राजविराज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि परिवारसँग सम्पर्कविहीन भएका भन्दै सप्तरी प्रशासनमा खोजी तथा उद्धारका लागि निवेदन परेका ३६ जनामध्ये सात जना सम्पर्कमा आएका छन् । तर, चार दिन बितिसक्दा पनि बाँकी २९ जनाको अवस्था अझै खुल्न सकेको छैन ।
सम्पर्कमा आएका सातै जना सुरक्षित रहेको जानकारी परिवारले पाए पनि उनीहरू अझै उद्धारको प्रतीक्षामा रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवकाअनुसार शनिबार बिहानसम्म सात जनासँग सम्पर्क स्थापित भएको हो ।
सम्पर्कमा आउनेमध्ये बलानबिहुल गाउँपालिका-६ सेहराका एउटै परिवारका तीन जना रहेका छन् । रसुवा सदरमुकामस्थित एक विद्यालयमा शिक्षक रहेका ३४ वर्षीय सुरेशकुमार यादव, उनकी २८ वर्षीया श्रीमती सरिता यादव र आठ वर्षीया छोरी ईभिन्जलीना यादव शनिबार बिहान परिवारको सम्पर्कमा आएका हुन् ।
त्यसैगरी राजविराज नगरपालिका-२ का ३३ वर्षीय दिपक देव, कञ्चनरुप नगरपालिका-८ का २४ वर्षीय अजय मरिक, रुपनी गाउँपालिका-१ का २५ वर्षीय गिरधारीलाल कुमार साह तथा अग्निसाइर कृष्णासवरन गाउँपालिका-१ जण्डोलका २५ वर्षीय कृष्णकुमार चौधरी पनि सम्पर्कमा आएको प्रशासनले जनाएको छ ।
देव रसुवास्थित चिलिमे हाइड्रोपावरमा इन्जिनियरका रूपमा कार्यरत छन् भने मरिक रसुवामा प्रहरी कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । साह नुवाकोटको नयाँपुल क्षेत्रमा बस्दै आएका थिए भने चौधरी रसुवामै कार्यरत रहेको प्रशासनको विवरणमा उल्लेख छ ।
जलविद्युत र निर्माण क्षेत्रमा कार्यरत धेरैजना अझै बेपत्ता
सम्पर्कविहीनको सूचीमा रहेका अधिकांश व्यक्ति रसुवा र नुवाकोट क्षेत्रमा सञ्चालित जलविद्युत आयोजना, निर्माण कम्पनी, विद्यालय तथा विभिन्न प्राविधिक क्षेत्रमा कार्यरत रहेको पाइएको छ ।
महदेवा गाउँपालिका-२ का २८ वर्षीय देवकुमार ईसर रसुवा हाइड्रोपावरमा कार्यरत थिए भने खडक नगरपालिका-७ की २० वर्षीया सुनिता राम नुवाकोटको त्रिशूली बजार क्षेत्रमा काम गर्दै आएकी थिइन् ।
विष्णुपुर गाउँपालिका-१ का ३५ वर्षीय अजयकुमार यादव रसुवामा प्राविधिक शिक्षकका रूपमा कार्यरत थिए । उनी वेत्रावतीमा बस्दै आएका थिए । तिलाठी कोइलाडी गाउँपालिका-४ का ३२ वर्षीय सञ्जय साह रसुवाको पावरहाउस ‘यूटीए थ्री ए’मा कार्यरत थिए ।
तिरहुत गाउँपालिका-४ डिमनका ४४ वर्षीय रविन्द्रकुमार यादव त्रिशूली जेसी हाइड्रोपावरमा इन्जिनियरका रूपमा कार्यरत छन् । महदेवा गाउँपालिका-२ कै ३४ वर्षीय इन्द्रनारायण इसर रसुवा अपर हाइड्रोपावरमा कामदारका रूपमा कार्यरत थिए ।
राजगढ गाउँपालिका-२ बनैनियाँका २४ वर्षीय राजिवकुमार सिंह पनि सम्पर्कविहीनको सूचीमा छन् । उनी रसुवा अपर त्रिशूली आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए। सुरुङ्गा नगरपालिका-२ का २३ वर्षीय सरोज चौधरी मेलुङ हाइड्रोपावरमा कार्यरत थिए ।
कञ्चनरुप नगरपालिका-६ सितापुरका ४० वर्षीय अनिल विश्वकर्मा फेवा कन्स्ट्रक्सनमार्फत वेत्रावती क्षेत्रमा कार्यरत थिए । महदेवा गाउँपालिका-५ अकबर टोलका २८ वर्षीय सन्तोष यादव रसुवामा ओभरसियरका रूपमा कार्यरत थिए ।
शम्भुनाथ नगरपालिका-४ का २३ वर्षीय दिलिपकुमार मण्डल मेलुङ जलविद्युत आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए ।
फेवा कन्स्ट्रक्सनमार्फत रसुवा क्षेत्रमा कार्यरत शम्भुनाथ नगरपालिका-३ का ४५ वर्षीय रमेश चौधरी, ४५ वर्षीय हृदयनारायण चौधरी, २७ वर्षीय सुरेन्द्रदेव चौधरी र ३५ वर्षीय दिपेन्द्र चौधरी पनि परिवारको सम्पर्कमा नआएको भन्दै प्रशासनमा खोजीका लागि निवेदन परेको छ ।
शम्भुनाथ नगरपालिका-३ कै २४ वर्षीय प्रेमसागर चौधरी पनि रसुवामा कार्यरत थिए । वडा नम्बर-६ कठौनाका २४ वर्षीय साजन चौधरी सिनो हाइड्रोपावरमा कार्यरत थिए भने सोही स्थानका ३७ वर्षीय ओमप्रकाश चौधरी नेपाल विद्युत प्राधिकरणको अपर त्रिशूली आयोजनामा कार्यरत थिए । शम्भुनाथ-३ का २२ वर्षीय त्रिभुवनकुमार मण्डल नुवाकोटमा कार्यरत रहेको प्रशासनले जनाएको छ ।
बोदेबर्साइन नगरपालिका-८ काचनका ३५ वर्षीय शिवकुमार यादव, ३१ वर्षीय देवकुमार यादव र २५ वर्षीय सचिन यादव पनि सम्पर्कविहीनको सूचीमा छन् । उनीहरू जेसी हाइड्रोपावर, रसुवामा कार्यरत थिए ।
त्यस्तै विष्णुपुर गाउँपालिका-१ का ३८ वर्षीय सन्तोष यादव अपर त्रिशूली आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए । राजगढ गाउँपालिकाका ३२ वर्षीय विजय यादव पनि अपर त्रिशूलीमै कार्यरत रहेको प्रशासनले जनाएको छ । सप्तरीका नागरिकबाहेक बाराका एक जना र भारत, बिहारका एक जना पनि सम्पर्कविहीनको सूचीमा परेका छन् ।
बाराको सुवर्ण गाउँपालिका-३ अरैयाका २५ वर्षीय रुपेश गुप्ता (साह) नौकुण्ड गाउँपालिका-२ स्थित नवज्योति विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए ।
त्यस्तै भारतको बिहार, मधुबनी, बलुवा निवासी २८ वर्षीय सरोजकुमार गुप्ता रसुवा हाइड्रोपावरमा कामदारका रूपमा कार्यरत थिए । उनीहरूको खोजी तथा उद्धारका लागि पनि परिवारजनले सप्तरी प्रशासनमार्फत निवेदन दिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी यादवले प्रशासनमा लिखित तथा मौखिक रूपमा प्राप्त भएका सबै खोजी तथा उद्धारसम्बन्धी विवरण गृह मन्त्रालयमा पठाइसकिएको बताउनुभयो । ‘प्रशासन कार्यालयमा लिखित तथा मौखिकरूपमा आएको खोजी तथा उद्धारका नामावली हामीले गृह मन्त्रालयमा पठाइसकेका छौं,’ यादवले भन्नुभयो, ‘सम्पर्कविहीन रहेकाहरूमध्ये हालसम्म सात जना सम्पर्कमा आएर उद्धारको पर्खाइमा रहेको जानकारी पाएका छौं ।’
उहाँकाअनुसार प्रशासनमा आउने नयाँ सूचना तथा विवरण पनि तत्काल सम्बन्धित निकाय र गृह मन्त्रालयमा पठाउने गरिएको छ ।
भोटेकोशी बाढीपछि सप्तरी प्रशासनमा खोजीका लागि परेको ३६ जनाको प्रारम्भिक सूचीमध्ये सात जनासँग सम्पर्क स्थापित हुनु परिवारजनका लागि केही राहतको खबर बनेको छ । तर, बाँकी २९ जनाको अवस्था अझै अज्ञात रहँदा उनीहरूका परिवारको चिन्ता भने कायमै छ ।
परिवारजनले सम्पर्कविहीन आफ्ना सदस्यको खोजी तथा सुरक्षित उद्धारका लागि सरकार र सम्बन्धित निकायसँग निरन्तर आग्रह गरिरहेका छन् ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी