काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद मत्थर हुने संकेत अझै देखिएको छैन । विवाद बढ्दै जाँदा विभाजनको जोखिम बढेको संस्थापन र इतर दुवै पक्षका नेताहरू बताउन थालेका छन् । संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । विवाद समाधानको सम्भावना कायमै रहेको भन्दै संस्थापन पक्षले वडा तहको अधिवेशनको मिति केही पर सारेको छ । इतर पक्ष भने सहमतिका लागि सभापति गगन थापाले नै सक्रियता नदेखाएको आरोप लगाइरहेको छ ।
इतर पक्षले महाधिवेशन प्रक्रिया स्थगितको माग गर्दै फेरि अदालतको ढोका ढकढक्याउने तयारी गरेको छ । संस्थापन र इतर पक्ष आमनेसामने भइरहेको बेला निवर्तमान सभापति शेरबहादुर देउवाले राजनीतिक सक्रियता बढाउनुभएको छ । सिंगापुर र हङकङमा पाँच महिना उपचार गरी साउन २८ गते स्वदेश फर्किनुभएका देउवा लगातार नेता/कार्यकर्ताहरूसँगको छलफल व्यस्त देखिनुभएको छ । छलफलको लागि देउवालाई भेट्न अस्थायी निवास चुनदेवी जाने नेता/कार्यकर्ताको संख्या दिनहुँ बाक्लो देखिने गरेको छ ।
कुनै समय देउवाका निकै विश्वास पात्र नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्लले आइतबार निवर्तमान सभापति देउवासँग छलफल गर्नुभएको छ । देउवालाई भेट्न उहाँको निवास चुनदेवी पुग्नुभएका मल्लले पार्टीको आन्तरिक विवाद समाधानको लागि अविभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । अभिभावकीय जिम्मेवारीमा रहेर पार्टीलाई १५औँ महाधिवेशनतिर लान उपयुक्त हुने विषय आफूले उठाएको जानकारी दिँदै मल्लले भन्नुभयो, ‘सबैलाई मिलाएर पार्टीको १५औँ महाधिवेशन गर्न उहाँलाई अभिभावकीय जिम्मेवार निर्वाह गर्न मैले आग्रह गरेँ । देउवा त्यस कुरामा अत्यन्तै सकरात्मक रहेका पाएँ ।’
पूर्वसभापति मल्लसँगको छलफलमा सभापति देउवाले विवाद समाधानका लागि सभापति गगन थापासँग छलफल गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । देउवाको भनाइ उद्धृत गर्दै मल्लले भन्नुभयो, ‘मैले सबै साथीहरूसँग यसबारे छलफल गरिरहेको छु । अब छिट्टै पार्टी सभापति गगन थापालाई बोलाएर यसबारे निर्णायक छलफल गर्नेछु । एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनेछु ।’ मल्ल देउवाको गृहजिल्ला डडेल्धुरामा दुई पटक पार्टी सभापति बन्नुभएको थियो । तर, पछिल्लो समय पूर्वसभापति देउवासँग सम्बन्धमा दूरी बढेको थियो ।
विवाद मिलाउन तीन प्रस्ताव
नेपाली कांग्रेसको जारी विवाद समाधानका लागि पूर्वकेन्द्रीय सदस्य नैनसिंह महरले पूर्वसभापति शेरबहादुर देउवासमक्ष तीनवटा प्रस्ताव राख्नुभएको छ । आइतबार बिहान देउवासँग भएको भेटमा विवाद समाधानका लागि तीन प्रस्ताव अघि सारेको जानकारी दिँदै नेता महरले भन्नुभयो, ‘लामो समय उपचार गराएर फर्किनुभएपछि पूर्वसभापतिलाई भेट्न गएको थिएँ । पार्टीलाई मिलाएर लानुपर्छ भन्ने प्रस्ताव गरेको छु । पार्टी मिलाउन तीनवटा प्रस्ताव गरेको छु । उहाँ (देउवा) ले पनि ठीक हो ठीक हो भन्नुभएको छ ।’ महरले तत्काल सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच छलफल गरी पार्टीको विवाद मिलाउने विषयलाई पहिलो विकल्पमा सुझाउनुभएको छ ।
दोस्रो विकल्पस्वरूप गगन र देउवा दुवैले नेतृत्व छोडेर तेस्रोको नेतृत्व स्वीकार्ने र १५औँ महाधिवेशन गर्ने विषय प्रस्ताव गरिएको छ । तेस्रोमा अदालतको निर्णय जे आए पनि मान्ने र अघि बढ्ने प्रस्ताव राखेको महरले जानकारी दिनुभएको छ । यसअघि महरले सभापति थापाको सम्पर्क कार्यालय ज्ञानेश्वरमा भएको भेटवार्तामा पार्टीको बृहत् एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवासँग तीन विकल्पमा सहमति खोज्न सुझाव दिनुभएको थियो । जवाफमा थापाले देउवासँग भेटवार्ताका लागि आफू तयार रहेको भन्दै अनौपचारिक रूपमा संवाद भइरहेको जानकारी दिनुभएको थियो ।
दोस्रो पटक चुनदेवीस्थित सम्पर्क कार्यालयमा
निवर्तमान सभापति शेरबहादुर देउवा दोस्रो पटक आइतबार चुनदेवीस्थित इतर पक्षको सम्पर्क कार्यालय जानुभएको छ । पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गरी आफू नेतृत्वको पक्षले स्थापना गरेको सम्पर्क कार्यालयमा जानुभएका देउवाले नेता कार्यकताहरूसँग भेटघाट गर्नुभएको छ । यसअघि साउन २८ गते स्वास्थ्य उपचारपछि नेपाल फर्किएलगत्तै देउवा सिधै चुनदेवीस्थित कार्यालय पुग्नुभएको थियो । विशेष महाधिवेशनपछि पार्टीको सत्ता गुमाउनुभएका देउवा समूहका नेताहरूले १५औँ महाधिवेशनको तयारी र समन्वयका लागि स्थापना गरेको कार्यालयमा पुग्नुभएको थियो । देउवा स्वास्थ्य उपचार गरेर स्वदेश फर्केपछि पार्टी कार्यालय सानेपा भने पुग्नुभएको छैन । देउवाका लागि चुनदेवीमा बेग्लै कोठा छ । उक्त कोठाको टेबुलमा ‘शेरबहादुर देउवा, सभापति’ लेखिएको नेमप्लेट पनि छ । उक्त नेमप्लेट अरू नेतालाई जानकारी नदिई आफूले राखेको पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले साउन २९ को संस्थापनइतर पक्षले गरेको राष्ट्रिय भेला उद्घाटन कार्यक्रममा सार्वजनिक गर्नुभएको थियो । देउवा आइतबार चुनदेवी कार्यालय पुग्दा उक्त कोठा र टेबुलमा ‘शेरबहादुर देउवा, सभापति’ लेखेको नेमप्लेट कायमै रहेको देखिएको छ । सम्पर्क कार्यालयमा देउवाले नेता कार्यकर्तासँग पार्टीको आन्तरिक विवाद र कसरी अगाडि बढ्ने भन्ने विषयमा संक्षिप्त छलफलसमेत गर्नुभएको बताइएको छ ।
पुनरवलोकन आदेशविपरीत महाधिवेशन गर्न हुँदैन : नेता खड्का
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अहिले १५औँ महाधिवेशन गर्न नहुने बताउनुभएको छ । पार्टी एकताको आवश्यकता र सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशको विपरीत हुनेगरी असोज १६ देखि १५औँ महाधिवेशन गर्न नहुने उहाँको जिकिर छ । नेता खड्काले कांग्रेस केन्द्रीय निर्वाचन समितिले हालै अधिवेशन कार्यतालिकाहरू जारी गरेको तर्फ संकेत गर्दै भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतबाट निस्सासमेत प्राप्त भइसकेको अवस्थामा विशेष महाधिवेशनको नामबाट बनेको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढाउनु हुँदैन । हालै गरेको निर्णय पार्टीको सम्पूर्ण एकताको अहिलेको ऐतिहासिक आवश्यकता र सर्वोच्च अदालतको पुनरवलोकन गर्ने आदेश दुवैको विपरीत छ । महाधिवेशनको सबै प्रक्रिया रोकिपाऊँ भनी कानुनी प्रबन्धबमोजिम रोक्काको लागि सम्मानित सर्वोच्च अदालतमा रिट–निवेदन लिएर जाने विषयमा हामी कानुन व्यवसायीहरूसँग गम्भीर परामर्शमा छौँ ।’
मंसिरभित्र महाधिवेशन नभए वैधानिकतामाथि प्रश्न उठ्छ : उपसभापति शर्मा
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनसम्बन्धी विवादको समाधान अदालतभन्दा पार्टीभित्रै संवादमार्फत खोज्नुपर्ने बताउनुभएको छ । पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने र विशेष परिस्थितिमा थप समय लिनका लागि सम्बन्धित दलको विधानमै आवश्यक व्यवस्था हुनुपर्ने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै शर्माले भन्नुभयो, ‘कांग्रेसको विधानमा चार वर्षपछि विशेष परिस्थितिमा एकवर्ष थप गर्न सकिने व्यवस्था रहेको र त्यसअनुसार थपिएको एक वर्ष आगामी मंसिरमा पूरा हुन्छ । विधानमा नलेखिसकेपछि मंसिरभन्दा उता जान पाउने सुविधा हामीलाई छैन । मंसिरपछि पार्टीको वैधानिकतामाथि गम्भीर प्रश्न उठ्छ ।’







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न