काठमाडाैं । आर्थिक रूपमा बलियो र समृद्ध बन्नका लागि धेरै कमाउनुभन्दा पनि आम्दानीलाई सही ढंगले व्यवस्थापन गर्दै नियमित बचत र लगानी गर्ने बानी महत्वपूर्ण हुने विज्ञहरूले बताएका छन् । आम्दानी बढ्दै जाँदा खर्च पनि बढाउने प्रवृत्तिले मानिसलाई आर्थिक रूपमा बलियो बनाउन नसक्ने भएकाले कमाइको निश्चित हिस्सा बचत गर्नुपर्नेमा जोड दिइएको छ ।
आर्थिक रूपमा सम्पन्न हुन केवल कमाइ वा बचत मात्र पर्याप्त नहुने र पैसाको उचित व्यवस्थापन तथा सही समयमा सही निर्णय लिन सक्ने क्षमता पनि आवश्यक हुने बताइएको छ । आम्दानीबाट नियमित रूपमा बचत गर्दै त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके आर्थिक अवस्था क्रमशः सुधार हुँदै जानेछ ।
अर्थशास्त्री स्टुअर्ट रदरफोर्डले बचत धनी मानिसका लागि मात्र नभई गरिब तथा न्यून आय भएका मानिसका लागि पनि महत्वपूर्ण हुने बताएका छन् । आम्दानी थोरै भए पनि नियमित रूपमा बचत गर्ने बानी बसाल्न सके भविष्यमा ठूलो रकम जम्मा गर्न सकिने उनको धारणा छ। ‘थोरै रकम बचत गरेर के हुन्छ र?’ भन्ने सोचले आर्थिक प्रगतिको बाटो रोक्न सक्ने भएकाले सानो रकमबाटै भए पनि बचत सुरु गर्नुपर्नेमा जोड दिइएको छ ।
दैनिक १० रुपैयाँ मात्र बचत गर्ने हो भने एक वर्षमा करिब ३ हजार ६५० रुपैयाँ जम्मा हुन्छ। यसरी सानो रकमबाट सुरु गरिएको बचतलाई निरन्तरता दिँदै आम्दानी बढेसँगै बचतको मात्रा पनि बढाउन सकिन्छ। अनावश्यक खर्च कटौती गरेर बचत गर्ने बानी विकास गर्न सके भविष्यमा आइपर्ने आर्थिक भार व्यवस्थापन गर्न सहज हुन्छ ।
बचत गरिएको रकमलाई बैंक तथा वित्तीय संस्थामा राखेर ब्याज प्राप्त गर्न सकिन्छ । यसले रकम सुरक्षित राख्नुका साथै समयसँगै बचत बढाउन सहयोग गर्छ । त्यस्तै, आफ्नो आर्थिक अवस्था र आवश्यकता हेरेर बीमा तथा अन्य उपयुक्त क्षेत्रमा लगानी गर्न सके सम्भावित आर्थिक जोखिमसमेत न्यूनीकरण गर्न सकिन्छ ।
आर्थिक व्यवस्थापनमा खर्च नियन्त्रण पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। कुनै वस्तु वा सेवामा पैसा खर्च गर्नुअघि त्यो वास्तविक आवश्यकता हो कि केवल चाहना मात्र हो भन्ने छुट्याउनुपर्ने सुझाव दिइएको छ । अनावश्यक खर्च रोक्दै नियमित बचत र उचित लगानीलाई जीवनशैलीकै हिस्सा बनाउन सके आर्थिक रूपमा आत्मनिर्भर र बलियो बन्न सकिनेछ ।







भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज