मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा स्कारपियो दुर्घटना हुँदा घाइते भएका चार जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई थप उपचारका लागि सैनिक अस्पताल छाउनी ल्याइएको हो ।
मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो जुरीखेतमा अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडीमा सवार दुई महिलासहित ६ जना घाइते भएका थिए । घाइते हुनेमा मुख्य न्यायाधीश डाँगी, गाडी चालक ३२ वर्षीय छुनिलाल चौधरी, उच्च अदालत वीरगञ्जका रजिस्ट्रार ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, उनकी दिदी ३१ वर्षीया रिता बडु र २५ वर्षीय छोरा रितेन्द्र बडु रहेका छन् ।
प्रहरीका अनुसार रजिस्ट्रार बडुकी श्रीमती लक्ष्मी बडुको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मुख्य न्यायाधीश डाँगी, रजिस्ट्रार बडुसहित अन्य घाइतेको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहितको टोली तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।
गम्भीर घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।
दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहेको भए पनि सडक यातायात भने पूर्ण रूपमा सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







बाँदरले दुःख दिएपछि भोजपुरका किसान
१० खेलाडीमा सीमित सिटीको शानदार
नरमायाको जीवनमा पीडाको पुनरावृत्ति :
हरितालिका पर्व : पशुपति क्षेत्रमा
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
एक सय ८४ हप्तादेखि निरन्तर