नेपालको राजनीति अहिले केवल सरकार कसले चलाउने भन्ने प्रश्नको वरिपरि सीमित छैन । प्रश्न त्योभन्दा गहिरो छ, देशलाई जोड्ने, समाजलाई आश्वस्त पार्ने र भविष्यप्रति विश्वास जगाउने राजनीतिक अभिभावकत्व कसले दिने ? जनताको मनमा राजनीति र राजनीतिक नेतृत्वप्रतिको विश्वास कसरी पुनर्निर्माण गर्ने ? र लामो राजनीतिक इतिहास, संघर्ष र अनुभवबाट खारिएका नेताहरूले आफ्नो जीवनको उत्तरार्धमा कुन भूमिका निर्वाह गर्ने ? यही प्रश्नमा नेपाली कांग्रेस र शेरबहादुर देउवाको वर्तमान भूमिकालाई हेर्नुपर्छ ।
नेपाली कांग्रेस नेपालका लागि एउटा सामान्य राजनीतिक दल होइन । यसको इतिहास नेपालको लोकतान्त्रिक संघर्ष, नागरिक अधिकार, राजनीतिक स्वतन्त्रता र राष्ट्रिय राजनीतिका अनेक मोडसँग गाँसिएको छ । राणाशासनविरुद्धको संघर्षदेखि २००७ सालको परिवर्तन, प्रजातन्त्रको पुनःस्थापना, २०४६ सालको जनआन्दोलन, २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन हुँदै गणतान्त्रिक संविधान निर्माणसम्म नेपाली कांग्रेसले नेपालको राजनीतिक यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको छ । इतिहासका हरेक चरणमा कांग्रेसको भूमिका एउटै प्रकारको थिएन ? कहिले संघर्षको अग्रभागमा, कहिले सरकारमा, कहिले प्रतिपक्षमा र कहिले परिवर्तनका विभिन्न शक्तिबीच समन्वयकारी भूमिकामा रह्यो तर यसको सबैभन्दा ठूलो राजनीतिक सम्पत्ति भनेको यसको ऐतिहासिक स्मृति र लोकतान्त्रिक वैधता हो ।
त्यसैले नेपाली कांग्रेस कमजोर हुँदा केवल एउटा पार्टी कमजोर हुँदैन, नेपालको लोकतान्त्रिक राजनीतिको एउटा महत्त्वपूर्ण आधार कमजोर हुन्छ । कांग्रेसको आन्तरिक विवाद केवल कांग्रेसको आन्तरिक विषयमात्र होइन, त्यसले राष्ट्रिय राजनीतिको दिशा र स्थायित्वमा पनि प्रभाव पार्छ । यही कारणले आज नेपाली कांग्रेसबाट देशले केवल एउटा चुनाव जित्ने रणनीति होइन, एउटा परिपक्व राजनीतिक अभिभावकत्व खोजिरहेको छ ।
पछिल्ला राजनीतिक आन्दोलनहरूले नेपाली समाजको मनोविज्ञानमा गहिरो परिवर्तन ल्याएका छन् । जनताले अब राजनीतिक दलले के भन्छ भन्नेभन्दा उसले के गर्छ भन्ने हेर्न थालेका छन् । आन्दोलन केवल सरकार परिवर्तनको कारणमात्र हुँदैन यसले समाजको चेतना बदल्छ । नागरिकले आफ्नो अधिकार, आफ्नो शक्ति र आफ्नो अपेक्षालाई नयाँ ढंगले बुझ्न थाल्छ । जब नागरिकले एउटा राजनीतिक शक्तिलाई ठूलो विश्वासका साथ अवसर दिन्छ, त्यो अवसर वास्तवमा नेतृत्वका लागि परीक्षा पनि हुन्छ । आजको नागरिक पहिलेभन्दा धेरै सूचनासम्पन्न छ । उसले नेताको भाषणसँगै उसको व्यवहार पनि हेर्छ । पार्टीको घोषणापत्रसँगै कार्यसम्पादन हेर्छ । संसदको बहससँगै सामाजिक सञ्जालको प्रतिक्रिया पनि पढ्छ । त्यसैले आधुनिक लोकतन्त्रमा राजनीतिक दल वा सरकारको सबैभन्दा ठूलो पुँजी संख्या होइन—जनताको विश्वास हो । इतिहासले दललाई प्रतिष्ठा दिन्छ तर वर्तमानले त्यस प्रतिष्ठाको परीक्षण गर्छ ।
कांग्रेसले नेपालको लोकतान्त्रिक यात्रामा महत्त्वपूर्ण योगदान दिएको कारण देशका विभिन्न राजनीतिक धारका मानिसहरूले पनि त्यसलाई एउटा संस्थागत राजनीतिक शक्तिका रूपमा हेर्दै आएका छन् । कांग्रेसको लोकतान्त्रिक इतिहाससँग असहमति राख्ने नागरिक पनि संकटको समयमा कांग्रेसले राष्ट्रिय भूमिका खेलोस् भन्ने अपेक्षा राख्न सक्छन् ।
लोकतान्त्रिक यात्रामा दिएको योगदानका कारण विभिन्न राजनीतिक धारका मानिसले पनि नेपाली कांग्रेसलाई एउटा संस्थागत राजनीतिक शक्तिका रूपमा हेर्दै आएका छन् । कांग्रेसको लोकतान्त्रिक इतिहाससँग असहमति राख्ने नागरिक पनि संकटको समयमा कांग्रेसले राष्ट्रिय भूमिका खेलोस् भन्ने अपेक्षा राख्छन् । यही कारणले कांग्रेसका लागि आजको चुनौती सामान्य चुनावी चुनौतीभन्दा ठूलो छ । कांग्रेसले अब आफूलाई केवल कांग्रेसका मतदाताको पार्टीका रूपमा होइन, लोकतान्त्रिक स्थायित्वको एउटा राष्ट्रिय धरोहरका रूपमा पुनःपरिभाषित गर्न सक्नुपर्छ । यसको अर्थ कांग्रेसले आफ्नो पहिचान छोड्नु होइन । बरू आफ्नो ऐतिहासिक पहिचानलाई अझ फराकिलो राष्ट्रिय जिम्मेवारीमा रूपान्तरण गर्नु हो । देशका सबै दलका लागि आशाको धरोहर बन्नसक्ने राजनीतिक संस्कार निर्माण गर्नसक्नु नै कांग्रेसको ऐतिहासिक पुँजीको आधुनिक प्रयोग हुनेछ ।
देउवाः पदभन्दा अनुभवको प्रश्न
शेरबहादुर देउवा नेपालको समकालीन राजनीतिका सबैभन्दा लामो अनुभव भएका वर्तमानका नेतामध्ये एक हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसको नेतृत्व गर्नुभयो, पाँचपटक प्रधानमन्त्री बन्नुभयो र नेपालको राजनीतिक संक्रमणका विभिन्न कठिन चरणहरू प्रत्यक्ष रूपमा व्यहोर्नुभयो । यति लामो राजनीतिक जीवन आफैंमा एउटा ठूलो राजनीतिक विश्वविद्यालय हो । सरकार चलाएको अनुभव, पार्टी सञ्चालनको अनुभव, आन्दोलन र निर्वाचनको अनुभव, अन्तरदलीय सम्बन्धको अनुभव तथा राज्य सञ्चालनका जटिलतासँग प्रत्यक्ष साक्षात्कार, यी सबै कुरा कुनै किताब पढेर प्राप्त हुने ज्ञान होइनन् । यी दशकौंको राजनीतिक यात्राबाट प्राप्त संस्थागत स्मृति हुन् ।
त्यसैले देउवाबाट आज समाजले केवल अर्को राजनीतिक प्रतिस्पर्धाको अपेक्षा गर्नु हुँदैन, उहाँसँग रहेको अनुभवलाई राष्ट्रिय अभिभावकत्वमा रूपान्तरण गर्ने अपेक्षा गर्नुपर्छ । पाँचपटक प्रधानमन्त्री भइसकेको व्यक्तिको राजनीतिक जीवनको अन्तिम अर्थ छैटौं पटक पद प्राप्त गर्नुमात्र हुनसक्दैन । त्योभन्दा ठूलो उपलब्धि आफूले कमाएको अनुभवलाई नयाँ पुस्ताको नेतृत्व निर्माणमा लगाउनु, राजनीतिक विवादमा मध्यस्थता गर्नु र कठिन समयमा समाजलाई जोड्नु हुनसक्छ । यही नै नेतृत्वको परिपक्वताको उच्चतम अवस्था हो ।
अभिभावकत्वको अर्थ पलायन होइन
अभिभावकत्व भन्नासाथ राजनीतिबाट निवृत्त हुने अर्थ लगाउनु हुँदैन । अभिभावकत्व सक्रिय राजनीतिको अर्को उच्च तह हो । अभिभावक त्यो हो, जसले आफ्नै समूहको हितभन्दा संस्थाको हितलाई माथि राख्छ । जसले आफ्नो समर्थकमात्र होइन, आलोचकलाई पनि सुन्छ । जसले आफूलाई केन्द्रमा राखेर संस्था चलाउँदैन, बरु संस्थालाई केन्द्रमा राखेर आफूलाई भूमिका दिन्छ । वरिष्ठ नेताले हरेक विवादमा आफ्नो पक्ष स्थापित गर्नैपर्छ भन्ने हुँदैन । कहिलेकाहीँ उसको मौनता पनि योगदान हुन्छ । कहिलेकाहीँ उसको एक शब्दले दुई पक्षबीचको दूरी घटाउनसक्छ । कहिलेकाहीँ उसले आफ्नै दाबी केही समयका लागि छोडिदिँदा संस्थाले ठूलो संकटबाट मुक्ति पाउन सक्छ । आज देउवाको राजनीतिक अनुभवलाई यही दृष्टिले हेर्न आवश्यक छ ।
देश राजनीतिक रूपमा संवेदनशील अवस्थामा छ भने उहाँले सरकार, पार्टी, विपक्ष, युवा पुस्ता र नागरिक समाजसँग संवादको पुल बन्न सक्नुहुन्छ । कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको प्रश्न छ भने उहाँ नयाँ पुस्तालाई आफ्नो राजनीतिक उत्तराधिकारीमात्र होइन, संस्थाको उत्तराधिकारीका रूपमा स्वीकार गर्ने वातावरण निर्माण गर्न सक्नुहुन्छ । त्यो कमजोरी होइन । त्यो परिपक्वता हो ।
पार्टीको संकट संगठनको भन्दा अपनत्वको संकट हो
कुनै पनि पार्टी कार्यालय, झण्डा, विधान र निर्वाचन चिह्नलेमात्र टिक्दैन । पार्टी टिक्छ-कार्यकर्ताको अपनत्वले । कार्यकर्ताले यो मेरो पार्टी हो भन्न छोडेपछि पार्टीको संगठन बाँकी रहन्छ । तर राजनीतिक आत्मा कमजोर हुँदै जान्छ । गुटीय राजनीतिले कार्यकर्तालाई म कसको पक्षमा ? भन्ने प्रश्नमा पुर्याउँछ । परिपक्व राजनीतिले उसलाई हामी सबै मिलेर पार्टीलाई कहाँ पुर्याउने ? भन्ने प्रश्नमा पुर्याउँछ । नेपाली कांग्रेसले आज यही परिवर्तन गर्नुपर्नेछ । वरिष्ठ नेतृत्वको अनुभव, वर्तमान नेतृत्वको ऊर्जा र नयाँ पुस्ताको आकांक्षाबीच पुल निर्माण गर्न सकियो भने कांग्रेसको पुनर्जागरण सम्भव छ तर त्यसका लागि नेतृत्व संघर्षलाई अस्तित्वको युद्ध होइन, पुस्तान्तरणको लोकतान्त्रिक प्रक्रिया बनाउनु आवश्यक छ । कार्यकर्तालाई आदेश होइन, अपनत्व चाहिएको छ । निर्णय सुनाइदिने नेतृत्व होइन, निर्णयमा सहभागी गराउने नेतृत्व चाहिएको छ ।
असन्तुष्टिले वितृष्णा न होस्
राजनीतिप्रतिको असन्तुष्टि लोकतन्त्रको खतरा होइन । असन्तुष्ट नागरिक विकल्प खोज्छ तर असन्तुष्टि वितृष्णामा बदलियो भने नागरिकले विकल्प खोज्न पनि छोड्नसक्छ । यो सरकार असफल भयो भन्ने निष्कर्ष लोकतान्त्रिक हो तर कुनै सरकार पनि सफल हुँदैन भन्ने निष्कर्ष लोकतन्त्रप्रतिको विश्वासको संकट हो । यो नेता गलत भयो भन्ने लोकतान्त्रिक आलोचना हो तर सबै नेता उस्तै हुन् भन्ने सामूहिक निष्कर्ष राजनीतिक वितृष्णाको संकेत हो । त्यसैले कांग्रेसजस्ता ऐतिहासिक दलको भूमिका आज झन् महत्त्वपूर्ण हुन्छ । उसले जनतालाई फेरि राजनीति सम्भव छ भन्ने विश्वास दिलाउनुपर्छ । लोकतन्त्रबाट परिणाम आउनसक्छ भन्ने प्रमाण दिनुपर्छ । नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नसक्छ भन्ने उदाहरण प्रस्तुत गर्नुपर्छ ।
सुपर लिडर होइन, सुपर सिस्टम
नेपालको समस्या एउटा महान् नेता नहुँदामात्र भएको होइन । समस्या संस्थाहरू कमजोर हुँदा पनि भएको हो । व्यक्ति शक्तिशाली भयो भने व्यवस्था चल्ने र व्यक्ति कमजोर भयो भने व्यवस्था कमजोर हुने अवस्था लोकतन्त्रको दीर्घकालीन समाधान होइन । हामीलाई अब त्यस्तो प्रणाली चाहिन्छ जहाँ प्रधानमन्त्री परिवर्तन हुँदा राज्यको नीति नढलोस् । पार्टी सभापति परिवर्तन हुँदा संगठन नटुटोस् । सरकार परिवर्तन हुँदा प्रशासन नहल्लियोस् । नेतृत्व परिवर्तन हुँदा विकासका राष्ट्रिय प्राथमिकता नफेरिऊन् । यसका लागि निष्पक्ष कर्मचारी प्रशासन, व्यावसायिक प्रहरी, स्वतन्त्र न्यायपालिका, सक्षम निर्वाचन प्रणाली, पारदर्शी राजनीतिक दल, आन्तरिक लोकतन्त्र र परिणाममुखी सार्वजनिक प्रशासन आवश्यक छन् । देउवाजस्ता अनुभवी नेताको ऐतिहासिक भूमिका यही प्रणाली निर्माणमा पनि हुनसक्छ । आफूले भोगेको राजनीतिक अनुभवलाई संस्थागत सुधारमा रूपान्तरण गर्नु उहाँको राजनीतिक जीवनको अत्यन्त महत्त्वपूर्ण योगदान बन्नसक्छ ।
फेस सेभिङ होइन, फ्युचर सेभिङ
नेपालको राजनीतिले एउटा कठोर निर्णय गर्नुपर्ने समय आएको छ, हामी आफ्नो विगतको प्रतिष्ठा जोगाउन चाहन्छौं कि देशको भविष्य ? राजनीतिक जीवनमा हरेक नेताले कुनै न कुनै चरणमा यो प्रश्नको सामना गर्नुपर्छ । म सही थिएँ प्रमाणित गर्नु एउटा उपलब्धि हुनसक्छ तर मेरोपछि आउने नेतृत्व अझ राम्रो होस् भन्ने वातावरण निर्माण गर्नु अझ ठूलो उपलब्धि हो । राजनीतिक महानता सधैं जितेरमात्र प्राप्त हुँदैन । कहिलेकाहीँ आफूले जित्न सक्ने ठाउँमा पनि संस्थाको भविष्यका लागि पछि हट्नसक्नु महानता हो ।
नयाँ नेतृत्व प्रतिस्थापन होइन, निर्माण हो
देशले नयाँ नेतृत्व खोजिरहेको छ । तर नयाँ नेतृत्व पुरानालाई गाली गरेरमात्र जन्मिँदैन । नेतृत्व निर्माण गर्नुपर्छ । स्थानीय तहबाट, विद्यार्थी राजनीतिबाट, सामाजिक अभियानबाट, उद्यमशीलताबाट, नीति निर्माणबाट, संसद्बाट र जनतासँगको निरन्तर सम्बन्धबाट । नयाँ पुस्ताले केवल नाराबाजी होइन, अर्थतन्त्र बुझ्नुपर्छ । उत्पादन, रोजगारी, प्रविधि, ऊर्जा, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, अन्तर्राष्ट्रिय सम्बन्ध र भू-राजनीति बुझ्नुपर्छ । संविधान र सार्वजनिक प्रशासन बुझ्नुपर्छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई केवल पद हस्तान्तरण होइन, अनुभव हस्तान्तरण गर्नुपर्छ र नयाँ पुस्ताले पुरानो पुस्ताबाट पदमात्र होइन, राजनीतिक संस्कार सिक्नुपर्छ । यही सम्बन्धले पुस्तान्तरणलाई संघर्षबाट निरन्तरतामा बदल्न सक्छ ।
अन्तिम प्रश्न : इतिहासले देउवालाई के सम्झनेछ ?
शेरबहादुर देउवाको राजनीतिक जीवनलाई इतिहासले अनेक कोणबाट मूल्यांकन गर्नेछ । उहाँका सफलता, कमजोरी, निर्णय, विवाद र उपलब्धि सबै इतिहासका विषय बन्नेछन् तर इतिहासको एउटा अर्को प्रश्न पनि हुनेछ, दीर्घ राजनीतिक यात्राको अन्तिम चरणमा उहाँले आफ्नो अनुभवलाई कसरी प्रयोग गर्नुभयो ? यदि उहाँले फेरि पदको प्रतिस्पर्धाभन्दा माथि उठेर राष्ट्रिय अभिभावकको भूमिका निर्वाह गर्न सक्नुभयो भने त्यो उहाँको राजनीतिक जीवनको अर्को महत्त्वपूर्ण अध्याय बन्नसक्छ । कांग्रेसभित्रका विभिन्न धारलाई जोड्ने, नयाँ नेतृत्वलाई ठाउँ दिने, पार्टीलाई गुटभन्दा माथि उठाउने, लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने र संकटका बेला सबै पक्षसँग संवाद गर्ने भूमिका उहाँले निर्वाह गर्न सक्नुहुन्छ । त्यसले केवल देउवालाई सम्मानित बनाउने होइन, नेपाली कांग्रेसलाई पनि नयाँ राजनीतिक उचाइ दिनसक्छ ।
कांग्रेसले पनि बुझ्नुपर्छ, उसको भविष्य केवल अर्को निर्वाचनको परिणाममा छैन । उसको भविष्य उसको इतिहासलाई वर्तमानको जिम्मेवारीमा बदल्नसक्ने क्षमतामा छ । आज नेपाललाई अर्को गुट अर्को व्यक्ति पूजा चाहिएको छैन । नेपाललाई नयाँ राजनीतिक संस्कार चाहिएको छ । त्यस्तो संस्कार, जहाँ नेतृत्व पदबाट भूमिकामा रूपान्तरण होस्, गुटबाट संस्थामा रूपान्तरण होस्, भाषणबाट परिणाममा रूपान्तरण होस्, व्यक्ति पूजाबाट प्रणालीमा रूपान्तरण होस् र राजनीतिक प्रतिस्पर्धाबाट राष्ट्रिय जिम्मेवारीमा रूपान्तरण होस् ।
जनताले आन्दोलनबाट प्रश्न उठाइसकेका छन् । जनताले निर्वाचनबाट आफ्नो विश्वास पनि व्यक्त गरिसकेका छन् । अब राजनीतिक नेतृत्वको पालो हो । नेपाली कांग्रेसको पालो हो र शेरबहादुर देउवाजस्ता अनुभवी नेताहरूको पनि पालो हो, आफूले प्राप्त गरेको राजनीतिक जीवनको पुँजीलाई अर्को पदका लागि होइन, अर्को पुस्ता र अर्को नेपालको निर्माणका लागि प्रयोग गर्ने । ठूलो नेता त्यो होइन, जो सधैं अगाडि उभिइरहन्छ । ठूलो नेता त्यो हो, जसले आफू अगाडि हुँदा देशलाई नेतृत्व गर्छ, आफू पछाडि हुँदा देशलाई जोड्छ । नेपाललाई आज यस्तै अभिभावकत्व चाहिएको छ । इतिहासले यही प्रश्न सोध्नेछ, जनताले दिएको विश्वासलाई नेतृत्वले आफ्नो पद जोगाउन प्रयोग गर्यो कि राष्ट्रको भविष्य जोगाउन ?
(लेखक अर्याल नेपाली कांग्रेसका युवा नेता तथा जय नेपाल फाउण्डेशनका अध्यक्ष हुनुहुन्छ ।)







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी