थिए। प्रक्रिया पूरा भइसकेका श्रमिकलाई भने उडानका लागि समय दिइएको थियो। उक्त समयसीमा आइतबार राति १२ बजे सकिएपछि सोमबारबाट सम्पूर्ण काम ठप्प पार्ने निर्णय भएको सङ्घले जनाएको छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार प्रक्रिया पूरा भएका श्रमिकलाई समयमै उडान गराउन एक साताअघि नै सबै म्यानपावर कम्पनीलाई सर्कुलर गरिएको थियो। सोहीअनुसार आइतबार राति १२ बजेसम्म उडान गरिएका श्रमिकबाहेक त्यसपछि नयाँ उडान प्रक्रिया अघि नबढाइने उहाँले बताउनुभयाे ।
सरकारसँग समस्या समाधानका लागि छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको व्यवसायीहरूको भनाइ छ। गत शुक्रबार श्रम मन्त्रालयको टोलीसँग प्रारम्भिक छलफल भए पनि आफूहरूका मागबारे ठोस सहमति हुन नसकेको सङ्घले जनाएको छ। मन्त्रिस्तरमा वार्ता हुन नसकेको भन्दै व्यवसायीहरूले सरकार समस्या समाधानप्रति गम्भीर नदेखिएको आरोप लगाएका छन्।
सङ्घको निर्णयअनुसार सोमबारदेखि काठमाडौँस्थित मुख्य कार्यालयसँगै देशभर रहेका शाखा कार्यालयसमेत बन्द रहनेछन्। नयाँ श्रमिकको विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिकको उडान तथा वैदेशिक रोजगारीसँग जोडिएका सरकारी र प्रशासनिक कामसमेत रोकिने जनाइएको छ।
सङ्घका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलनलाई व्यवसायीहरूको पेसागत अस्तित्व, अधिकार, सम्मान र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा उल्लेख गरिएको छ। माग सम्बोधन हुने स्पष्ट आधार नबनेसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने सङ्घको चेतावनी छ।
यद्यपि सङ्घले सरकारसँग वार्ताका लागि आफ्नो ढोका खुला रहेको जनाएको छ। तर ठोस निर्णय र कार्यान्वयनको आधार नआएसम्म काममा नफर्कने अडान व्यवसायीहरूको छ।
सङ्घले आफ्ना सदस्य संस्थालाई निर्णयविपरीत लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्नसमेत निर्देशन दिएको छ । आन्दोलनको निर्णय उल्लङ्घन गरी काम सञ्चालन गर्ने संस्थालाई सङ्घबाट प्राप्त हुने सहयोग तथा संरक्षणबाट वञ्चित गर्नुका साथै आगामी समीक्षा भेलामार्फत कारबाही अघि बढाउने चेतावनीसमेत दिइएको छ।
म्यानपावर व्यवसायीहरूको आन्दोलन लम्बिएमा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौँ श्रमिकको प्रक्रिया प्रभावित हुन सक्ने देखिएको छ। विशेषगरी नयाँ श्रम स्वीकृति, भिसा प्रक्रिया र उडान व्यवस्थापनमा यसको प्रत्यक्ष प्रभाव पर्नेछ ।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि