मुगु । मुगुको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल छायानाथ धामको वार्षिक धार्मिक यात्रा बिहीबारदेखि सुरु भएको छ। छायानाथ रारा नगरपालिका–२ चैन गाउँस्थित ऐतिहासिक छायानाथ मन्दिरबाट गाथ निकालेर पूजाआजा तथा बाजागाजासहित छायानाथ धामतर्फ लैजाँदै यात्रा सुरु गरिएको हो।
गाथ यात्राको शुभारम्भका क्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सरकारी सलामी दिएका थिए। गाथको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोलीसमेत यात्रासँगै छायानाथ धामतर्फ गएको छ।
छायानाथ रारा नगरपालिकाले गाथ यात्राको अवसरमा बिहीबार स्थानीय सार्वजनिक बिदासमेत दिएको छ। नगरपालिकाको १९औँ नगरसभाको निर्णय तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगरपालिकाले २०८३ भदौ ४ गते नगरपालिकाभित्रका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा स्थानीय बिदा दिएको हो।
छायानाथ रारा नगरपालिका–२ चैन गाउँस्थित छायानाथ मन्दिरबाट मुगुम कार्मारोङ गाउँपालिका–१ मा रहेको छायानाथ क्षेत्रतर्फ गाथ अर्थात् शिवको मूर्ति लैजाने धार्मिक तथा सांस्कृतिक परम्परा विगतदेखि निरन्तर चल्दै आएको छ।
गाथ यात्राका क्रममा छायानाथ मन्दिरमा रहेका विष्णु, शिव, पार्वती, गणेश तथा बुद्धका मूर्तिलाई धार्मिक विधिअनुसार छायानाथ क्षेत्रतर्फ लैजाने गरिन्छ। स्थानीयवासीले आ–आफ्नो घरबाट फूल, माला, अक्षता तथा ध्वजा लिएर पूजाआजा गर्दै बाजागाजासहित यात्रामा सहभागी हुने परम्परा रहेको छ।
४ हजार ८ सय मिटर उचाइमा छायानाथ
मुगुम कार्मारोङ गाउँपालिका–१ मा रहेको छायानाथ क्षेत्र समुद्री सतहबाट करिब ४ हजार ८ सय मिटरको उचाइमा अवस्थित छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको यस क्षेत्रमा पुग्न जिल्ला सदरमुकाम गमगढीबाट लामो तथा कठिन हिमाली पैदल यात्रा गर्नुपर्ने हुन्छ।
छायानाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा लिइन्छ। हिन्दू धार्मिक मान्यताअनुसार भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर भ्रमण गर्ने क्रममा उहाँका शरीरका विभिन्न अंग विभिन्न स्थानमा पतन भएका थिए। छायानाथ क्षेत्रमा सतीदेवीका अन्तिम बाँकी अंग पतन भएको विश्वासका आधारमा यस क्षेत्रलाई शक्तिपीठका रूपमा श्रद्धा गर्ने गरिन्छ।
बौद्ध धर्मावलम्बीले पनि छायानाथलाई पवित्र धार्मिक स्थलका रूपमा पूजा तथा श्रद्धा गर्ने गरेका छन्। धार्मिक तथा सांस्कृतिक विविधताको संगमका रूपमा रहेको यस क्षेत्रमा हरेक वर्ष कर्णालीका विभिन्न जिल्लासहित देशका अन्य स्थानबाट पनि श्रद्धालु पुग्ने गरेका छन्।
साउन शुक्ल अष्टमीदेखि सुरु भएको धार्मिक यात्रा जनैपूर्णिमासम्म चल्नेछ।
सडक पहुँच नहुँदा तीर्थयात्रीलाई सास्ती
छायानाथ धामसम्म सहज सडक तथा यातायात सुविधा नहुँदा तीर्थयात्रीले जोखिमपूर्ण हिमाली बाटो हुँदै पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। कठिन भौगोलिक अवस्थाका कारण वृद्धवृद्धा, बालबालिका तथा अन्य श्रद्धालुलाई यात्रा थप चुनौतीपूर्ण बन्ने गरेको छ।
स्थानीयवासीले छायानाथ क्षेत्रमा सडक पहुँचसँगै खानेपानी, आवास तथा तीर्थयात्रीका लागि आवश्यक अन्य पूर्वाधारको विकास गर्न सरकारसँग माग गर्दै आएका छन्। आवश्यक पूर्वाधार निर्माण गरी क्षेत्रको योजनाबद्ध विकास गर्न सके धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ।







न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार