नेपालको शैक्षिक इतिहासमा त्रि-चन्द्र बहुमुखी क्याम्पस एउटा संस्थामात्र होइन, एउटा युगको साक्षी हो । राणाकालको अन्त्यतिर आधुनिक उच्च शिक्षाको ढोका खोलेर आजसम्म आइपुग्दा यसले अनेक पुस्ता जन्माएको छ । राजनीतिक आन्दोलनका हुरीदेखि परिवर्तनका अनेक बहससम्म त्रि-चन्द्रले धेरै कुरा देखेको छ । यही ऐतिहासिक संस्थाको १०८ वर्षे यात्रामा पहिलोपटक महिला क्याम्पस प्रमुख बन्नुभयो प्राडा.नीलम श्रेष्ठ प्रधान । राजधानीको शिक्षित नेवारी परिवारकी लगनशील सन्तान डा.नीलम करिब तीन वर्षअघि क्याम्पस प्रमुख भएर त्रि–चन्द्र कलेजको जिम्मेदारी लिनुभएको थियो । त्रि-चन्द्रमै विद्यार्थी जीवन बिताउनुभएकी, यहीँबाट भौतिकशास्त्र पढेकी र यहीँ चार दशकभन्दा बढी समय अध्यापन गर्नुभएकी प्रधानका लागि क्याम्पस प्रमुखको कुर्सी केवल पद होइन, विगतसँगको संवाद र भविष्यप्रतिको जिम्मेवारी पनि थियो । नेपाल भौतिक विज्ञान समाजकी पहिलो महिला अध्यक्षसमेत रहनुभएकी उहाँ आफूले जीवनमा ‘पहिलो’ हुने धेरै अवसर पाए पनि त्यसलाई अवसरभन्दा बढी चुनौतीका रूपमा लिनुहुन्छ । उहाँको अनुभवमा त्रि-चन्द्रको पुरानो अनुशासन, आजको राजनीतिक हस्तक्षेप, प्रयोगात्मक शिक्षाको संकट, विद्यार्थीको बेरोजगारी, कमजोर पूर्वाधार र पाठ्यक्रमको असान्दर्भिकतासम्मका प्रश्न जोडिएका छन् । दुई वर्षमा यस क्याम्पसमा उहाँले धेरै परिवर्तन गर्न सफल हुनुभएको छ । अब त एक वर्षमात्रै छ उहाँको कार्यकाल । डिग्रीमात्रै होइन, डिग्रीसँगै ज्ञान, सीप र आत्मनिर्भरता चाहिन्छ भन्नुहुने त्रि-चन्द्र बहुमुखी क्याम्पस प्रमुख प्राडा.नीलम श्रेष्ठ प्रधानसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको संवादको संक्षिप्त अंशः-
त्रि-चन्द्र क्याम्पससँगको यात्रालाई तपाईं कसरी सम्झनुहुन्छ ?
मेरो त्रिचन्द्रसँगको सम्बन्ध विद्यार्थी हुँदादेखिकै हो । २०३७ सालमा म त्रि-चन्द्र आए । आईएससी र बीएससी यहीँ पढेँ । त्यसपछि एमएससी र विद्यावारिधि त्रिभुवन विश्वविद्यालयबाट गरेँ । २०४६ सालदेखि यही त्रि-चन्द्र क्याम्पसमा भौतिकशास्त्र पढाउन थालेँ । त्यतिबेला फिजिक्स पढाउने प्राध्यापक पनि निकै कम हुनुहुन्थ्यो । सरहरू घरमै बोलाउन आउनुहुन्थ्यो । त्यही क्रममा अध्यापन सुरु भयो । पछि यही विभागको विभागीय प्रमुख भए । विभागको नेतृत्व गर्ने पहिलो महिला पनि म नै रहेछु भन्ने पछि थाहा पाए । प्राध्यापक भए र भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक हुने अवसर पनि मिल्यो । अहिले दुई वर्षदेखि त्रि-चन्द्र क्याम्पसको प्रमुखको जिम्मेवारीमा छु । यो क्याम्पसको पहिलो महिला प्रमुख र ३३औं प्रमुख हुनु मेरो लागि गर्वसँगै ठूलो जिम्मेवारी हो ।
हामीले डिग्री त दियौं, तर सीप दिन सकेनौं, रोजगारी दिन सकेनौं यसलाई परिवर्तन गर्नैपर्छ ।
सुविधा, पूर्वाधार र गुणस्तरमा जोड दिनपर्छ ।
मिसन र भिजन बनाएर काम गरे यो दुई वर्षमा त्रि-चन्द्रमा धेरै परिवर्तन गर्न सफल भयौ ।
सबैको साथ सहयोगले त्रि-चन्द्रमा हामीले छोटो समयमा उल्लेखनीय कार्य गर्न सफल भयो ।
मेरो त्रि-चन्द्रसँगको सम्बन्ध विद्यार्थी हुँदादेखिकै हो ।
सुविधा, पूर्वाधार र गुणस्तरमा जोड दिनुपर्छ ।
‘राजनीतिक क्रान्ति होइन, शैक्षिक क्रान्ति’ आवश्यक ।
विद्यार्थी हुँदा र अहिले आफैं प्रमुख रहेको त्रि-चन्द्रमा के फरक देख्नुहुन्छ ?
मैले विद्यार्थी जीवनदेखि नै राजनीतिक आन्दोलन देखेँ । २०३६ सालदेखि २०४६ हुँदै २०६२/०६३ सम्म विभिन्न आन्दोलन भए । आन्दोलन हुँदा सबैभन्दा पहिले स्कुल र कलेज नै अट्याक हुने अवस्था हुन्थ्यो । हामी पढ्दा र पढाउँदा दुवै अवस्थामा निकै डराएका हुन्थ्यौं । दुईतिहाइ विद्यार्थी पढ्ने त्रि-चन्द्रमा आन्दोलन धेरै हुन्थ्यो । त्यतिबेला शिक्षक र विद्यार्थीबीच छुट्टै किसिमको आदर र अनुशासन पनि थियो । पछिल्लो समय अवस्था बदलिएको छ । शिक्षकभन्दा विद्यार्थी हाबी हुने अवस्था भयो । राजनीतिक भागबण्डा र हस्तक्षेपले शिक्षालाई नै प्रभावित गरेको छ । विभागीय प्रमुखहुँदा मैले प्रत्यक्ष अनुभव गरेकी छु । ‘मेरो पार्टीका विद्यार्थीले यति नम्बर पाउनुपर्छ’, ‘यो थेसिस पास गरिदिनुपर्यो’ भन्दै आउने अवस्था हुन्छ । राजनीतिक प्रक्रियाबाट डिग्री पाएका विद्यार्थीको अंक पनि अस्वाभाविक रूपमा धेरै हुने अवस्था देखिन्छ । यसले हाम्रो शैक्षिक प्रणालीमाथि नै प्रश्न उठाउँछ ।
अबका दिनमा ‘राजनीतिक क्रान्ति होइन, शैक्षिक क्रान्ति’ आवश्यक छ भन्ने तपाईंको विचार हो ?
पहिले विद्यार्थीका लागि एउटा बाध्यता पनि थियो । राजनीतिक आन्दोलन गरेर देश बनाउनुपर्छ भन्ने भावना थियो । विद्यार्थीले देशका लागि योगदान दिए, बलिदान दिए । तर, त्यसको मूल्य उनीहरूको शिक्षाले चुकायो । ०३६ देखि ०६२/०६३ सम्म धेरै विद्यार्थीले पढाइ र इन्टर्नको नाममा झण्डा र डण्डा बोक्ने काम गरे । त्यसकारण उनीहरूसँग रोजगारीका लागि आवश्यक सीप भएन । अहिलेको आवश्यकता त्यो मनोवृत्तिबाट बाहिर निस्कनु हो । अबको क्रान्ति शैक्षिक क्रान्ति हुनुपर्छ । विद्यार्थीले देशका लागि योगदान दिइसके । अब उनीहरूको हातमा सीप हुनुपर्छ । नेताले ‘उठ्’ भन्दा उठ्ने र ‘बस्’ भन्दा बस्ने होइन, आफैं केही गर्नसक्ने क्षमता विद्यार्थीमा विकास हुनुपर्छ । डिग्रीमात्रै होइन, डिग्रीसँगै ज्ञान, सीप र आत्मनिर्भरता चाहिन्छ ।
हाम्रो शिक्षामा सबैभन्दा ठूलो कमजोरी कहाँ छ ?
हामीले डिग्री त दियौं, तर सीप दिन सकेनौं । रोजगारी दिन सकेनौं । अहिले यसलाई परिवर्तन गर्नै पर्छ । विज्ञानलगायत सबै विषयमा प्रयोगात्मक परीक्षा अत्यन्त आवश्यक छ । तर, विडम्बना के छ भने प्रयोगात्मक शिक्षालाई विद्यालय तहदेखि नै महत्त्व दिइएन । सीप विद्यालयदेखि नै सुरु हुन्छ । विद्यार्थीलाई ल्याबमा लगेर सामान छोएर, चलाएर, ‘के गर्ने, कसरी गर्ने’ भनेर सिकाउनुपर्छ । फिल्ड भिजिट हुनुपर्छ । तर, अहिले ल्याबमा पनि अंकका लागि मात्रै काम हुनेगरेको छ । स्कुलमा २५ अंक, कलेजमा सय वा दुई सय अंक–अंकबाटै बार्गेनिङ सुरु हुन्छ । विद्यार्थीले ‘मैले के काम गरिरहेको छु ? यो कहाँ प्रयोग हुन्छ ?’ भन्ने कुरा बुझ्न पाएको छैन । हाम्रो शिक्षा प्रणालीले यही प्रश्नको उत्तर दिनुपर्छ ।
रोजगारीसँग शिक्षा जोडिन नसकेको कारण के हो ?
रोजगारीको सिर्जना क्याम्पसबाटै सुरु हुनुपर्छ । हामीले कस्तो शिक्षा दियौं भने विद्यार्थीले रोजगारी पाउँछ र आफैं रोजगारी सिर्जना गर्न सक्छ भन्ने कुरा हेर्नुपर्छ । तर, हाम्रो पाठ्यक्रम नै त्यसरी बनेको छैन । पाठ्यक्रम बनाउँदा समाज र बजारको माग हेर्नुपर्छ । पाठ्यक्रम अनुसार पूर्वाधार पनि चाहिन्छ । तर, आवश्यक अध्ययन र योजना नगरी विभिन्न विषय पढाइरहेका छौं । क्याम्पसलाई कार्यक्रम चलाउन मन लाग्यो, चलायो, मन लागेन, चलाएन यस्तो अवस्था हुनु हुँदैन । आज धेरै क्याम्पसमा विद्यार्थीको अवस्था दयनीय छ । त्रि–चन्द्रले पनि विद्यार्थीलाई आवश्यक सुविधा दिनसकेको छैन । भलै हामीले पछिल्ला दिनमा धेरै सुधार गरेका छौ । निजी कार्यक्रमअन्तर्गत पढ्ने विद्यार्थीले पनि आफूले तिरेको शुल्क अनुसार सुविधा पाएको जस्तो मलाई लाग्दैन ।
त्रि-चन्द्रमा पूर्वाधारको अवस्था कस्तो छ ?
अहिले हाम्रो भवन पुनर्निर्माण भइरहेको छ । ऐतिहासिकता बोकेको घण्टाघरलाई विशेष बनाउँदै छौ । विगतका धेरै समस्याबाट हामी राम्रो बन्दै छौ । भौतिक पूर्वाधारमा आमूल परिवर्तन गरेका छौ । भवन निमार्णदेखि, प्रयोगशाला, शैक्षिक सामाग्रीलगायत धेरै परिवर्तन भएका छन् । त्रि–चन्द्रमा सरकारी र निजी दुवैखाले कार्यक्रम छन् । त्रि-चन्द्र १०८ वर्षको इतिहास बोकेको संस्था हो । त्यसैले वातावरण, पूर्वाधार, पाठ्यक्रम र व्यवस्थापन सबै क्षेत्रमा व्यापक परिवर्तन आवश्यक छ । जुन उद्देश्यका साथ पाठ्यक्रम ल्याइएका थिए, ती उद्देश्य अनुसार सञ्चालन गर्न सकेका छैनौं । तर मैले निश्चित भिजन र मिसन बनाएर यो दुई वर्षमा काम गरे यसले धेरै परिवर्तनको महसुस भएको छ ।
नेपाली विषयमा विद्यार्थी घटिरहेको विषयलाई तपाईं कसरी हेर्नुहुन्छ ?
नेपाली विषयमा विद्यार्थी घट्नुको कारण केवल विद्यार्थीको रुचि घट्नु होइन । हामीले विद्यार्थीलाई मोटिभेट गर्न सकेनौं कि भन्ने लाग्छ । सुविधा, पूर्वाधार र गुणस्तरमा जोड दिनुपर्छ । शैक्षिक वातावरण पनि मुख्य कुरा हुन आउँछ ।
अहिलेको पाठ्यक्रममा के परिवर्तन आवश्यक छ ?
समयनुसार पाठ्यक्रममा परिमार्जन गर्दै जानुपर्छ । इन्टरडिसिप्लिनरी र मल्टिडिसिप्लिनरी शिक्षा अहिले अत्यन्त आवश्यक भइसकेको छ । हामीले चारवर्षे स्नातक र दुईवर्षे स्नातकोत्तर पढ्दा विद्यार्थीको उमेर २८/२९ वर्ष पुगिसक्छ । जीवनको अत्यन्त महत्त्वपूर्ण समय पढाइमै बित्छ । तर, त्यही उमेरमा विदेश गएको विद्यार्थीले आफ्नो सीप र क्षमता विकाससँगै पैसा कमाउँछ, परिवार पनि हेर्छ । नेपालमा स्नातक गरेपछि १५-२० हजार रुपैयाँ तलब पाउने अवस्था छ । त्यो तलबले युवाले आफ्नो भविष्य कसरी बनाउने ? त्यसैले शिक्षा र रोजगारीबीचको दूरी घटाउनुपर्छ ।
तपाईंको आफ्नै जीवनमा पढाइप्रतिको प्रेरणा कहाँबाट आयो ?
मेरी आमाको भूमिका अत्यन्त ठूलो छ । उहाँले छोरीहरू आत्मनिर्भर हुनुपर्छ, आर्थिक रूपमा सबल हुनुपर्छ भनेर हामीलाई पढ्न निकै प्रेरित गर्नुभयो । पढाइबाहेक अरूमा ध्यान दिने समय पनि भएन । त्यही क्रममा भौतिकशास्त्र पढ्ने निर्णय गरेँ । जनप्रभात माविबाट एसएलसीमा फर्ष्ट डिभिजनमा पास भए । २०३६ सालमा गोल्ड मेडल जित्न सफल भए । त्यसपछि त्रि–चन्द्र आए ।
महिला नेतृत्वका लागि परिवारको साथ कति महत्त्वपूर्ण रहेछ ?
परिवारको साथ र विश्वास भएपछि महिला अगाडि बढ्न सक्छिन् । घरको जिम्मेवारी सम्हाल्नेले सबै कुरा सम्हाल्न सक्छ । तर, त्यसका लागि घरबाट बाहिर निस्कनुपर्छ । आफ्नो पढाइ र क्षमता विकासलाई निरन्तरता दिनुपर्छ । संयोगबस् स्कुलदेखि अहिलेसम्म हरेक कुरामा ‘पहिलो’ हुने अवसर पाए । भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक, विभागीय नेतृत्वमा पहिलो महिला, नेपाल भौतिक विज्ञान समाजको पहिलो महिला अध्यक्ष र अहिले त्रि-चन्द्रको पहिलो महिला प्रमुख । तर, मैले यसलाई केवल अवसरका रूपमा लिएकी छैन । यो चुनौती पनि हो । पुरुषप्रधान समाजमा निर्विरोध महिला अध्यक्ष बन्न पाउनु खुशीको कुरा हो । तर, त्यो पदसँग जिम्मेवारी पनि आउँछ ।
त्रि-चन्द्रमा के कस्ता प्राथमिकता राखेर परिवर्तन गर्नुभयो ?
म १०६ वर्षको लिगेसी बोकेको संस्थामा आएकी थिए प्रमुख भएर । मैले यसलाई नयाँ समयानुसार रूपान्तरण गर्ने कोसिस गरे यो दुई वर्षमा । वातावरण, पूर्वाधार, पाठ्यक्रम, प्रयोगात्मक शिक्षा र विद्यार्थीको सीप विकासमा जोडदिएर मिसन र भिजन बनाएर काम गरे ।
गुणस्तरीय शिक्षामा जोड दिए । गुणस्तरी शिक्षा केवल क्याम्पसको असफलता होइन, देशकै भविष्यसँग जोडिएको प्रश्न हो । विद्यार्थीले समय, पैसा र जीवनको महत्त्वपूर्ण वर्ष यहाँ लगानी गरिरहेका छन् । त्यसको प्रतिफल उनीहरूले पाउनुपर्छ भन्ने मान्यता राखेर काम गरे । त्रि-चन्द्रलाई फेरि ज्ञान, अनुसन्धान र उत्कृष्टताको केन्द्र बनाउने हर सम्भव प्रयास गरेकी छु ।
अन्त्यमा ?
अब झण्डा र डण्डा होइन, किताब र सीप बोकेर हिँड्नुपर्छ । देश बनाउन राजनीतिक आन्दोलनले एउटा समय भूमिका खेल्यो । अब देश बनाउन ज्ञान, विज्ञान, अनुसन्धान, सीप र सिर्जनशीलता चाहिन्छ । डिग्री लिनुमात्रै जीवनको उद्देश्य होइन । आफूले पढेको कुरा कहाँ प्रयोग हुन्छ भनेर बुझ्नुपर्छ । आफैं सोच्नुपर्छ, आफैं निर्णय गर्न सक्नुपर्छ र अरूलाई रोजगारी दिनसक्ने बन्नुपर्छ । हामीले विगतमा धेरै राजनीतिक क्रान्ति गर्यौं । अब शैक्षिक क्रान्ति गर्नुपर्छ । त्यसको सुरुवात कक्षाकोठाबाट हुन्छ । र, त्रि-चन्द्रजस्तो ऐतिहासिक संस्थाबाट त्यो परिवर्तन सुरु हामीले आरम्भ गरको छौ । यसको प्रभाव एउटा क्याम्पसमा मात्र सीमित हुँदैन सम्पूर्ण पुस्तामा पुग्छ ।







देशभर मनसुनी वायुको प्रभाव, चट्याङसहित
सङ्घीय संसद्का दुवै सदनको बैठक
किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की
कति आज विदेशी मुद्राको विनिमय
हतुवागढीले जुटायो २४ लाख ५३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन