विगत केही वर्षयता निजी क्षेत्रमा लगानी विस्तार हुन सकिरहेको छैन । गत वर्षको जेनजी आन्दोलनपछि झनै नेपालको निजी क्षेत्रको मनोबल खस्किएको देखिन्छ । जेनजी आन्दोलनपछि स्थिर सरकार आउने र लगानीको वातावरण बन्ने निजी क्षेत्रको अपेक्षा थियो तर नयाँ सरकारले उद्योगी व्यवसायीमाथि धरपकड सुरु गरेपछि त्रसित बनेको निजी क्षेत्र अब थप लगानी विस्तार गर्न हच्किएको देखिन्छ । सोही कारण पनि नयाँ सरकार बनेसँगै लगानी विस्तारभन्दा पुँजी पलायनको जोखिम बढ्दै गएको बताइन्छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा मात्रै झरेको छैन कर्जा लगानीसमेत सहज बन्दै गएको छ तर पनि कर्जा माग छैन । जसका कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुपि्रँदैछ । कर्जा लगानी बढ्न नसकेको अवस्थामा पनि धेरैजसो बैंक तथा वित्तीय संस्थाहरू नाफा बढाउन सफल भएको देखिन्छ तर खराब कर्जा हिस्सा पनि बढ्दै गएकाले चुनौती पनि बढ्दै छ । गत आर्थिक वर्ष नाफा बढाउन सफल भएका कतिपय फाइनान्स कम्पनीहरूलाई पनि बढ्दो खराब कर्जाले पिरोल्न थालेको छ । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्तका अनुसार यथास्थितिमा सुधार नआएमा आगामी दिन फाइनान्स कम्पनीमात्रै नभई समग्र वित्तीय क्षेत्रमा समस्या आउन सक्छ । फाइनान्स कम्पनीहरूको भविष्यबारेमा आइसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ)समेत रहनुभएका संघका अध्यक्ष सुनिल पन्तसँग हिमालय टाइम्सका लागि लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-
अहिले फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था कस्तो छ ?
समग्रमा हेर्दा अहिले फाइनान्स कम्पनीहरू सुधारको चरणमा छन् । केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तता, कर्जा मागमा कमी, ब्याजदर उतारचढाव र बढ्दो खराब कर्जाले फाइनान्स कम्पनीहरूको नाफामा दबाब परेको थियो तर पछिल्लो समय ब्याजदर घटेको छ, तरलता सहज भएको छ, कर्जा असुलीमा क्रमिक सुधार आएको छ र सञ्चालन खर्च पनि नियन्त्रणमा आउँदै छ । त्यसको सकारात्मक प्रभाव प्रोफिटाबिलिटीमा देखिन थालेको छ । सोही कारण पनि गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्म फाइनान्सहरूको एग्रिगेट प्रोफिट करिब ८२.७२ करोड पुगेको तथ्यांकले पनि सुधारको संकेत गर्छ तर सबै कम्पनीको अवस्था एउटै छैन । केही कम्पनीमा अझै खराब कर्जा र एक्युमुलेटेड लसेज चुनौतीकै रूपमा छन् । त्यसैले अहिलेको अवस्थालाई ‘क्राइसिसबाट रिकभरी र कन्सोलिडेसनतर्फको ट्रान्जेक्स’का रूपमा हेर्न सकिन्छ ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा फाइनान्स कम्पनीहरूको नाफामा सुधार देखिनुको मुख्य कारण के होला ?
मुख्यतः चारवटा कारण देखिन्छन् । पहिलो, कष्ट अफ फण्ड घटेको छ । ब्याजदर घटेपछि फण्डिङ कष्ट कम भएको छ । दोस्रो, ब्याज आम्दानी र खुद ब्याज आम्दानीमा सुधार आएको छ । तेस्रो, लागत खर्च नियन्त्रणमा आएको छ । चौथो, केही संस्थामा लोन रिकभरी तथा इम्पाइरमेन्ट- प्रोभिजनिङमा सुधार भएको छ । गत आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा फाइनान्स कम्पनीहरूको एग्रिगेट प्रोफिट ५३.२० करोड पुगेको थियो, जबकि अघिल्लो वर्ष सोही अवधिमा घाटामा थियो । महत्त्वपूर्ण कुरा नाफा बढ्नु सकारात्मक संकेत हो तर नाफाको गुणस्तर पनि हेर्नुपर्छ । किनभने प्रोभिजन बढेको अवस्था छ भने नाफा बढेको मात्र आधारमा सम्पूर्ण अवस्था स्वस्थ छ भन्न मिल्दैन ।
फाइनान्स कम्पनीहरूले कुन क्षेत्रमा बढी लगानी गरिरहेका छन् ?
मुख्यतः एसएमई, कन्जुमर फाइनान्स, हायर पर्चेज तथा अटो फाइनान्स, हाउजिङ, पर्सनल फाइनान्स र विभिन्न उत्पादनमूलक क्षेत्रमा कर्जा केन्द्रित छ तर अब परिवर्तित अवस्थामा व्यवसाय गर्ने शैलीमा पनि परिवर्तन आवश्यक छ । विगतमा धितोकेन्द्रित लगानी बढी थियो । अब भने क्यास फ्लो बेस्ड लेण्डिङ, एसएमई फाइनान्सिङ, डिजिटल लेण्डिङ, प्रोफेसनल तथा उद्यमशीलता र उत्पादनमूलक क्षेत्रको लगानीमा बढी जोड दिनुपर्छ । धितोभन्दा पनि ग्राहकको वास्तविक आम्दानी र व्यवसायको कारोबार हेरेर कर्जा दिने संस्कार बलियो बनाउन आवश्यक छ ।
फाइनान्स कम्पनीहरूको मुख्य काम र आम्दानीको स्रोत के हो ?
फाइनान्स कम्पनी मूलतः फाइनान्सियल इन्टरमेडियसन बिजनेस हो । निक्षेप तथा अन्य स्रोतबाट फण्ड मोबिलाइज गरेर प्रोडक्टिभ र रिटेल सेक्टरमा कर्जा उपलब्ध गराउने मुख्य काम हो । आम्दानीको प्रमुख स्रोत भने अझै पनि ब्याज आम्दानी नै हो तर भविष्यमा केवल ब्याज आम्दानीमा मात्रै निर्भर भएर चल्न गाह्रो हुन्छ । गैरब्याज आम्दानी बढाउने र कष्ट टु इनकम रेसियो घटाउने रणनीति पनि आवश्यक छ ।
फाइनान्स कम्पनीहरूमा खराब कर्जाको अवस्था कस्तो छ ?
खराब कर्जा अर्थात् एनपिएल अझै पनि प्रमुख चुनौती हो तर पछिल्लो ट्रेण्ड हेर्दा यसलाई जोखिममात्र नभई सुधार, पुनर्संरचना र एसेट क्वालिटी बलियो बनाउने अवसरका रूपमा पनि हेर्न सकिन्छ । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरणले फाइनान्स कम्पनीबीच एनपिएलको अवस्था कम्पनीअनुसार फरक रहेको देखाउँछ । केहीले कर्जा असुली, लोन रिस्ट्रक्चरिङ र क्रेडिट रिस्क मेनेजमेन्ट प्रभावकारी बनाउँदै एनपिएल नियन्त्रणमा राखेका छन् भने केही संस्थामा अझै उच्च छ । त्यसैले सम्पूर्ण क्षेत्रलाई एउटै दृष्टिकोणबाट मूल्यांकन गर्नु उपयुक्त हुँदैन । अब मुख्य प्राथमिकता नयाँ खराब कर्जा बढ्न नदिने र विद्यमान खराब कर्जा क्रमशः घटाउने हुनुपर्छ ।
विकास बैंक र फाइनान्स कम्पनीबीचको मुख्य भिन्नता के हो ?
दुवै नेपाल राष्ट्र बैंकबाट नियमन हुने वित्तीय संस्था हुन् तर व्यवसायको क्षेत्र र स्ट्राटेजिक पोजिसनिङमा केही फरक छ । विकास बैंकको भौगोलिक र व्यवसायिक स्वरूप तुलनात्मक रूपमा फराकिलो हुन्छ । त्यसैले कुन ठूलो वा सानो भन्दा पनि कुन संस्थाले कुन बजारमा राम्रो सेवा दिन सक्छ भन्ने कोणबाट हेर्नुपर्छ भन्ने मलाई लाग्छ । सही रणनीति अपनाउन सकेमा फाइनान्स कम्पनीहरूको आफ्नै प्रतिस्पर्धी क्षेत्र छ ।
बैंक तथा अन्य वित्तीय संस्थाबीच कस्तो प्रतिस्पर्धा छ ?
प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा स्वाभाविक हो तर वित्तीय क्षेत्रको विकासका लागि सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अहिले ग्राहकले संस्था बैंक हो कि फाइनान्स कम्पनी हो भन्नेमात्र हेर्दैनन्, सेवा कस्तो छ, शुल्क कति छ, काम कति छिटो हुन्छ, प्रक्रिया कति सजिलो छ र संस्था कति भरपर्दो छ भन्ने कुरालाई बढी महत्त्व दिन्छन् । वाणिज्य बैंकहरूको पहुँच र क्षमता ठूलो छ, विकास बैंकको क्षेत्रीय उपस्थिति राम्रो हुन सक्छ भने फाइनान्स कम्पनीहरूले छिटो, लचिलो र विशेष प्रकारको सेवा दिन सक्छन् । त्यसैले फाइनान्सहरूले आफ्ना फरक क्षमता र विशेषता अझ बलियो बनाउनुपर्छ । विशेष गरी एसएमई, साना व्यवसाय, उद्यमी, सवारीसाधन तथा रियल स्टेट क्षेत्र र बैंकिङ सेवा कम पुगेका ग्राहकलाई सेवा दिने क्षेत्रमा फाइनान्सहरूले राम्रो भूमिका खेल्न सक्छन् । सबै क्षेत्रमा वाणिज्य बैंकहरूसँग प्रतिस्पर्धा गर्नुभन्दा छिटो, सहज र उत्कृष्ट सेवाबाट फाइदा हुने क्षेत्रमा केन्द्रित हुनुपर्छ ।
कर्जा माग कमजोर हुँदा बैंकिङ क्षेत्रमा पैसा थुप्रिएको छ, फाइनान्समा कस्तो छ ?
यो अहिले नेपालको वित्तीय क्षेत्रकै प्रमुख चुनौती हो । पर्याप्त तरलता हुँदाहुँदै पनि प्राइभेट सेक्टर क्रेडिट ग्रोथ अपेक्षाकृत कमजोर हुनुमा आर्थिक अनिश्चितता ठूलो कारण हो । त्यसैले समस्या बैंकमा पैसा धेरै भएरमात्र होइन, क्वालिटी लोन डिमाण्ड कमजोर हुनु मुख्य विषय हो ।
निजी क्षेत्रको लगानीमा कमजोर आत्मविश्वास, निर्माण तथा रियलस्टेट क्षेत्रमा शिथिलता, नयाँ व्यावसायिक वातावरण कमजोर हुनु, ग्राहकको मागमा कमी, एक्जिटिङ ब्यारियर्स तथा रेगुलेटरी र रिक्स कन्सिडरेसन्स जस्ता कारणले पनि कर्जाको माग कमजोर भएको हो तर पनि पर्याप्त तरलतालाई नकारात्मक रूपमा मात्र हेर्नुहुँदैन । यसले फाइनान्सियल सिस्टमलाई लो-कष्ट फण्डिङ इन्भायरोमेन्ट दिएको छ । अब चुनौती भनेको यही तरलतालाई प्रोडक्टिभ क्रेडिटमा रूपान्तरण गर्नु हो । फाइनान्स कम्पनीहरूले एसएमई, इन्टरप्रेनियरसिप, प्रोडक्टिभ इण्डष्टी, टुरिजम, एग्रिकल्चर भ्यालु चेन, रेन्युएबल इनर्जीलगायत नयाँ उत्पादनमूलक क्षेत्र खोज्नुपर्छ ।
फाइनान्स कम्पनीहरूको भविष्य कस्तो देख्नुहुन्छ ?
म फाइनान्स कम्पनीहरूको भविष्यलाई सकारात्मक रूपमा हेर्छु तर भविष्यमा सफल हुन पुरानै तरिकाले काम गरेरमात्र पुग्दैन । ग्राहकको आवश्यकता परिवर्तन भइसकेको छ । अब फाइनान्स कम्पनीहरू प्रविधिमैत्री, ग्राहककेन्द्रित, छिटो निर्णय गर्न सक्ने, कम लागतमा सञ्चालन हुने र जोखिम राम्रोसँग व्यवस्थापन गर्न सक्ने संस्थाका रूपमा अघि बढ्नुपर्छ । नेपालमा अझै धेरै एसएमई, उद्यमी र स्वरोजगार गर्ने मानिसहरू छन्, जसलाई व्यवसाय विस्तार गर्न समयमै कर्जा चाहिन्छ । उनीहरूका लागि लामो प्रक्रिया र धेरै कागजी झन्झटभन्दा सरल प्रक्रिया, छिटो निर्णय र आवश्यकताअनुसारको वित्तीय सेवा बढी महत्त्वपूर्ण हुन्छ । यही क्षेत्रमा फाइनान्स कम्पनीहरूले राम्रो अवसर पाउन सक्छन् । किनभने वाणिज्य बैंकको संरचना ठूलो भएकाले कतिपय अवस्थामा निर्णय प्रक्रिया लामो हुन सक्छ । यसको तुलनामा फाइनान्स कम्पनीले आफ्नो सानो र लचिलो संरचनाको फाइदा उठाएर ग्राहकलाई छिटो सेवा दिन सक्छ । त्यसैले फाइनान्स कम्पनीहरूले वाणिज्य बैंकसँग सबै क्षेत्रमा प्रतिस्पर्धा गर्नुभन्दा आफ्नो विशेष क्षमता पहिचान गरेर त्यसैमा केन्द्रित हुनु राम्रो हुन्छ ।
अहिले फाइनान्सहरूले सामना गरिरहेका मुख्य चुनौतीहरू के-के हुन् ?
मुख्य चुनौतीहरू स्पष्टै छन् । पहिलो, क्वालिटी क्रेडिट डिमाण्ड कमजोर छ । बजारमा पर्याप्त तरलता भए पनि योग्य र गुणस्तरीय कर्जाको माग कमजोर छ । त्यसैले अब कर्जाको आकार बढाउनेभन्दा गुणस्तरीय र दिगो कर्जा प्रवाहमा जोड दिनुपर्छ । दोस्रो, एनपिएल र रिकभरी हो । विद्यमान खराब कर्जाको समाधान र असुली अझै चुनौतीपूर्ण छ । तेस्रो, प्रतिस्पर्धा बढिरहेको छ । वाणिज्य बैंक, विकास बैंक र डिजिटल लेण्डरहरूलगायत विभिन्न संस्थाबीच प्रतिस्पर्धा तीव्र छ । यस्तो अवस्थामा स्पेसलाइज्ड सर्भिस, क्विक डिसिजन मेकिङ, कस्टुमर फोकस्ड प्रोडक्ट आवश्यक हुन्छ । चौथो, टेक्नोलोजी र डिजिटल ट्रान्सफरमेसन हो । ग्राहकको अपेक्षा तीव्ररूपमा बदलिएको छ । प्रविधिमा लगानी नगर्ने संस्थाका लागि कस्टुमर एक्वीजिसनमात्र होइन, रिटेन्सन पनि चुनौतीपूर्ण हुँदै जान्छ ।
पाँचौँ, कस्ट इफिसेन्सी हो । तुलनात्मक रूपमा सानो ब्यालेन्स सिट भएका फाइनान्सहरूले अपरेटिङ कस्ट नियन्त्रण गर्नुपर्छ । प्रोसेस अटोमेसन, डिजिटलाइजेसन र लेन अपरेसनमार्फत् प्रोडक्टिभिटी बढाउन आवश्यक छ ।
छैटौँ, क्यापिटल र ब्यालेन्स सिट स्ट्रेन्थेनिङ हो । भविष्यको व्यवसाय विस्तार र जोखिम वहन क्षमताका लागि बलियो क्यापिटल बेस आवश्यक छ । कन्सुलिडेसन भन्नाले मर्जरमात्र होइन, ब्यालेन्स सिट, गभर्नेन्स, बिजनेस मोडल बलियो बनाउनु पनि हो ।
नेपाल राष्ट्र बैंकको नीतिप्रति कुनै गुनासो छ ?
राष्ट्र बैंकले अहिले वित्तीय स्थायित्वलाई बढी प्राथमिकता दिएको छ, जुन निकै सकारात्मक र आवश्यक कुरा हो । पछिल्लो मौद्रिक नीतिले बजारमा पैसा सहज बनाउने र कर्जा प्रवाह बढाउने दिशामा पनि ध्यान दिएको देखिन्छ । अब आगामी दिनमा सबै वित्तीय संस्थालाई एउटै दृष्टिकोणबाट हेर्नुभन्दा संस्थाको अवस्था, क्षमता र जोखिमअनुसार व्यावहारिक नियमन आवश्यक हुन्छ । उदाहरणका लागि, कर्जाको धितोबाट वास्तवमा कति रकम उठाउन सकिन्छ भन्ने आधारमा लोन लस प्रोभिजन व्यवस्था गर्ने, खराब कर्जामा राम्रो रिकभरी भइरहेको अवस्थामा त्यसलाई समयमै सुधारिएको वर्गमा लैजाने, नयाँ क्यापिटल इन्स्ट्रुमेन्ट जारी गर्ने, स्वीकृति प्रक्रिया छिटो र निश्चित समयभित्र हुने व्यवस्था गर्ने तथा एसएमई र प्राइभेट सेक्टरमा कर्जा लगानी गर्ने संस्थालाई केही नियामकीय सुविधा दिने विषयमा सोच्नुपर्ने हुन्छ ।
त्यसैगरी रियल स्टेटलगायत विभिन्न क्षेत्रमा लगानीको सीमा बजार र अर्थतन्त्रको वास्तविक अवस्थाअनुसार समय–समयमा समीक्षा गर्नुपर्छ । समस्यामा परेका ऋणीलाई पनि वास्तविक अवस्था हेरेर रिस्ट्रचरिङ–रिकभरीको व्यावहारिक अवसर दिन आवश्यक छ । अन्ततः नियामक र वित्तीय संस्थाबीचको सम्बन्ध केवल ‘नियामक र नियन्त्रित’ भन्ने होइन, वित्तीय स्थायित्व र आर्थिक विकासका लागि सहकार्य गर्ने साझेदारीको हुनुपर्छ ।
अन्त्यमा, आइसिएसफसी फाइनान्सका बारेमा केही बताइदिनुहोस् ?
आइसिएफसी फाइनान्स लिमिटेडको लक्ष्य केवल संस्थाको आकार ठूलो बनाउनुमात्र नभई मुख्य उद्देश्य गुणस्तरीय रूपमा व्यवसाय बढाउने, दिगो नाफा कमाउने र ग्राहकको विश्वास अझ बलियो बनाउने हो । व्यवसाय विस्तार गर्दा जोखिमलाई पनि उत्तिकै ध्यान दिनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । हाम्रा लागि ठूलो लोन पोर्टफोलियोभन्दा स्वस्थ, सुरक्षित र समयमा असुल हुने गुणस्तरीय पोर्टफोलियो बढी महŒवपूर्ण छ । आगामी दिनमा आइसिएफसीले एसएमई, कन्जुमर लोन, भेइकल लोन, हाउजिङ लोन, प्रोडक्टिभ सेक्टर, डिजिटल फाइनान्सियल सर्भिसलाई थप प्राथमिकता दिनेछ । ग्राहकलाई छिटो, सरल र सहज सेवा दिने हाम्रो प्रयास रहनेछ ।
नेपालमा इन्टरप्रेनियरसिप र साना व्यवसाय विस्तारसँगै वित्तीय सेवाको आवश्यकता पनि बढ्दै छ । पर्यटन, उत्पादन, एसएमई, पूर्वाधारसँग सम्बन्धित व्यवसाय र कन्जुमर सेक्टरमा आगामी दिनमा राम्रो सम्भावना देखिन्छ । आइसिएफसीले ग्राहकको वास्तविक आवश्यकता बुझेर सही ठाउँमा, सही कर्जा र सही समयमा वित्तीय सेवा उपलब्ध गराउने प्रयास गर्नेछ । त्यसैगरी प्रविधि प्रयोग बढाएर ग्राहकले घरबाटै वा मोबाइलबाटै धेरैभन्दा धेरै वित्तीय सेवा लिन सक्ने वातावरण बनाउनेछौँ । प्रविधिले सेवा छिटो र सहज बनाउनुका साथै सञ्चालन खर्च घटाउन पनि मद्दत गर्छ । साथै, खराब कर्जा घटाउने, कर्जा असुली प्रभावकारी बनाउने, रिस्क मेनेजमेन्ट र कर्पोरेट गभर्नेन्स बलियो बनाउने विषयमा हाम्रो निरन्तर ध्यान रहनेछ । मेरो विचारमा अहिलेको अवस्था आइसिएफसीका लागि चुनौतीमात्र होइन, नयाँ अवसर र आफूलाई अझ राम्रो बनाउने समय पनि हो । हामी ठूलो हुनुभन्दा पहिले राम्रो, सुरक्षित, दक्ष र भरपर्दो संस्था बन्न चाहन्छौँ । त्यसैले आइसिएफसीको भविष्यप्रति म सकारात्मक छु ।







देशभर मनसुनी वायुको प्रभाव, चट्याङसहित
सङ्घीय संसद्का दुवै सदनको बैठक
किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की
कति आज विदेशी मुद्राको विनिमय
हतुवागढीले जुटायो २४ लाख ५३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन