जुम्ला । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा पुगेका कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार बाढीपछि कर्णालीका १० जिल्लाका १३४ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।
सम्पर्कविहीनमध्ये अधिकांश जुम्लाको पातारासी र गुठीचौर गाउँपालिकाका स्थानीय रहेको जनाइएको छ। पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराका अनुसार रसुवामा रहेका पालिकावासीमध्ये ७६ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएपछि खोजी गर्दा २० जना सकुशल सम्पर्कमा आएका छन्। हाल ५६ जना सम्पर्कविहीन रहेको उहाँले बताउनुभयो।
रसुवामा कामका लागि गएका पातारासी गाउँपालिकाका बासिन्दाको एकिन विवरण संकलन गर्दा वडा नं. ४, ५ र ६ का स्थानीयको संख्या बढी रहेको पाइएको अध्यक्ष बोहोराले जानकारी दिनुभयो। सम्पर्कविहीन तथा सम्पर्कमा आएका स्थानीयको नामावली र ठेगानासहितको विवरणसमेत सार्वजनिक गरिएको उहाँले बताउनुभयो।
रसुवामा रोजगारी तथा कामका लागि पुगेका अधिकांश स्थानीय जलविद्युत् आयोजनामा कार्यरत रहेको बुझिएको छ। बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको जनाइएको छ।
त्यस्तै, जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका स्थानीयसमेत रसुवाको बाढीमा परेको सूचना प्राप्त भएको छ। उनीहरूको यकिन विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी मीनबहादुर रावलले जानकारी दिनुभयो।
सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.