विदुर । भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि रसुवा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ। बाहुनबेसी–छाप–लच्याङ–सरम्थली–पार्टीखर्क–फलाको खोलापुल–घिचेट हुँदै धुन्चेसम्म पुग्ने उक्त सडक अहिले यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधनका लागि प्रयोग भइरहेको छ ।
तर, वैकल्पिक सडक साँघुरो र अत्यधिक चिप्लो भएकाले यात्रु तथा चालकले सास्ती व्यहोर्नुपरेको छ। सडकमा एक पटकमा एउटा मात्र सवारीसाधन सहज रूपमा गुड्न सक्ने अवस्था रहेकाले दुईतर्फबाट सवारीसाधन आएमा जाम हुने गरेको छ ।
विशेषगरी उकालोमा पिकअप लिन नसक्ने सवारीसाधन तथा राहत सामग्री बोकेका ठूला ट्रक बढी समस्यामा पर्ने गरेका छन्। कुनै एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका अन्य सवारीसाधनसमेत घण्टौँसम्म रोकिनुपर्ने अवस्था छ ।
राहत सामग्री लिएर रसुवातर्फ गएका केही ट्रकसमेत उकालो चढ्न नसकेर बाटोमै फसेका छन्। सोमबार बिहान ११ बजे विदुरबाट हिँडेको एउटा सवारीसाधन राति १ बजे मात्र धुन्चे पुगेको थियो। यात्राका क्रममा उक्त सवारीसाधनले करिब पाँच–छवटा सवारीसाधन उकालो चढ्न नसकेर बाटोमै रोकिएको अवस्था देखेको चालकले बताएका छन् ।
मुख्य सडक तत्काल सञ्चालनमा आउन नसक्ने अवस्था रहे वैकल्पिक सडकलाई व्यवस्थित र सुरक्षित बनाउन तत्काल सडक सुधार, ग्राभेल तथा सवारी व्यवस्थापनको काम गर्नुपर्ने देखिएको छ ।
विशेषगरी राहत सामग्री बोकेका सवारीसाधनलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने, साँघुरा स्थानमा सवारी पास हुने व्यवस्था मिलाउने तथा जोखिमयुक्त उकालोमा सडक सुधार गर्न सके यात्रु तथा राहत सामग्री ढुवानीमा सहजता आउने देखिन्छ।
भोटेकोसी बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि रसुवाको जनजीवन तथा राहत वितरण प्रभावित भइरहेका बेला वैकल्पिक सडक नै अहिले जिल्लासँग जोडिने महत्वपूर्ण मार्ग बनेको छ। त्यसैले उक्त सडकलाई तत्काल व्यवस्थित गर्न आवश्यक देखिएको छ ।

















आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य