राजविराज । रसुवामा बुधबार बिहान आएको भीषण बाढी र पहिरोपछि हाइड्रोपावर तथा विभिन्न क्षेत्रमा कार्यरत सप्तरीका थुप्रै युवा सम्पर्कविहीन भएका छन् । आफन्तसँग सम्पर्क टुटेपछि सप्तरीका विभिन्न गाउँ-बस्तीमा रहेका परिवारजन यतिबेला चिन्तामा डुबेका छन् ।
सम्पर्कविहीन हुनेमध्ये सप्तरीको बोदेबरसाइन नगरपालिका-८, काचनटोलका एकै परिवारका तीन दाजुभाइ पनि रहेका छन् । ३१ वर्षीय देवकुमार यादव, ३५ वर्षीय शिवकुमार यादव र २५ वर्षीय सचित यादव बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नआएको उनका बुवा लालबहादुर यादवले जानकारी दिनुभयो ।
तीनै जना रसुवा क्षेत्रमा रहेको हाइड्रोपावर आयोजनामा कार्यरत थिए । देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा काम गर्दै आएका थिए ।
परिवारकाअनुसार उनीहरू उत्तरगया गाउँपालिका-५ स्थित क्षेत्रमा कार्यरत थिए भने बसोबास बेत्रावतीमा गर्दै आएका थिए । बुधबार बिहान करिब ८ः३० बजे बुहारी सुरेखासँग अन्तिम पटक टेलिफोन सम्पर्क भएको परिवारजनले बताएका छन् । त्यसपछि उनीहरूको मोबाइल सम्पर्क हुन नसकेको जनाइएको छ ।
यस्तै, अपर त्रिशूली-१ हाइड्रोपावरमा सब-इन्जिनियरका रूपमा कार्यरत सप्तरीको राजगढ गाउँपालिका-२, बनैनियाका राजीवकुमार सिंह पनि हालसम्म सम्पर्कविहीन रहेका छन् ।
रसुवा बाढी-पहिरोपछि शम्भुनाथ नगरपालिका-८ निवासी साजन चौधरी पनि सम्पर्कविहीन भएका छन् । उनी रसुवामा निर्माणाधीन सिनो हाइड्रोपावरमा कार्यरत रहेको परिवारजनले बताएका छन् । बाढी र पहिरोपछि उनी परिवार तथा आफन्तको सम्पर्कबाहिर रहेका छन् ।
त्यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ)मा कार्यरत सप्तरीको कञ्चनपुर निवासी अनुशा चौधरी पनि रसुवामा आएको बाढीपछि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ ।
कञ्चनपुरकै अपर त्रिशूली पावरहाउसमा कार्यरत प्रमोद मण्डलको अवस्थाबारे पनि परिवारजन अनभिज्ञ छन् । उनीसँग समेत सम्पर्क हुन नसकेको बताइएको छ ।
यसैगरी, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६, बभनगामा निवासी अशोककुमार मण्डल पनि रसुवास्थित २१६ मेगावाट क्षमताको हाइड्रोपावर आयोजनामा कार्यरत रहेको र बाढीपछि उनको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको परिवारजनले जनाएका छन् ।
रसुवामा अचानक आएको विनाशकारी बाढी र पहिरोले सञ्चार तथा यातायात सम्पर्क प्रभावित भएपछि हाइड्रोपावर आयोजनामा कार्यरत सप्तरीका युवाहरूको अवस्था अज्ञात बनेको हो ।
एकपछि अर्को गर्दै सप्तरीका युवाहरू सम्पर्कविहीन भएको खबर आउन थालेपछि जिल्लामा चिन्ता बढेको छ । परिवारजनले सम्बन्धित निकायसँग उनीहरूको खोजी तथा उद्धारलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
बाढीग्रस्त क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहे पनि सम्पर्कविहीन भएकाहरूको अवस्था अझै स्पष्ट हुन सकेको छैन । परिवारजन भने सकुशल रहेको एउटा खबरको प्रतीक्षामा छन् ।







रवि लामिछानेले संसदमा सम्बोधनका लागि
ठुलै परिवर्तन भैसक्याे साथी…
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको