धार्मिक स्वतन्त्रता र सनातन धर्म संरक्षणको व्यवस्था भएपछि धर्मनिरपेक्षता लेखिरहन आवश्यक थिएन, माओवादीसँग सहमतिका लागि मात्र राखिएको हो । कांग्रेसमा सनातन धर्मको पक्षमा ठूलो जनमत छ । हामीले सनातन धर्म नेपालको पहिचान हुनुपर्छ भनेका हौं, अरू धर्म मान्नेहरूको धार्मिक स्वतन्त्रता पनि सुनिश्चित हुन्छ । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा अकस्मात आएको भनिएको एउटा प्रस्तावले नयाँ विवाद सिर्जना गरेको छ । भेलामा ‘सनातन धर्म नेपालको पहिचान बनाउनुपर्ने’ प्रस्ताव पारित भएपछि समूहका नेताहरू नै विभाजित भएका हुन् । प्रस्ताव सर्वसम्मतिबाट पारित भएको दाबी गरिए पनि त्यसले कांग्रेसभित्रै असहमति र आशंकाको स्वर बलियो बनाएको छ । त्यसमाथि, लामो समयपछि भेलामा सहभागी भएका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको बताउनु र धर्मसम्बन्धी प्रस्ताव पारित हुनु संयोगमात्र हो कि कांग्रेसभित्र बढ्दै गएको नयाँ राजनीतिक बहसको संकेत भन्ने प्रश्नसमेत उठेको छ । कांग्रेस एकातिर नेतृत्व, महाधिवेशन र पार्टी सञ्चालनको विवादमा अल्झिएको छ भने अर्कोतिर धर्मको मुद्दाले संस्थापनइतर समूहभित्रै मतभेदको नयाँ रेखा कोर्ने जोखिम देखिएको छ । के कांग्रेसले धर्मनिरपेक्षताको वर्तमान संवैधानिक व्यवस्थामाथि पुनर्विचार गर्न खोजेको हो ? यो प्रस्तावको राजनीतिक अर्थ के हो ? यसले कांग्रेसभित्रको दूरी घटाउँछ कि झन् बढाउँछ ? र महाधिवेशन प्रक्रियामा संस्थापनइतर समूहको आगामी रणनीति के हुन्छ ? यिनै विषयमा केन्द्रित रहेर इतर समूहका कांग्रेस नेता तथा तत्कालीन प्रवक्ता डा.प्रकाशशरण महतसँग हिमालय टाइम्सका डिबी शर्माले गर्नुभएको संवाद :-
तपाईंहरू (कांग्रेस इतर समूह)को राष्ट्रिय भेलामा उठेका केही विषयलाई लिएर अहिले बहस र विवाद भइरहेका छन्, यसलाई कसरी लिनुभएको छ ?
भेलामा सबै विषय पास भएको छ । भेलाको कुरालाई लिएर राष्ट्रिय रूपमा त टिप्पणीहरू भइराख्छन् नि ।
तर, विवादकै कारण भेलामा पास भएका निर्णयहरू सार्वजनिक नै रोकियो रे नि त ?
सार्वजनिक रूपमा प्रेसलाई नै राखेर पारित भएको प्रस्तावलाई अर्को के सार्वजनिक गर्नुपर्छ ?
धर्मको विषयले विवाद त भयो नि होइन ?
सबैले आ-आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित हुनेछ भन्या छ, हो ? सँगसँगै हिन्दु, बौद्ध, किरातलगायत हजारौं वर्षदेखि चलिआएको धर्म-संस्कृतिको राज्यले संरक्षण गर्नेछ भन्या छ । संविधानमै लेख्या छ, सनातन धर्मलाई संरक्षण गर्ने दायित्व राज्यको हुनेछ भनेर ।
त्यसो भए कांग्रेकै अगुवाइमा बनेको संविधानमा भएको व्यवस्था किन फेर्नु परेको भन्या क्या ?
सनातनदेखि आएको धर्म संस्कृति चाहिँ हाम्रो पहिचान हो, त्यसकारण संरक्षण गर्नुपर्छ भनेको हो । त्यो सनातन धर्म राज्यको पहिचान हुनुपर्छ भनेको हो । अनि त्यो कुरा कहाँ फरक छ ?
त्यो भनेको अहिले संविधानमा भएको धर्म निरपेक्ष राष्ट्र परिवर्तन गरेर हिन्दु राष्ट्र बनाउने भन्न खोज्नुभएको हो ? मान्छेहरूले त त्यसरी नै बुझे नि त ?
त्यहाँ जे लेख्या छ त्यही बुझ्नुपर्यो नि ! सनातन धर्म राज्यको पहिचान हुनेछ । सनातन धर्म भनेको सनातनदेखि चलिआएको धर्म हो । त्यसमा हिन्दु, बौद्ध, किरात जति पनि हजारौं वर्षदेखि नेपालमा चलिआएको धर्म-संस्कृतिको रक्षा गर्ने, त्यो नेपालको पहिचान हुने भन्ने कुरा खराब हो ?
खराब होइन, त्यो त संविधानमै छ, तपाईंहरूले त्यसमा केही परिवर्तन गर्ने भन्नुभएको हो अहिले ?
त्यहाँ जे लेख्या छ त्यही बुझ्नुस् न । यो धर्मनिरपेक्षता चाहिँ आवश्यकता छैन भन्ने कुरा उहिलेदेखिको डिबेट हो नि ! त्यो त्यहाँ झुन्ड्याइदियो नि त । एकातिर सनातन धर्म राज्यले संरक्षण गर्ने भनेर संविधानमा लेखेको छ । अर्कोतिर धर्मनिरपेक्षता पनि लेखेको छ । अनि धार्मिक स्वतन्त्रता पनि लेख्यो । धार्मिक स्वतन्त्रता अनि सनातन धर्मलाई राज्यले संरक्षण गर्ने भइसकेपछि फेरि अर्को कुरा चाहिँ धर्मनिरपेक्ष भन्ने चाहिँ लेखिरहनुपर्ने आवश्यकता थिएन । त्यो बेलामा संविधान जारी गर्न सहमतिका लागि त्यो लेखियो । त्यसो हुनाले त्यही शब्दमा झुन्डिरहनुपर्छ भन्ने के छ ? अरू धर्म-संस्कृति मान्ने सबैले आ-आफ्नो धर्म मान्न पाउने अधिकार सुनिश्चित भइसकेपछि चाहियो के त ?
त्यो त अहिले पनि छ नि संविधानमा, परिवर्तन चाहिँ किन गर्नुपरेको क्या ?
हो, छ । त्यो छ । तर हामीले के भन्यौं भने सनातन धर्म हाम्रो राष्ट्रको पहिचान हो । हाम्रो देशमा मूल धर्म–संस्कृति नेपाललाई चिन्नुपर्दा के भन्छौं हामी ? बुद्ध भन्छौं, भगवान बुद्ध यहाँ जन्मेको, पशुपतिनाथ भन्छौं । त्यसपछि मुक्तिनाथ भन्छौं । जनकपुर धाम भन्छौं, किन भन्या ? त्यो चाहिँ हाम्रो पहिचान होइन ? पहिचान भनेर त भन्या नि ! अब त्यो र अरू धर्म मान्नेहरूले चाहिँ आफ्नो धर्म मान्न पाउँछन्, अधिकार हुन्छ, स्वतन्त्रता हुन्छ भन्या छ । त्यसकारण हामी यो पहिचानभन्दाखेरी कसैले यसमा विवाद गर्नुपर्ने केही कुरा भएन । सनातन धर्म नेपालको पहिचान हो ।
तपाईंले यस्तो भन्नुहुन्छ तर, भेलामै केही नेताहरूको चर्को असन्तुष्टि देखियो नि ?
भेलामा त्यो प्रस्ताव त सर्वसम्मतिबाट पास भएको छ । अब मान्छेहरूको त व्यक्तिगत आ-आफ्नो ओपिनीयन हुने महत्त्वपूर्ण कुरो भएन, के पास भयो त्यो महत्त्वपूर्ण कुरो हो । व्यक्तिको विचार हुनसक्छ त्यो त के ठूलो कुरो भयो र ? मूल कुरा त्यहाँबाट के पारित भयो त्यो महत्त्वपूर्ण कुरा हो ।
निवर्तमान सभापति (शेरबहादुर देउवा) झण्डै ६ महिनापछि स्वदेश फर्किनुभयो । फर्किनेवित्तकै उहाँले म हिन्दु हूँ भनेर भेलामै चेर्का स्वर गर्नुभयो । उहाँले त्यसो भन्नु र भेलामा धर्मको विषय पास हुनु स्याल कराउनु र बाख्रो हराउनु जस्तोमात्रै हो कि कुनै सम्बन्ध छ ?
उहाँ हिन्दु होइन र ? हिन्दुलाई हिन्दु भन्नुभयो के भयो त ? अहिले किन आयो भने यो राष्ट्रिय बहसको विषय हो । संविधानमा दोहोरो कुरो, आपसमै बाझिने कुरा किन लेखियो भन्ने चर्चामा थियो नि ! त्यस बेलामा पनि म संविधानसभामा मस्यौदा समितिको सदस्य थिएँ । हामीले यो आवश्यक छैन, धार्मिक स्वतन्त्रता र सनातन धर्मलाई राज्यले संरक्षण गर्ने भएपछि फेरि धर्मनिरपेक्ष लेख्ने आवश्यकता छैन भनेर भन्या थियौं । तर अब त्यहाँ माओवादीसँग सहमतिको लागि मात्रै संविधान बन्ने अवस्था भएको हुनाले त्यो लेखियो ।
विरोधाभासपूर्ण कुरा लेखिएको थियो । त्यो लेख्न आवश्यक थिएन । त्यसकारण यो विषयमा चाहिँ अन्डर करेन्ट त मान्छेले प्रश्न उठाइराख्या छ नि ! त्यसो हुनाले अहिले यो राष्ट्रिय भेला थियो । शेरबहादुरजी आउने भनेर यो पास गरेको पनि होइन । उहाँ पनि आउने ठ्याक्कै त्यहाँ अवसर मिल्यो । उहाँ पनि आउनुभयो, उहाँ पनि त्यसकै पक्षमा हुनुहुन्थ्यो र त्यही कुराहरू प्रस्ताव अगाडि बढ्यो र पास भयो ।
अब यसमा अन्य दलसँग छलफल हुन्छ, राष्ट्रिय बहस हुन्छ । अनि संविधान संशोधन गर्ने बेलामा अब संविधान संशोधन गर्नुपर्छ, समय आयो भनिएकै छ । त्यो बेला कहाँ के संशोधन गर्नुपर्छ त्यहाँ कसरी चाहिँ सहमति जुटाउने भन्ने कुरो भोलिका दिनमा हुँदै जान्छ ।
अब अन्य दलसँग छलफल गर्ने भन्नुभयो । तपाईंहरूकै समूहमा एकमत छैन । अनि कांग्रेसमा चाहिँ एकमत भएर जान्छ यो प्रस्ताव ?
कांग्रेसका अधिकांश मान्छेहरू यसको पक्षमा छन् । कांग्रेसको चार ताराको मेन कुरो पनि धार्मिक स्वतन्त्रता हो होइन ? धार्मिक स्वतन्त्रता हुने, सनातन धर्म चाहिँ राज्यको पहिचान हुने भन्ने कुरो राम्रो हो । ठूलो जनमत कांग्रेसमा पनि छ, अन्य दलमा पनि छ ।
अहिले कांग्रेसमा पार्टीको आन्तरिक विवाद पनि पेचिलो भइराख्या बेला यो विषयले त झन् त्यो दूरी बढाउने जस्तो देखिएन ?
यसले त झन् जोड्नसक्छ । कांग्रेसभित्र चाहिँ अन्डर करेन्ट भावना थियो । सनातन धर्म हाम्रो राज्यको पहिचान हो भन्दा पेचिलो किन हुने ?
त्यो त नेताहरूको असन्तुष्टिबाटै देखियो नि ?
कसलाई के अप्ठ्यारो पर्ने भयो ? चलिरहेको धर्म-संस्कृति हाम्रो पहिचान हो भन्दाखेरी कसलाई अप्ठ्यारो पर्यो ?
समूहको भेलामै देख्नु भएन र कसलाई अप्ठ्यारो पर्यो भनेर ?
किन आपत्ति हुनुपर्ने ? यो पहिचान होइन राम्रो ? भूगोलको कुरा गर्ने हो भने माउण्ट एभरेष्ट हाम्रो पहिचान होइन ? तराई, पहाड, हिमाल हाम्रो पहिचान होइन ? त्यस्तै धर्म संस्कृतिको कुरा के पहिचान हो त ? हाम्रो मौलिक पहिचान के हो त ? मौलिक पहिचान भनेको त यहीँ-यहीँको जे धर्म-संस्कृति छ त्यही पहिचान हुन्छ होला नि ? जस्तो सुदूरपश्चिममा चाहिँ गीतसंगीतको कुरा आउँदा देउडा हाम्रो पहिचान भन्छन् होइन ? अब त्यहाँ नाच्ने त बलिउड गीतमा नि नाच्छन् होला विवाहबारीमा । हलिउड गीतमा नि नाच्छन् होला, ब्रेक डान्स पनि गर्छन् होला, तर तपाईंको मौलिक लोकसंस्कृति के हो भन्यो भने के भन्छन् ? त्यो देउडा हो भन्छन् ? हो, अनि देशभरीको चाहिँ धर्म- संस्कृतिको कुरा आयो भने के भन्छन् त ?
अहिले त धर्मनिरपेक्ष राष्ट्र भन्छन् नि !
धर्म संस्कृतिको कुरा आयो भने त हिन्दु, बौद्ध, किरात, प्राकृत यही नै भन्ने होइन र ? अनि त्यो भन्दाखेरी झन् हामीले त वि सुड फिल गुड । यो हाम्रो पहिचान हो है भन्दा गौरव गर्नुपर्ने कुरा होइन ? त्यसकारण धर्म संस्कृतिको हकमा त यही पहिचान हो हाम्रो । यसमा त आमराष्ट्रिय सहमति बन्नुपर्छ । यसमा त बहस हुँदैजान्छ, दलहरू बीचमा कुरा आउँछ, अरू दलमा पनि बहस होला । त्यसपछि संविधानको संशोधनको कुरा आउँदा त्यहाँ विरोधाभास कुरा के छ, समय अनुकूल परिवर्तन गर्नुपर्ने के छ ? कुरा आउला नि ! पार्टीभित्रबाट बहस समुदायमा हुन्छ, अन्तरपार्टी हुन्छ, अनि एउटा कन्क्लुजनमा पुग्ने होइन र ?
पहिले त कांग्रेसमै एकमत बनाउनुपर्ने होला नि ! अरूसँग छलफल गर्न पनि होइन र ?
कांग्रेस एकमत हुन्छ । यसमा धेरै ठूलो बहुमत छ कांग्रेसको । सानेपातिर पनि धेरै ठूलो छ ।
अब अन्तिममा कांग्रेस (विशेष महाधिवेशन पक्ष)ले चाहिँ महाधिवेशनको प्रक्रिया अगाडि बढाइसक्यो, तपाईंहरूले भर्खरै भेला गर्नुभयो, अब महाधिवेशनमा भाग लिने कि नलिने त ?
अब अदालतले यो त्रुटिपूर्ण फैसला भयो भनेर पहिलाको भनेर पुनरावलोकन गर्दैछ र सुरुदेखि हेर्ने भन्या छ होइन ?सुरुदेखि नै हेर्ने भनिसकेपछि यो त पूरै गयो नि । अब अहिले आएर एक्लै आफूखुशी अधिवेशन गर्छु भन्न मिल्छ ? कानुनी रूपमा पनि मिल्दैन, यो राजनीतिक रूपमा पनि गर्नु भनेको यो पार्टीलाई चाहिँ हामी एउटा एकल पार्टी चाहँदैनौं, हामी चाहिँ सीमित पार्टीको मान्छेहरूलाई जोडेर अधिवेशन गर्छौं भन्ने कुरा भयो । त्यो गलत छ । राजनीतिक रूपमा, कानुनी रूपमा पनि यो गर्नु हुँदैन ।
तर, अदालतले पार्टीका गतिविधि नै रोक्नु त भनेको छैन नि ?
हामी त्यसमा भाग लिने कुरै भएन । देशभरिका जो आमकार्यकर्ता पंक्तिको दुविधामा के हो के हो भन्ने अन्यौलमा छन् । उहाँहरूलाई पनि त्यो नगर्न हामी भन्छौं ।
महाधिवेशन तोकिएकै समयमा भइहाल्यो भने के गर्नुहुन्छ ?
अब नमिल्ने कुरामा, गर्नै नहुने कुरामा भाग लिने कुरा हुन्छ त ? उहाँहरूले विभाजनमा लान खोज्दै हुनुहुन्छ । यसलाई रोक्न पनि भाग लिनु हुँदैन ।







भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज