सर्लाही । सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित मधुवनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार राति करिब ९ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बि सर ३० य यल ३१८० को मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब साढे ५ फिट तल पुलको साइफनमा खसेर ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बलरा नगरपालिका-६ का १७ वर्षीय अभिनाष बैठा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा राति करिब १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै, मोटरसाइकलको बीचमा सवार बलरा-६ कै १८ वर्षीय रोहित बैठा गम्भीर घाइते भएका थिए। प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा शनिबार बिहान करिब २ः३१ बजे बाटोमै मृत्यु भएको आशंकापछि उनलाई पुनः प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो । अस्पतालमा ईसीजी परीक्षण गर्दा चिकित्सकले मृत्यु भएको पुष्टि गरेका छन् ।
मोटरसाइकलको पछाडि सवार भारत बिहारको सीतामढी जिल्ला बथनाहा थाना रनौली-१० घर भई हाल बलरा-६ बस्दै आएका २४ वर्षीय शनि कुमार बैठा को दाहिने खुट्टा भाँचिएको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी नायब निरीक्षक इन्द्रभूषण मिश्राको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय गडहियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मृतक दुवैको शव प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको छ ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक