इलाम । इलामको चुलाचुली गाउँपालिकाका किसानहरू पछिल्लो समय पिँडालु खेतीतर्फ आकर्षित हुन थालेका छन् । धान खेतीका लागि पर्याप्त सिँचाइको अभाव र उत्पादन लागत बढ्दै गएपछि धेरै किसानले धानको विकल्पका रूपमा पिँडालु खेतीलाई रोज्न थालेका हुन् ।
चुलाचुली गाउँपालिका-३ का कृषक आसमान राईले विगत केही वर्षदेखि प्रत्येक वर्ष दुईदेखि तीन कट्ठा क्षेत्रफलमा पिँडालु खेती गर्दै आउनुभएको छ । धान खेतीमा लागत र श्रम बढी लाग्ने भएकाले प्रत्येक वर्ष धानको क्षेत्रफल घटाउँदै पिँडालु खेती विस्तार गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँकाअनुसार प्रतिकट्ठा पिँडालुबाट वार्षिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । धान खेतीमा धेरै जोताइ, रोपाइ, सिँचाइ तथा श्रम आवश्यक पर्ने भए पनि पिँडालु खेतीमा तुलनात्मक रूपमा कम लागत, कम श्रम र न्यून सिँचाइमै राम्रो उत्पादन लिन सकिने भएकाले किसानको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ ।
राम्रो उत्पादनका लागि चुलाचुलीका किसानहरुले हरेक वर्ष फरक-फरक खेतमा पिँडालु रोप्ने गरेका छन । फागुनमा रोपिएको पिँडालु असोजदेखि कात्तिकभित्र उत्पादन हुने र सामान्य गोडमेलबाहेक धेरै मेहनत आवश्यक नपर्ने उनिहरुको अनुभव छ ।
चुलाचुली-४ कै कृषक वीरबहादुर मगरले पनि पिँडालुसँगै घरतरुलको खेती गर्दै आउनुभएको छ । सुख्खा जमिनमा धानको उत्पादन न्यून हुने भएकाले विगतमा सिमलतरुल खेती गर्दै आए पनि उचित मूल्य नपाएपछि पाँच वर्षअघि पिँडालु खेती सुरु गरेको उहाँ बताउँनुहुन्छ । उहाँकाअनुसार दुई कट्ठा पिँडालु खेतीबाट हुने आम्दानीले दशैं-तिहारजस्ता ठूला चाडपर्वको खर्च सहज रूपमा धान्ने गरेको छ ।
नेपालका तराई, पहाड तथा मध्यपहाडी क्षेत्रमा पिँडालुका २४ भन्दा बढी स्थानीय जातको खेती गरिन्छ । कर्मो, हाते, जलेलगायत विभिन्न जातका पिँडालु उत्पादन हुने भए पनि चुलाचुली क्षेत्रमा स्थानीय जातको कालो पिँडालुको उत्पादन राम्रो हुने गरेको किसानहरूको भनाइ छ ।
पिँडालु स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक मानिन्छ । यसले पाचन प्रणाली सुधार गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा मधुमेहका बिरामीलाई समेत लाभ पुग्ने चिकित्सकहरूको सुझाव छ । पिँडालुमा कार्बोहाइड्रेट, फाइबर, म्याग्नेसियम, पोटासियम र क्याल्सियमजस्ता पोषक तत्त्व प्रशस्त मात्रामा पाइने भएकाले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको छ ।
कम लागतमा राम्रो आम्दानी दिन सक्ने तथा स्वास्थ्यका दृष्टिले समेत उपयोगी बालीका रूपमा स्थापित हुँदै गएको पिँडालु खेतीको विस्तार र प्रवर्द्धनका लागि सम्बन्धित निकायले किसानलाई प्राविधिक सहयोग, गुणस्तरीय बिउ, बजार व्यवस्थापन तथा आवश्यक अनुदान कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।







भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी
प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा