स्याङ्जाको पुतलीबजार नगरपालिका-३, काफलडाँडामा स्थायी घर हुनुभएकी लक्ष्मी नेपाली, नेपाली लोकगीत क्षेत्रमा यतिबेला लोकप्रिय नाम बन्न पुगेको छ । उहाँले पोखरा हुँदै काठमाडौंलाई आफ्नो कर्मथलो बनाएर आफ्ना सिर्जना श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । उहाँको बाल्यकाल कापलडाँडाको माटो, त्यही परिवेश र त्यही सरल जीवनशैलीमा बित्यो । बुबा यमबहादुर नेपाली र आमा ओममाया नेपालीकी सुपत्री उहाँ गाउँमा हुर्किँदा जीवनका धेरै रंगहरू नजिकबाट देख्न पाउनुभयो । कहिले सुख, कहिले दुःख, कहिले अभाव त कहिले उत्सव । त्यही परिवेशले पनि उहाँको मनमा गीतसंगीतको बिउ रोपेको होला । हाल कर्मथलो काठमाडौंलाई बनाएर उहाँ निरन्तर गीतसंगीतको यात्रामा हुनुहुन्छ । गीतसंगीत आफ्नो जिन्दगी भएको बताउनुहुनेछ गायिका लक्ष्मी नेपालीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
यहाँले गीतसंगीतप्रतिको रुचि सानैदेखि थियो भन्नुभयो । त्यो रुचि कसरी व्यावसायिक यात्रामा परिणत भयो ?
हो, मेरो गीत गाउने रहर सानैदेखिको हो । अरूले गीत गाएको सुन्दा मन त्यसैमा तानिन्थ्यो । आफैं पनि गुनगुनाउन मन लाग्थ्यो । त्यो बेला यो नै मेरो भविष्य बन्छ भनेर चाहिँ सोचेकी थिइनँ । तर, मनमा बसेको संगीतको धुनले विस्तारै बाटो देखाउँदै गयो । प्लस टु पढ्दै गर्दा अर्थात् २०६५ सालदेखि मैले दोहोरी साँझबाट औपचारिक रूपमा गीत गाउन थालेँ । पोखराको दौतरी दोहोरी साँझबाट मेरो व्यावसायिक सांगीतिक यात्रा सुरु भएको हो । त्यसपछि भने गीतसंगीत मेरो रहरमात्रै रहेन, जीवनको अभिन्न हिस्सा बन्यो । २०६५ सालदेखि निरन्तर यही क्षेत्रमा छु । आज पछाडि फर्केर हेर्दा त्यो पहिलो पाइला नै मेरो जीवनको महत्त्वपूर्ण मोड रहेछ भन्ने लाग्छ ।
दुःखले मानिसलाई कमजोरमात्रै बनाउँदैन, कहिलेकाहीँ अझ बलियो पनि बनाउँछ । मैले पनि आफ्ना दुःखलाई मनभित्र राख्दै अघि बढ्न सिकेँ । सायद जीवनका ती अनुभूतिहरूले नै मेरा गीतहरूमा भावना थपेका छन् । गीत गाउँदा कहिलेकाहीँ आफ्नै जीवनका सुख-दुःखहरू सम्झन्छु । त्यसैले मेरो लागि गीत केवल गीत होइन, मनको भाषा हो ।
कलाकारको यात्रा सधैं सहज हुँदैन । तपाईंको जीवनमा पनि संघर्षका क्षणहरू पक्कै आए होलान् नि ?
पक्कै पनि । कलाकार बन्ने बाटोमा संघर्ष त हुन्छ नै । अझ जीवनमा व्यक्तिगत दुःख पनि जोडिएको थियो । म आठ वर्षकी हुँदा नै बुबाको निधन भयो । सानै उमेरमा अभिभावक गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ । तर, जीवन रोकिँदैन रहेछ । दुःखले मानिसलाई कमजोरमात्रै बनाउँदैन, कहिलेकाहीँ अझ बलियो पनि बनाउँछ । मैले पनि आफ्ना दुःखलाई मनभित्र राख्दै अघि बढ्न सिकेँ । सायद जीवनका ती अनुभूतिहरूले नै मेरा गीतहरूमा भावना थपेका छन् । गीत गाउँदा कहिलेकाहीँ आफ्नै जीवनका सुख–दुःखहरू सम्झन्छु । त्यसैले मेरो लागि गीत केबल गीत होइन, मनको भाषा हो ।
तपाईंले पहिलोपटक रेकर्ड गर्नुभएको गीत कुन हो ?
मेरो पहिलो गीत ‘भन्थ्यौ धोका दिन्न...’हो । त्यो गीत लोकप्रिय गायक राजु परियारसँग गाउने अवसर पाएँ । मेरो लागि त्यो निकै महत्त्वपूर्ण क्षण थियो । पहिलो गीत, त्यो पनि अग्रज र स्थापित कलाकारसँग । स्वाभाविक रूपमा मनमा उत्साह पनि थियो, डर पनि थियो । तर, त्यो अवसरले मलाई अझ धेरै सिक्ने प्रेरणा दियो । त्यसपछि ‘हरे राम हरे राम’, ‘मर्स्याङ्दी पानी’लगायत थुप्रै गीत गाएँ । अहिलेसम्म करिब दुई दर्जनजति गीतमा आवाज दिइसकेकी छु । संख्या जति भए पनि हरेक गीतसँग जोडिएको भावना र सम्झना भने फरक-फरक छन् ।
तपाईंका लागि सबैभन्दा विशेष गीत कुन हो ?
सबै गीत आफ्नै सन्तानजस्तै लाग्छन् । एउटा कलाकारले आफ्नो स्वर दिएको हरेक सिर्जना उसको जीवनको एउटा अंश बनेर बस्छ । पहिलो गीत भएकाले ‘भन्थ्यौ धोका दिन्न...’मेरो लागि विशेष छ । त्यसले मलाई कलाकारका रूपमा पहिलो परिचय दियो । त्यसपछि आएका गीतहरूले यात्रालाई फराकिलो बनाउँदै लगे । ‘हरे राम हरे राम’, ‘मर्स्याङ्दी पानी’लगायत गीतहरू पनि श्रोता-दर्शकले मन पराउनुभएको छ । गीत आफूले गाएरमात्रै पूर्ण हुँदैन, श्रोता-दर्शकले माया दिएपछि त्यसले वास्तविक जीवन पाउँछ ।
आफ्नो सांगीतिक यात्रालाई कसरी हेर्नुहुन्छ ?
२०६५ सालदेखि आजसम्म निरन्तर यही क्षेत्रमा छु । बीचमा धेरै उतारचढाब आए, तर संगीतबाट कहिल्यै टाढा हुनसकिनँ । अहिले विगत तीन वर्षदेखि काठमाडौंमा रहेको नगरकोट दोहोरी साँझमा गीत गाउँदै आएकी छु । दोहोरी साँझले कलाकारलाई प्रत्यक्ष श्रोता–दर्शकसँग जोड्ने अवसर दिन्छ । त्यहाँ गाइरहँदा दर्शकको प्रतिक्रिया तत्कालै पाउन सकिन्छ । त्यो नै कलाकारका लागि ठूलो पाठशाला पनि हो । त्यसबाहेक स्टेज शो तथा लाइभ दोहोरी प्रस्तुतिमा पनि सहभागी हुँदै आएकी छु । प्रत्यक्ष प्रस्तुतिले कलाकारको आत्मविश्वास बढाउँछ र आफूलाई अझ सुधार्ने अवसर दिन्छ ।
दोहोरी साँझ र स्टेज कार्यक्रमबीच कस्तो फरक महसुस गर्नुहुन्छ ?
दुवैको आफ्नै स्वाद छ । दोहोरी साँझमा कलाकार र श्रोता निकै नजिक हुन्छन् । श्रोताको प्रतिक्रिया आँखैअगाडि देखिन्छ । कहिलेकाहीँ त्यही क्षणको वातावरण अनुसार शब्द र भाव मिलाएर गाउनुपर्छ । स्टेज शोमा भने ठूलो समूहका अगाडि प्रस्तुति दिनुपर्छ । त्यहाँ ऊर्जा र प्रस्तुति दुवै महत्त्वपूर्ण हुन्छ । लाइभ दोहोरीमा चाहिँ क्षणमै सोचेर जवाफ फर्काउनुपर्ने भएकाले अझ चुनौतीपूर्ण हुन्छ । तर, मलाई यी सबै विधा मन पर्छन् । जहाँ गीत छ, जहाँ संगीत छ, त्यहाँ मेरो मन रमाउँछ ।
गीतसंगीत प्रस्तुतिका लागि देशबाहिर पुग्नुभयो ?
पुगेकी छु । भारत, कतार तथा युरोपका विभिन्न देशमा सांगीतिक प्रस्तुति दिने अवसर पाएकी छु । विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीबीच पुगेर गीत गाउन पाउनु मेरो लागि निकै भावुक क्षण हुन्छ । परदेशमा बसेका नेपालीहरूलाई आफ्नो देश, गाउँघर र मातृभूमिको सम्झना गीतमार्फत जोडिएको देख्दा कलाकार हुनुको अर्थ अझ गहिरो महसुस हुन्छ । देशभन्दा टाढा भए पनि नेपाली मन उस्तै हुन्छ । गीत बज्दा, दोहोरी चल्दा, नेपाली भाका गुञ्जिँदा उहाँहरूको आँखामा देखिने खुशी नै कलाकारका लागि सबैभन्दा ठूलो पुरस्कार हो ।
गीतसंगीत तपाईंको जीवनमा वास्तवमा के हो ?
गीतसंगीत मेरो जिन्दगी हो । यो मेरो सुख-दुःखको साथी हो । खुशी हुँदा पनि गीतसँगै हुन्छु, दुःखी हुँदा पनि गीतमै मन बुझाउँछु । कहिलेकाहीँ मानिसलाई आफ्नो मनको कुरा कसैसँग भन्न नसकिने अवस्था आउँछ । त्यतिबेला गीतले मनको कुरा बोलिदिन्छ । त्यसैले म आफूलाई गीतसंगीतप्रति समर्पित गर्न चाहन्छु । मेरो लागि संगीत पेशामात्र होइन, जीवन जिउने एउटा माध्यम हो । मेरो आवाजमा मेरो भावना छ, मेरो सपना छ, मेरो संघर्ष छ ।
तपाईं गीतमार्फत समाजलाई पनि केही सन्देश दिन चाहनुहुन्छ ?
अवश्य । कलाकार समाजबाट अलग व्यक्ति होइन । हामीले समाजमै बाँचिरहेका हुन्छौं । समाजमा जे–जस्ता घटना भइरहेका हुन्छन्, त्यसले हामीलाई पनि प्रभावित गर्छ । त्यसैले गीतसंगीत मनोरञ्जनको माध्यम मात्रै बन्नु हुँदैन भन्ने मेरो धारणा हो । समाजमा घटेका राम्रा–नराम्रा घटनालाई गीतसंगीतमार्फत प्रस्तुत गरेर सकारात्मक सन्देश दिन सकिन्छ । एउटा गीतले कसैको मन छुन्छ, कसैलाई सोच्न बाध्य बनाउँछ, कसैलाई सही बाटो रोज्न प्रेरित गर्छ भने त्यो नै कलाकारको उपलब्धि हो । म पनि आगामी दिनमा मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने सिर्जनामा जोडिन चाहन्छु ।
नेपाली लोक तथा दोहोरी क्षेत्रमा महिला कलाकारको अवस्था कस्तो देख्नुहुन्छ ?
अहिले पहिलेभन्दा धेरै अवसर छन् । महिला कलाकारहरू पनि निरन्तर अगाडि आइरहनुभएको छ । तर, अवसरसँगै चुनौती छन् । कलाकारले निरन्तर सिकिरहनुपर्छ, आफूलाई समयानुसार परिमार्जन गरिरहनुपर्छ । प्रतिभामात्रै भएर पुग्दैन, निरन्तरता, अनुशासन र मिहिनेत पनि आवश्यक हुन्छ । म अग्रज कलाकारहरूलाई पछ्याउँदै, उहाँहरूबाट सिक्दै अगाडि बढिरहेकी छु । नयाँ पुस्ताका कलाकारका लागि पनि यही भन्न चाहन्छु, छिटो चर्चामा आउनुभन्दा लामो समयसम्म टिक्ने गरी आफ्नो कला र क्षमता विकास गर्नुपर्छ ।
आफूले रोजेको क्षेत्रमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म पूर्णरूपमा सन्तुष्ट छु । जीवनमा अनेक समस्या आउँछन्, तर आफ्नो मनले रोजेको क्षेत्रमा निरन्तर काम गर्न पाउनु आफैंमा ठूलो कुरा हो । गीत गाउन पाउँदा म आफूलाई भाग्यमानी ठान्छु । दर्शक–श्रोताको माया पाउँदा सबै दुःख बिर्सिन्छु । कहिलेकाहीँ थकाइ हुन्छ, निराशा पनि आउँछ, तर स्टेजमा पुगेर गीत सुरु गरेपछि ती सबै हराएर जान्छन् । त्यसैले म भन्छु, गीतसंगीत मेरो जीवनको बाटो हो र यही बाटोमा अझ धेरै हिँड्नुछ ।
आगामी दिनमा लक्ष्मी नेपालीलाई कस्तो रूपमा देख्न पाइन्छ ?
अझ धेरै राम्रा गीत गाउने, राम्रा सिर्जना गर्ने र श्रोता–दर्शकको मनमा बस्ने कलाकार बन्ने मेरो चाहना छ । अहिलेसम्म जे गरेँ, त्यो यात्राको एउटा अध्याय हो । अब अझ धेरै सिक्नुछ, अझ धेरै राम्रो गाउनुछ । समाजका कथा, नेपाली माटोका कथा, प्रेम, पीडा, संघर्ष र जीवनका वास्तविक भावनालाई गीतमार्फत प्रस्तुत गर्न मन छ । कलाकारका रूपमा आफ्नो पहिचानलाई अझ बलियो बनाउँदै नेपाली लोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर योगदान दिन चाहन्छु ।
अन्त्यमा ?
मलाई यहाँसम्म ल्याइपुर्याउने सम्पूर्ण श्रोता-दर्शक, अग्रज कलाकार, सर्जक, संगीतकर्मी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । आज म जहाँ छु, उहाँहरूको माया र सद्भावकै कारण छु । मैले गाएको गीतमा उहाँहरूले आफ्नो कथा भेट्नुभएको छ, आफ्नो भावना भेट्नुभएको छ । त्यसैले उहाँहरूको माया मेरो लागि अमूल्य छ । आउँदा दिनमा पनि यस्तै माया, साथ र सद्भाव पाइरहने अपेक्षा गरेकी छु । म गीत गाउँदै जानेछु, कहिले गाउँको सम्झना बोकेर, कहिले परदेशी नेपालीको पीडा बोकेर, कहिले प्रेमको मीठास बोकेर, कहिले समाजको कथा बोकेर । किनकि मेरो लागि गीत केवल स्वर होइन, जीवन हो । गीत केवल धुन होइन, सुख-दुःखको साथी हो । र, संगीत केवल पेशा होइन, आफूलाई समर्पण गर्ने मेरो संसार हो ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक