लोकगीत केवल गीत होइन, यो त गाउँको बाटो हो, चौतारीको छहारी हो, मेलापातको सम्झना हो, परदेशिएको मनको आह्वान हो । यही लोकभाकाको बाटो समातेर लमजुङको सुन्दर बजारबाट काठमाडौं हुँदै कतार, बैंकक, मस्कट, दुबई र बेलायतसम्म आफ्नो स्वर पुर्याउनुभएकी गायिका हुनुहुन्छ, सोनी कुँवर क्षेत्री । विगत १२ वर्षदेखि नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिय सोनीको सांगीतिक यात्रा ‘भञ्ज्याङको बर सानु’बाट सुरु भयो । त्यसपछि ‘माया सलल’, ‘मायालु सालैजो’लगायतका गीतले उहाँको परिचय फराकिलो बनाउँदै लगे । विगत ११ वर्षदेखि नगरकोट दोहोरी साँझमा निरन्तर गीत गाउँदै आउनुभएकी सोनीले सन् २०२६ को सुरुवाततिर बेलायतमा करिब साढे चार महिनाको सांगीतिक यात्रा गर्नुभयो । त्यसअवधिमा उहाँले ४६ वटा कार्यक्रममा प्रस्तुति दिनुभयो । सोनी कुँवरको सांगीतिक यात्रालाई हेर्दा यो केवल एउटा कलाकारको व्यावसायिक यात्रामात्र देखिँदैन । यो लमजुङको एउटा गाउँबाट सुरु भएको लोकस्वरले काठमाडौंको मञ्च हुँदै विश्वका विभिन्न भूगोलसम्म तय गरेको यात्रा हो । ११ वर्षको दोहोरी साँझको अनुभव र १२ वर्षको सांगीतिक सक्रियताले उहाँको स्वरमा अनुभव थपेको छ । लमजुङको माटोबाट जन्मिएको एउटा स्वर आज कतारको मरुभूमि, दुबईको चमक, मस्कटको आकाश, बैंककको शहर र बेलायतका विभिन्न नेपाली समुदायसम्म पुगिरहेको छ । सायद लोकगीतको शक्ति नै यही हो देश बदलिन्छ, दूरी बदलिन्छ, भूगोल बदलिन्छ, तर गीतमा मिसिएको माटोको सुगन्ध कहिल्यै बदलिँदैन । र, सोनी कुँवर त्यही सुगन्ध बोकेर निरन्तर गाइरहनुभएको छ । विदेशमा रहेका नेपालीको मनलाई नेपाली गीतमार्फत जोड्दै अघि बढिरहनुभएकी सोनी कुँवर क्षेत्रीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
सोनी कुँवरलाई गीतसंगीतमा आउनुअघि सम्झिँदा तपाईंलाई आफ्नो बाल्यकालको कुन तस्वीर सबैभन्दा पहिले याद आउँछ ?
मलाई लाग्छ, मेरो गीतको सुरुवात मञ्चबाट भएको होइन, बाल्यकालबाटै भएको हो । म लमजुङको सुन्दर बजारमा जन्मिए । बुबा टोपकबहादुर कुँवर र आमा बिनाकुमारी कुँवरका पाँच सन्तानमध्ये म एक हुँ । गाउँको वातावरण नै त्यस्तो थियो, जहाँ गीत हावामा मिसिएको हुन्थ्यो । मेलापातमा गीत, चाडपर्वमा गीत, भेटघाटमा गीत । सानैदेखि गीत सुन्न र गाउन मन पर्थ्यो । त्यतिबेला गीतलाई पेशा बनाउँछु भन्ने सोच थिएन । तर मनले भने सधैं गीतलाई आफ्नो साथी बनाइरहेको थियो । आज पछाडि फर्केर हेर्दा लाग्छ, त्यही बाल्यकालका साना–साना रुचिहरूले नै मलाई यो बाटोसम्म ल्याएका रहेछन् ।
मञ्चमा गीत गाउनु र दर्शकको मन जित्नु फरक कुरा हो । दोहोरीमा तयारीमात्र भएर हुँदैन, बुद्धि र भाव पनि चाहिन्छ । अर्को कलाकारले के भन्नुहुन्छ, त्यसलाई बुझेर त्यही क्षणमा जवाफ दिनुपर्छ । कहिलेकाहीँ गीतभन्दा भावना ठूलो हुन्छ । कहिलेकाहीँ एउटा शब्दले नै पूरै माहोल बदलिदिन्छ । मलाई दोहोरीको यही जीवन्तता मन पर्छ । यो लेखेर गाइने गीतभन्दा फरक हुन्छ, यहाँ हरेक क्षण नयाँ कथा जन्मिन्छ ।
गाउँबाट काठमाडौंसम्मको यात्रा कत्तिको सजिलो थियो ?
म काठमाडौंमा अध्ययन गर्न आएकी थिए । पक्कै सजिलो थिएन । तर, सपना बोकेको मान्छेलाई बाटो जति कठिन भए पनि हिँडिरहन मन लाग्दोरहेछ । लमजुङको सुन्दरबजार मेरो जन्मथलो हो । त्यहाँको माटो, त्यहाँको परिवेश र त्यहाँ सुनेका लोकभाकाहरू मेरो मनमा गहिरोसँग बसेका छन् । काठमाडौं आएपछि भने गीतलाई अझ गम्भीर रूपमा लिन थालेँ । शहरमा अवसर छ, प्रतिस्पर्धा पनि छ । आफ्नो स्वरलाई चिनाउन निरन्तर मिहिनेत गर्नुपर्छ । त्यसैले मैले निरन्तर अभ्यास र प्रस्तुति दिँदै अगाडि बढेँ ।
तपाईंको सांगीतिक यात्राको पहिलो पाइला ‘भञ्ज्याङको बर सानु’बाट सुरु भयो । त्यो गीत तपाईंका लागि के हो ?
‘भञ्ज्याङको बर सानु’ मेरो सांगीतिक यात्राको पहिलो परिचय हो । त्यो गीतमार्फत मैले आफूलाई श्रोतामाझ प्रस्तुत गर्ने अवसर पाएँ । पहिलो पाइला भएकाले त्यससँग जोडिएको भावनात्मक सम्बन्ध आज पनि उत्तिकै छ । कुनै पनि कलाकारका लागि पहिलो सिर्जना आफ्नो परिचयको पहिलो अक्षर हो । मेरो त्यो पहिलो अक्षर ‘भञ्ज्याङको बर सानु’ हो ।
त्यसपछि ‘माया सलल’ आयो । खेम सेञ्चुरीसँगको सहकार्य पनि रह्यो । त्यो समय सम्झिँदा ?
‘माया सलल’ मेरो सांगीतिक यात्राको महत्त्वपूर्ण गीत हो । यसमा खेम सेञ्चुरी र मेरो स्वर छ । गीत भनेको एक्लैको यात्रा होइन । कहिलेकाहीँ अर्को स्वरले आफ्नो स्वरलाई अझ सुन्दर बनाइदिन्छ । ‘माया सलल’मा पनि त्यस्तै अनुभूति भयो । श्रोताले गीतलाई माया गरिदिनुभयो । त्यसले मलाई अझ धेरै मिहिनेछ गर्नुपर्छ भन्ने हौसला दियो ।
‘मायालु सालैजो’ पनि तपाईंको परिचयसँग जोडिएको छ । सालैजो तपाईंका लागि किन विशेष छ ?
सालैजोमा माटोको गन्ध हुन्छ । पहाडको हावा हुन्छ । आफ्नोपन हुन्छ । म लमजुङमा जन्मिएको मान्छे । त्यसैले सालैजोको लयसँग मेरो भावनात्मक सम्बन्ध स्वाभाविक रूपमा गहिरो छ । लोकभाकामा गाउँको कथा हुन्छ, जनजीवनको अनुभूति हुन्छ । त्यसलाई गाउन पाउँदा मलाई आफ्नै बाल्यकालसँग संवाद गरेजस्तो लाग्छ ।
विगत ११ वर्षदेखि नगरकोट दोहोरी साँझमा गाउँदै आउनुभएको छ । एउटै ठाउँमा यति लामो समय टिकिरहनुको रहस्य के हो ?
मञ्चमा गीत गाउनु र दर्शकको मन जित्नु फरक कुरा हो । नगरकोट दोहोरी साँझले मलाई धेरै कुरा सिकाएको छ । त्यहाँ आउने श्रोताका रुचि फरक हुन्छन् । कसैले लोकगीत खोज्नुहुन्छ, कसैले दोहोरी । कसैले पुरानो भाका सम्झनुहुन्छ, कसैले नयाँ गीत सुन्न चाहनुहुन्छ । ११ वर्ष भनेको सानो समय होइन । यसबीच धेरै उतारचढाव आए । तर, गीतप्रतिको प्रेमले मलाई टिकाइरह्यो ।
दोहोरीमा त तत्कालै जवाफ दिनुपर्ने हुन्छ । तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण पक्ष के लाग्छ ?
दोहोरीमा तयारी मात्र भएर हुँदैन, बुद्धि र भाव पनि चाहिन्छ । अर्को कलाकारले के भन्नुहुन्छ, त्यसलाई बुझेर त्यही क्षणमा जवाफ दिनुपर्छ । कहिलेकाहीँ गीतभन्दा भावना ठूलो हुन्छ । कहिलेकाहीँ एउटा शब्दले नै पूरै माहोल बदलिदिन्छ । मलाई दोहोरीको यही जीवन्तता मन पर्छ । यो लेखेर गाइने गीतभन्दा फरक हुन्छ, यहाँ हरेक क्षण नयाँ कथा जन्मिन्छ ।
नेपालमा मात्र होइन, तपाईं कतार, बैंकक, मस्कट र दुबईसम्म पुगेर नेपाली गीत गाउनुभएको छ । विदेशमा नेपाली गीत गाउँदा कस्तो अनुभूति हुन्छ ?
विदेशमा नेपाली गीत गाउँदा गीतको अर्थ झन् गहिरो हुन्छ । नेपालबाट टाढा बसेका नेपालीहरूलाई नेपाली गीत सुन्दा आफ्नो गाउँ सम्झना आउँछ । आमाबुबा सम्झना आउन सक्छन् । चाडपर्व सम्झना आउनसक्छ । आफू हुर्किएको बाटो, चौतारी, गाउँको आकाश सम्झना आउनसक्छ । त्यसैले विदेशमा गीत गाउँदा म केवल गीत गाइरहेकी हुँ जस्तो लाग्दैन । म एउटा नेपालीको सम्झना अर्को नेपालीसम्म पुर्याइरहेकी हुन्छु जस्तो लाग्छ ।
सन् २०२६ को सुरुवाततिर बेलायतको करिब साढे चार महिनाको सांगीतिक यात्रा गर्नुभयो । त्यो यात्रा कस्तो रह्यो ?
त्यो मेरो सांगीतिक यात्राको विशेष अध्याय हो । दुर्लम समाजमार्फत बेलायत जाने अवसर पाएँ । करिब साढे चार महिनाको त्यो बसाइमा ४६ वटा कार्यक्रममा प्रस्तुति दिए । ४६ कार्यक्रम भन्नु केवल संख्या होइन । ४६ वटा मञ्च, ४६ वटा भेटघाट, ४६ वटा नयाँ अनुभव र सयौं नेपाली दर्शकको माया हो । कहिलेकाहीँ थकाइ हुन्थ्यो । तर कार्यक्रमस्थल पुगेर नेपाली दाजुभाइ–दिदीबहिनीको अनुहार देखेपछि सबै थकान हराउँथ्यो ।
बेलायतमा नेपाली समुदायको प्रतिक्रिया कस्तो पाउनुभयो ?
अत्यन्तै आत्मीय । परदेशमा बसे पनि नेपाली मन नेपालमै हुन्छ भन्ने कुरा मैले त्यहाँ अझ नजिकबाट अनुभव गरेँ । कार्यक्रमपछि धेरैले गीतको प्रशंसा गर्नुभयो । कतिपयले आफ्नै गाउँको भाका सम्झनुभयो । कतिपयले ‘नेपाल सम्झाइदिनुभयो’ भन्नुभयो । कलाकारका लागि योभन्दा ठूलो पुरस्कार अरू के हुनसक्छ र ?
बेलायत बसाइका क्रममा सम्मान पनि पाउनुभयो । सम्मान पाउँदा मनमा के आयो ?
सम्मान पाउँदा खुशी त लाग्छ नै, तर त्यससँगै जिम्मेवारी पनि थपिन्छ । सुन्दरबजार सेरोफेरो लमजुङ समाज यूकेलगायतका नेपाली समाज तथा स्थानीय संस्थाहरूले सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गर्नुभयो । मलाई लाग्छ, त्यो सम्मान मेरोमात्र होइन, मैले बोकेको नेपाली लोकगीतको पनि सम्मान हो । कलाकारले पाएको सम्मानले उसलाई अझ राम्रो गर्न प्रेरित गर्छ । त्यसैले ती सम्मानहरूलाई मैले आगामी यात्राको ऊर्जा मानेकी छु ।
तपाईंले संसारका विभिन्न ठाउँमा नेपाली गीत गाउनुभएको छ । तीमध्ये सबैभन्दा अविस्मरणीय क्षण कुन हो ?
एउटामात्र क्षण छान्न गाह्रो हुन्छ । कतार, बैंकक, मस्कट, दुबईदेखि बेलायतसम्म हरेक ठाउँको आफ्नै कथा छ । तर, जहाँ गए पनि एउटा कुरा समान पाए नेपाली गीतप्रतिको माया । मञ्चमा गीत सुरु भएपछि दर्शकले साथ दिनुहुन्छ । कोही नाच्नुहुन्छ, कोही गाउनुहुन्छ, कोही मोबाइलमा भिडियो बनाउनुहुन्छ । त्यो क्षणमा कलाकार र दर्शकबीच कुनै दूरी रहँदैन । त्यही नै मेरो सबैभन्दा ठूलो सम्झना हो ।
१२ वर्षको यात्रामा तपाईंले आफैंमा के परिवर्तन पाउनुभएको छ ?
पहिले गीत गाउँदा डर बढी हुन्थ्यो । अहिले जिम्मेवारी बढी महसुस हुन्छ । पहिले ‘म राम्रो गाउन सकूँ’ भन्ने सोच हुन्थ्यो । अहिले ‘श्रोताले मेरो गीतबाट केही अनुभूति पाऊन्’ भन्ने सोच हुन्छ । कलाकारको यात्रा भनेको स्वरको यात्रामात्र होइन, सोचको यात्रा पनि रहेछ ।
अब तपाईंको नयाँ योजना के छ ?
अहिले नयाँ गीतको तयारीमा छु । केही नयाँ सिर्जना श्रोतामाझ ल्याउने सोचमा छु । पहिलेका गीतले दिएको माया र हौसलालाई साथमा लिएर अझ राम्रो काम गर्ने इच्छा छ ।
अन्त्यमा ?
मलाई आज यहाँसम्म ल्याउने सबैभन्दा ठूलो शक्ति मेरा श्रोता नै हुनुहुन्छ । लमजुङको सुन्दर बजारबाट सुरु भएको मेरो स्वर आज विभिन्न देशमा रहेका नेपालीसम्म पुगेको छ । यो मेरोमात्र उपलब्धि होइन, मलाई माया गर्ने सबैको उपलब्धि हो । म सधैं नेपाली लोकगीत र दोहोरीको माटोलाई सम्मान गर्दै अगाडि बढ्न चाहन्छु । गीत गाइरहँदा आफ्नो गाउँ सम्झन्छु, आफ्नो देश सम्झन्छु र मेरा श्रोतालाई सम्झन्छु । मेरो स्वर जहाँ पुगे पनि त्यसमा नेपाल बोलिरहोस् यही मेरो चाहना हो । यतिबेला देश विसम परिस्थितिमा छ । पीडमा छ । यस क्षणमा देश तथा विदेशमा रहेका नेपालीको सक्दो सहयोग आवश्यक छ देशलाई । जहाँ जुन ठाउँबाट हुनुहुन्छ आफूले सक्दो सहयोग पुर्याउनुहोस् भन्न चाहन्छु ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक