नेपाली कांग्रेस आज आफ्नो इतिहासकै अत्यन्त कठिन, जटिल र निर्णायक मोडमा उभिएको छ । यो कठिनाइ केवल नेतृत्वको प्रतिस्पर्धा, पदको बाँडफाँट वा महाधिवेशनको मितिसम्बन्धी विवादमात्र होइन ? यसको जरा पार्टीको वैचारिक अस्पष्टता, संगठनात्मक अविश्वास, आन्तरिक लोकतन्त्रको कमजोर अभ्यास र भविष्यको राजनीतिक दिशामाथिको मतभेदसँग जोडिएको छ । कांग्रेसभित्र अहिले तीन प्रमुख प्रवृत्ति देखिन्छन् । संस्थापन पक्ष, इतर पक्ष र आफूलाई मध्यमार्गी वा समन्वयकारी धारका रूपमा प्रस्तुत गर्ने समूह तर विडम्बना के छ भने यी तीन धारबीच गम्भीर वैचारिक बहस हुनसकेको छैन । प्रत्येक पक्षसँग आफ्नै तर्क, आफ्नै प्राथमिकता र आफ्नै राजनीतिक दृष्टिकोण छ, तर एकले अर्कोको विचार सुन्ने, त्यसको आलोचनात्मक समीक्षा गर्ने र साझा निष्कर्ष निर्माण गर्ने राजनीतिक संस्कार कमजोर बन्दै गएको छ ।
संगठनात्मक एकता दुई तरिकाले बन्नसक्छ । पहिलो, शक्ति र पदको बाँडफाँटबाट । दोस्रो, साझा विचार र राजनीतिक उद्देश्यबाट । पहिलो प्रकारको एकता अस्थायी हुन्छ, दोस्रो प्रकारको एकता दीर्घकालीन हुन्छ । कांग्रेसभित्र अहिले पहिलो प्रकारको एकतालाई प्राथमिकता दिने प्रवृत्ति बढी देखिन्छ ।
यही कारण आजको प्रश्न केवल ‘महाधिवेशन गर्ने कि नगर्ने ?’ भन्ने होइन । मूल प्रश्न हो नेपाली कांग्रेस केका लागि उभिएको पार्टी हो ? यसको वैचारिक आधार के हो ? बीपी कोइरालाको राष्ट्रियता, लोकतन्त्र र समाजवादको त्रिकोणलाई आजको सन्दर्भमा कसरी पुनर्परिभाषित गर्ने ? र वैचारिक बहसविना संगठनात्मक एकता सम्भव छ कि छैन ? कांग्रेसको वर्तमान संकटलाई बुझ्नका लागि गुटीय मतभेद, महाधिवेशनको विवाद र वैचारिक आधारलाई अलग–अलग होइन, परस्पर सम्बन्धित रूपमा हेर्नुपर्छ । किनकि विचारको स्पष्टता बिना संगठनात्मक एकता टिकाउ हुँदैन र संगठनात्मक प्रक्रियामाथि विश्वास नभए वैचारिक बहस पनि केवल भाषणमा सीमित हुन्छ ।
वास्तवमा नेपाली कांग्रेसको संकट गुटको होइन, विचारको संकट हो । राजनीतिक दलभित्र गुट हुनु अस्वाभाविक कुरा होइन । ठूलो र लोकतान्त्रिक दलमा नेतृत्वका फरक समूह, रणनीतिक मतभेद र वैचारिक प्राथमिकताका विभिन्न धारहरू हुनु स्वाभाविक हो । वास्तवमा विचारको विविधता पार्टीको शक्ति पनि बन्नसक्छ तर त्यो विविधता स्वस्थ बहसमा रूपान्तरण हुन नसकेर व्यक्तिगत अविश्वास, शक्ति संघर्ष र परस्पर निषेधमा बदलियो भने त्यसले पार्टीलाई कमजोर बनाउँछ ।
नेपाली कांग्रेसको अहिलेको समस्या यहीँ छ । तीन गुटका तीन विचार देखिन्छन् तर ती विचारबीच संवाद छैन । एक पक्षले आफ्नो धारलाई पार्टीको मूलधार मान्छ, अर्कोले आफूलाई वास्तविक वैचारिक उत्तराधिकारी ठान्छ र तेस्रोले विवाद समाधान नगरी कुनै पनि प्रक्रियामा अगाडि बढ्नु घातक हुने चेतावनी दिन्छ तर सबै पक्ष एकै ठाउँमा बसेर यी प्रश्नमा खुला, संस्थागत र निर्णायक बहस गर्न तयार देखिँदैनन् । यसले एउटा गम्भीर प्रश्न उठाएको छ जब विचार सुन्ने संस्कार नै छैन भने संगठनात्मक एकताको आधार कसरी निर्माण हुन्छ ?
संगठनात्मक एकता दुई तरिकाले बन्नसक्छ । पहिलो, शक्ति र पदको बाँडफाँटबाट । दोस्रो, साझा विचार र राजनीतिक उद्देश्यबाट । पहिलो प्रकारको एकता अस्थायी हुन्छ, दोस्रो प्रकारको एकता दीर्घकालीन हुन्छ । कांग्रेसभित्र अहिले पहिलो प्रकारको एकतालाई प्राथमिकता दिने प्रवृत्ति बढी देखिन्छ । नेतृत्वको व्यवस्थापन, पदाधिकारीको समायोजन र निर्वाचनमा भागबण्डा जस्ता विषयलाई समाधानको रूपमा प्रस्तुत गरिन्छ तर विचार, नीति र राजनीतिक दिशामा सहमति नबनाई गरिएको यस्तो एकता अर्को विवाद नआएसम्म मात्र टिक्नसक्छ । आज कांग्रेसलाई सबैभन्दा बढी आवश्यक कुरा ‘कसले नेतृत्व गर्ने ?’ भन्दा पहिले ‘कस्तो कांग्रेस बनाउने ?’ भन्ने प्रश्नको उत्तर हो ।
संस्थापन पक्षको दृष्टिकोण प्रक्रियाबाट निकास खोज्ने प्रयास हुनुपर्छ तर संस्थापन पक्षको प्रमुख तर्क छ भाद्रदेखि सुरु हुने अधिवेशनमा सबैले सहभागी भएर असोजमा महाधिवेशन सम्पन्न गर्नुपर्छ । यस दृष्टिकोणको मूलआधार संगठनलाई प्रक्रियाबाट निकास दिनु हो । पार्टीभित्र जति विवाद भए पनि अन्ततः वैधानिक र संगठनात्मक प्रक्रियाबाटै नेतृत्व चयन गर्नुपर्ने संस्थापनको धारणा देखिन्छ । यस तर्कको आफ्नै राजनीतिक औचित्य छ । लामो समयसम्म पार्टीभित्र विवाद कायम रहँदा संगठन निष्क्रिय बन्नसक्छ । अधिवेशन र महाधिवेशन लोकतान्त्रिक पार्टीका नियमित जीवनचक्र हुन् । प्रक्रिया रोकिरहँदा अन्योल बढ्छ, नेतृत्वको वैधतामाथि प्रश्न उठ्छ र कार्यकर्तामा निराशा बढ्छ ।
त्यसैले ‘अधिवेशनमा जाऔं, प्रतिनिधि छानौं, महाधिवेशन गरौं र जनमतबाट नेतृत्व चयन गरौं’ भन्ने तर्कलाई पूर्णरूपमा अस्वीकार गर्न सकिँदैन तर यहाँ एउटा समस्या छ । प्रक्रिया स्वयं निष्पक्ष र सबैलाई स्वीकार्य छ कि छैन ? यही प्रश्न इतर पक्षले उठाएको छ । यदि अधिवेशनको प्रारम्भिक प्रक्रिया, क्रियाशील सदस्यता, प्रतिनिधि छनोट वा निर्णयको वैधानिकतामाथि नै विवाद छ भने केवल ‘महाधिवेशनमा जाऔं’ भन्नुले विवाद समाधान गर्दैन । उल्टै, विवादित आधारमा भएको महाधिवेशनले नयाँ नेतृत्व त चयन गर्नसक्छ तर पार्टीको आन्तरिक विभाजनलाई झन् गहिरो बनाउनसक्छ ।
संस्थापन पक्षको वैचारिक पक्ष पनि ध्यान दिनुपर्ने विषय हो । उसले राष्ट्रियता र सामाजिक लोकतन्त्रलाई पार्टीको मुख्य राजनीतिक आधारका रूपमा जोड दिएको देखिन्छ । धर्मका विषयमा संविधानको भावना अनुरूप धार्मिक स्वतन्त्रतालाई प्राथमिकता दिने दृष्टिकोण राख्छ । यस दृष्टिकोणलाई आधुनिक लोकतान्त्रिक राज्यको अवधारणासँग जोड्न सकिन्छ । सामाजिक लोकतन्त्रले राजनीतिक लोकतन्त्रलाई सामाजिक न्याय, अवसरको समानता, राज्यको उत्तरदायित्व र कमजोर वर्गको संरक्षणसँग जोड्छ । धार्मिक स्वतन्त्रताले राज्यलाई कुनै एक धर्मको पक्षपोषक होइन, सबै नागरिकको आस्थाको समान संरक्षकका रूपमा स्थापित गर्न खोज्छ ।
तर, संस्थापन पक्षले एउटा गम्भीर वैचारिक प्रश्नको स्पष्ट जवाफ दिनुपर्छ सामाजिक लोकतन्त्र र बीपीको लोकतान्त्रिक समाजवादबीचको सम्बन्ध के हो ? के कांग्रेसले बीपीवादको मूल समाजवादी आधारलाई परिमार्जन गरेर सामाजिक लोकतन्त्रको नयाँ भाषामा व्यक्त गर्न खोजेको हो ? कि यस विचारको प्रतिस्थापन हो ? यदि प्रतिस्थापन हो भने त्यसको कारण के हो ? यदि निरन्तरता हो भने दुवैबीचको वैचारिक सम्बन्ध कसरी व्याख्या गर्ने ? यी प्रश्नको स्पष्ट उत्तरबिना ‘सामाजिक लोकतन्त्र’ केवल नयाँ राजनीतिक शब्दावली बन्नसक्छ ।
इतर पक्षको दृष्टिकोण : वैधानिकता, राजनीतिक समाधान र वैचारिक पुनःस्थापनाको प्रश्न पनि हो । इतर पक्षको तर्क फरक छ । उसको भनाइ छ कि कानुनी वा राजनीतिक रूपमा विवादको समाधान नभई महाधिवेशन गर्दा समस्या समाप्त हुँदैन । त्यसैले पहिले विवादको मूल कारण समाधान गर्नुपर्छ, त्यसपछि मात्र महाधिवेशन गर्नुपर्छ । यस दृष्टिकोणको केन्द्रमा वैधानिकता र राजनीतिक सहमति छ । लोकतान्त्रिक प्रक्रियामा बहुमत महत्त्वपूर्ण हुन्छ तर बहुमतले सबै समस्या समाधान गर्छ भन्ने होइन । खासगरी पार्टीभित्र प्रक्रिया नै विवादित भएको अवस्थामा, बहुमतको निर्णयले अल्पमतलाई राजनीतिक रूपमा पराजित गर्नसक्छ तर संस्थागत रूपमा समेट्न सक्दैन ।
इतर पक्षले महाधिवेशन रोक्ने कुरा गरिरहँदा त्यसको अर्थ लोकतान्त्रिक प्रक्रियाको विरोध हो कि प्रक्रियाको आधारमाथि प्रश्न हो भन्ने स्पष्ट पार्नु आवश्यक छ । यदि ‘महाधिवेशन नै नहोस्’ भन्ने स्थायी धारणा हो भने त्यो लोकतान्त्रिक पार्टीको चरित्रसँग मेल खाँदैन तर यदि ‘पहिले विवाद समाधान गरेरमात्र महाधिवेशन गरौं’ भन्ने कुरा हो भने त्यसलाई गम्भीरतापूर्वक सुन्नुपर्छ । इतर पक्षको वैचारिक आधार बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद अर्थात् लोकतान्त्रिक समाजवादसँग निकट देखिन्छ । यस पक्षले कांग्रेसको वैचारिक पहिचानलाई बीपीवादसँग जोडेर हेर्न चाहन्छ ।
धर्मका विषयमा यस धारले नेपालको सनातन धार्मिक-सांस्कृतिक परम्परालाई विशेष प्राथमिकताका साथ हेर्ने प्रस्ताव राख्छ हिन्दु, बौद्ध, किरात तथा प्रकृतिपूजक परम्परालाई नेपाली समाजको ऐतिहासिक र सांस्कृतिक आधार मान्दै धार्मिक स्वतन्त्रताको पक्षमा रहने दृष्टिकोण । यस दृष्टिकोणको बलियो पक्ष के हो भने यसले धार्मिक स्वतन्त्रता र सांस्कृतिक पहिचानलाई परस्परविरोधी ठान्दैन । नेपालजस्तो बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक समाजमा राष्ट्रियताको निर्माण केवल कानुनी नागरिकताबाट मात्र हुँदैन, साझा इतिहास, संस्कृति र सभ्यताको अनुभूति पनि त्यसमा जोडिन्छ तर, यहाँ पनि एउटा चुनौती छ ।
मध्यमार्गी धार संगठनात्मक विभाजनलाई वास्तविक चेतावनी हो । मध्यमार्गी वा समन्वयकारी धारले अहिलेको विवादलाई सबैभन्दा व्यावहारिक कोणबाट हेरेको देखिन्छ । यसको मूल भनाइ छ विवादको जड सफानगरी महाधिवेशन गरियो भने अहिले केन्द्रमा सीमित रहेको विभाजन हरेक वडा, गाउँ, नगरपालिका र जिल्लासम्म पुग्छ । यो चेतावनी अत्यन्त गम्भीर छ ।
‘सनातन परम्परालाई प्राथमिकता’ भन्नुको राजनीतिक र संवैधानिक अर्थ के हो ? के यसले राज्यको तटस्थता कमजोर बनाउँछ ? कि राज्यलाई धर्म निरपेक्ष नै राख्दै नेपालको ऐतिहासिक सांस्कृतिक विरासतको संरक्षण गर्न खोज्छ ? यदि दोस्रो हो भने त्यसलाई स्पष्ट भाषामा प्रस्तुत गर्नुपर्छ । धार्मिक स्वतन्त्रताको अर्थ सबै धर्मप्रति समान कानुनी व्यवहार हो । सांस्कृतिक प्राथमिकताको अर्थ ऐतिहासिक परम्पराको संरक्षण हुनसक्छ । यी दुईबीचको सन्तुलन कायम गर्न नसकिए धार्मिक बहस राजनीतिक ध्रुवीकरणमा बदलिनसक्छ ।
मध्यमार्गी धार संगठनात्मक विभाजनलाई वास्तविक चेतावनी हो । मध्यमार्गी वा समन्वयकारी धारले अहिलेको विवादलाई सबैभन्दा व्यावहारिक कोणबाट हेरेको देखिन्छ । यसको मूल भनाइ छ विवादको जड सफानगरी महाधिवेशन गरियो भने अहिले केन्द्रमा सीमित रहेको विभाजन हरेक वडा, गाउँ, नगरपालिका र जिल्लासम्म पुग्छ । यो चेतावनी अत्यन्त गम्भीर छ । केन्द्रमा रहेका नेताहरूबीचको विवाद कार्यकर्ताको तहमा पुगिसकेपछि त्यसलाई नियन्त्रण गर्न कठिन हुन्छ । महाधिवेशन प्रतिस्पर्धाको प्रक्रिया हो । प्रतिस्पर्धा स्वाभाविक रूपमा ध्रुवीकरण पनि हो । यदि प्रतिस्पर्धा साझा नियम र वैचारिक मर्यादाभित्र हुन्छ भने त्यसले नेतृत्व चयन गर्छ तर यदि प्रतिस्पर्धा अविश्वास र वैधानिक विवादको जगमा हुन्छ भने त्यसले संगठन चिरा-चिरा पार्न सक्छ ।
आज केन्द्रमा रहेका तीन धारबीचको अविश्वास अधिवेशनमा प्रतिनिधि छनोट, वडा नेतृत्व र स्थानीय गुट निर्माणका रूपमा फैलिन सक्छ । त्यसपछि पार्टीभित्र एउटै झण्डा भए पनि व्यवहारमा तीन फरक संगठन निर्माण हुने खतरा हुन्छ । त्यसैले मध्यमार्गी धारको मूल प्रश्न प्रक्रियाको विरोध होइन, प्रक्रियाको पूर्वशर्त हो । महाधिवेशनभन्दा पहिले निम्न प्रश्न समाधान हुनुपर्छ ।
१.विवादित विषय के-के हन् ? २. तिनको कानुनी र राजनीतिक समाधान कसरी गर्ने ? ३.सबै पक्षले स्वीकार्ने निष्पक्ष संगठनात्मक संयन्त्र के हो ? ४. अधिवेशनको प्रक्रिया सबैका लागि समान र विश्वसनीय छ कि छैन ? महाधिवेशनपछि हार्ने र जित्ने दुवै पक्ष पार्टीमै रहने सुनिश्चितता कसरी गर्ने ?
मध्यमार्गी धारले यदि केवल ‘बीचको बाटो’ मात्र खोज्यो भने त्यो पर्याप्त हुँदैन । उसले वैचारिक रूपमापनि स्पष्ट हुनुपर्छ । मध्यमार्ग भनेको विचारविहीन सम्झौता होइन, फरक विचारबीच साझा लोकतान्त्रिक आधार निर्माण गर्ने क्षमता हो ।
(चालिसे स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)






क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम