इलाम । लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला-राजदुवाली सडकखण्ड सोमबार बिहान देखि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा हलुका सवारीसाधन सञ्चालनमा ल्याएको हो । लगातारको वर्षाका कारण सडक भासिएपछि गत असार २५ गतेदेखि माइखोला-राजदुवाली सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
असार २९ गतेसम्म आइपुग्दा सडक थप भासिएपछि मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधन सञ्चालनमा समेत पूर्ण रोक लगाइएको थियो । सडक बन्द भएपछि इलामसहित पाँचथर र ताप्लेजुङको झापा तथा तराई क्षेत्रसँगको नियमित यातायात सम्पर्क प्रभावित हुँदै आएको थियो । मुख्य राजमार्ग लामो समय अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीको आवतजावत, यात्रु तथा व्यवसायीसमेत प्रभावित भएका थिए ।
करिब ५१ दिनदेखि बन्द रहेको सडक खुलाउन सडक डिभिजन कार्यालय इलामको टोली सफल भएको हो । सडक डिभिजन कार्यालयका प्रमुखसहितको प्राविधिक टोलीले सडक मर्मत तथा सवारी सञ्चालनयोग्य बनाउने काम गरिरहेको जनाइएको छ । हाललाई सडकको अवस्था र जोखिमलाई ध्यानमा राख्दै साना तथा हलुका सवारीसाधन मात्र सञ्चालनमा ल्याईएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो ।
माइखोला-राजदुवाली सडकखण्ड वर्षायाममा पटक-पटक भासिने समस्याबाट प्रभावित हुँदै आएको छ । यसपटक पनि लगातारको वर्षा र सडक भासिएपछि लामो समयसम्म राजमार्ग अवरुद्ध भएको हो । लामो समयदेखि सडक अवरोधका कारण सास्ती खेपिरहेका इलामसहित पाचथर र ताप्लेजुङका यात्रु तथा स्थानीयवासीलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।







मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत