राजविराज । आइतबार बिहान घरअगाडिबाट हराएकी तीन वर्षीया खुसी खातुनको मृत्यु प्रकरणले शम्भुनाथ नगरपालिका-३ ट्राफिक चोकमा पारिवारिक विवादको गम्भीर पाटो उजागर गरेको छ । बालिका हराएको केही घण्टामै घरपछाडिको झाडीमा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदा उनकै सौतेनी आमामाथि हत्या आरोप पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार घटनामा पक्राउ परेकी मुस्कान खातुनले प्रहरीसमक्ष बालिकाको हत्या गरेको स्वीकार गरेकी छन् । प्रारम्भिक बयानमा उनले सौता रुबिना खातुनसँग लामो समयदेखि रहेको विवादलाई घटनाको कारणका रूपमा प्रस्तुत गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुस्कान र रुबिनाबीच केही समयदेखि सम्बन्ध राम्रो थिएन । उनीहरूबीच बोलचालसमेत बन्द रहेको अनुसन्धानबाट खुलेको छ । यही पारिवारिक तनावका बीच बालिकामाथि आक्रमण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
घटनाको सुरुवात भने बालिका सामान्य रूपमा घरबाहिर खेलिरहेको अवस्थाबाट भएको थियो । आइतबार बिहान करिब पौने १० बजेसम्म खुसी पूर्व-पश्चिम राजमार्ग नजिकै रहेको आफ्नो घरअगाडि खेलिरहेकी थिइन् । त्यसपछि परिवारले उनलाई देखेन ।
घर वरपर खोज्दा पनि बालिका नभेटिएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी कार्यालय रुपनीको टोलीसहित आफन्त र स्थानीय बासिन्दा खोजीमा जुटे । केही समयपछि घरको पछाडिपट्टि रहेको झाडीमा बालिका अचेत अवस्थामा भेटिइन् । नजिक पुग्दा उनको मृत्यु भइसकेको खुलेको प्रहरीले जनाएको छ ।
बालिकाको शव भेटिएपछि घटनालाई सामान्य हराइरहेको घटनाका रूपमा मात्रै नहेरी प्रहरीले पारिवारिक सदस्य तथा घटनासँग जोडिएका व्यक्तिमाथि केन्द्रित भएर अनुसन्धान थालेको थियो । सोही क्रममा मुस्कानलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी रुपक खड्काका अनुसार सोधपुछका क्रममा मुस्कानले बालिकाको हत्या गरेको स्वीकार गरेकी हुन् । उनले शव घरपछाडिको झाडीमा फालेको बयान दिएको प्रहरीले जनाएको छ । “घटनाबारे थप तथ्य खुल्ने क्रममा छ,” एसपी खड्काले भनेका छन् । उनकाअनुसार पक्राउ परेकी मुस्कानलाई सोमबार अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थप गर्ने तयारी छ ।
बालिकाको शव पोस्टमार्टमका लागि पठाइएको छ। पोस्टमार्टम रिपोर्टसँगै घटनास्थलको अनुसन्धान, बयान र अन्य प्रमाणबाट मृत्युको वास्तविक कारण तथा घटनाको सम्पूर्ण क्रम थप स्पष्ट हुने प्रहरीको भनाइ छ ।
बालिकाका बुवा भने वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । पारिवारिक विवादलाई प्रारम्भिक बयानमा कारणका रूपमा उल्लेख गरिए पनि त्यसबाहेक हत्या पछाडिको उद्देश्य, घटनाको समय र संलग्नताका अन्य पक्षबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तीन वर्षीया बालिकाको मृत्यु र त्यसमा परिवारकै सदस्य पक्राउ परेपछि घटनाले स्थानीयस्तरमा समेत गम्भीर प्रश्न उठाएको छ । प्रहरीले भने अनुसन्धान पूरा नभएसम्म घटनाको पृष्ठभूमि र उद्देश्यबारे थप निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेको छ ।







बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा