काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । वनस्थलीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी, संगठन सुदृढीकरण तथा पार्टीका विभिन्न सांगठनिक विषयमा छलफल हुने भएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अनुमोदन गर्ने र केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने तयारी छ । उम्मेदवार छनोटको प्रक्रिया तथा विधिबारे कार्यकर्तालाई जानकारी गराउन देशव्यापी प्रशिक्षण र अभिमुखीकरण सञ्चालन गर्ने प्रस्तावसमेत बैठकमा पेस हुने जनाइएको छ ।
यस्तै, रास्वपाले लामो समयदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण तथा त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानुनी र राजनीतिक खाका तयार गर्ने विषयमा पनि छलफल हुने भएको छ ।
बैठकमा पार्टीका रिक्त तथा थप गर्नुपर्ने पदमा मनोनयन, सचिवालय सदस्य तथा विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँटलगायत संगठनात्मक विषयमा समेत निर्णय हुने अपेक्षा गरिएको छ ।
यसैगरी, पार्टीका धारणा, नीति तथा गतिविधि सार्वजनिक गर्ने उद्देश्यले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि बैठकमा छलफलका लागि पेस हुने भएको छ ।
रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तथा उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउने तयारी गरिरहेका बेला बस्न लागेको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत